१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सहयोगापेक्षी, सडकआश्रित मानवको उद्दार गर्दै प्रदेश सरकार

प्रदेश १ सरकारले सडकमा आश्रित मानवलाई उद्धार गर्न थालेको छ । सामाजिक विकास मन्त्रालयको नेतृत्वमा प्रदेश सरकारको योजनाअन्तर्गत उद्धार गर्न थालको हो ।  

विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिलाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायतले विराटनगरको मुनालपथ क्षेत्रबाट उद्धार गरिएको हो ।  

विराटनगरको महेन्द्र चोकदेखि एयरपोर्ट मोडसम्म हिँडिरहने करिब ५१ वर्षीय पुरुषलाई उद्धार गरिएको हो ।  उद्धार गरिएका व्यक्ति करिब १० वर्षदेखि सडक आश्रित छन् । उनको सडकबाट उद्धार गर्दै सामाजिक विकास मन्त्री घिमिरेले सहयोगापेक्षी, सडकआश्रित मानवहरूको उद्धार गरी सडक मानवमुक्त बनाउने प्रदेश १ सरकारको अभियान रहेको बताए । उनले भने, ‘सडकमा सहयोगापेक्षी, सडकआश्रित मानवहरू देखिने छैनन् ।’ पहिलेको तुलनामा बेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावकविहीन सडक आश्रित मानवहरू सडकमा कम हुँदै गएको मन्त्री घिमिरेले बताए ।

सडकबाट उद्धार गरिएकाहरूको औषधोपचार, पालनपोषण, पारिवारिक पुनर्मिलनको काम मानव सेवा आश्रमले गर्दै आएको छ । मानव सेवा आश्रम प्रदेश १ ले सडक आश्रित ५० जना व्यक्तिको उद्धार गरिसकेको जनाएको छ ।  

मन्त्रालयले स्थानीय तहहरूसँगको सहकार्यमा सडकबाट उद्धार गरी मानव सेवा आश्रममा ल्याइने गरिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।  

सहयोगापेक्षी, सडकआश्रित मानवहरूका लागि प्रदेश १ सरकारले मानव सेवाग्राम निर्माणको पनि तयारी सुरू गरेको छ ।  मोरङको ग्रामथान–७ मा १० विघा १४ कठ्ठा क्षेत्रफलमा मानव सेवाग्राम निर्माणका लागि प्रदेश सरकारले तयारी सुरू गरेको छ ।

प्रकाशित: २९ असार २०७७ १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App