जित्नैपर्ने खेलमा नेपाल पराजित भएसँगै साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेश र भारत भिड्ने भएका छन्।
पोखरा रंगशालामा बुधबार भएको लिगको अन्तिम तथा तेस्रो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएसँगै नेपालको फाइनल खेल्न लक्ष्य पूरा हुन सकेन। यससँगै चार राष्ट्र सहभागी च्याम्पियनसिपको लिगमा नेपाल तेस्रो स्थानमा सीमित भयो। लिगमा शीर्ष दुई स्थानमा रहेका बंगलादेश र भारत उपाधिका लागि भिड्ने भएका हुन्।
शनिबार उपाधि भिडन्त हुनेछ। लिगमा सतप्रतिशत नतिजा निकाल्दै बंगलादेश ९ अंकसहित शीर्षमा रह्यो। समान तीन खेलमा भारतले ६ अंक र नेपालले तीन अंक जोडे। भारतले पनि बुधबार नै भुटानमाथि ८–० को जित निकाल्दै लिगमा दोस्रो स्थानमा पक्का गरेको हो।
बंगलादेशसँग २–० ले पराजित भएको भारतले त्यसपछि दुई जित निकाल्दै उपाधि यात्रा तय गर्यो। नेपालसँग १–० को जित नै भारतका लागि फाइनल पुग्न महत्त्वपूर्ण साबित भयो। त्यो साँघुरो हार घरेलु टोलीका लागि उपाधि यात्रामा बाधक बन्यो। यता, बंगलादेश भने लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधिको सबैभन्दा बलियो दाबेदारको रूपमा देखिएको छ।
बंगलादेशले पहिलो खेलमा भुटानलाई १२–० र दोस्रो खेलमा भारतलाई २–१ ले पराजित गरेको थियो। घरेलु टोली भने प्रतियोगितामा तेस्रो स्थानमा नै सीमित रह्यो। नेपालले एक मात्र जित दोस्रो खेलमा भुटानमाथि २–१ ले निकालेको हो।
अन्तिम खेलमा बंगलादेशसँग ४–० को हार बेहोरेपछि नेपालको फाइनल पुग्ने सपना तुहियो। अल्पीको ह्याट्रिक प्रेरणामा बंगलादेशले नेपालमाथि एकतर्फी हाबी भयो। पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्यो। खेलको तेस्रो मिनेटमै बंगलादेशले गोल गर्दै अग्रता लिँदै दबाब बनाएको थियो। मामोनी चक्माले कर्नर प्रहारमा प्रोतिमा मुन्डाले हेडर गर्दै जाली चुमाइन्। यससँगै नेपालमा सुरुमा नै दबाबमा पर्यो। पहिलो हाफको थप समयमा बंगलादेशले दोस्रो गोल गर्यो। अल्पीले गोल गर्दै अग्रता दोब्बर बनायो। पेनाल्टी बक्सनजिक पाएको फ्रिकिकमा अल्पीले सेकेन्ड बार च्यापेर हानेको प्रहार नेपालकी गोलकिपर झरना डुम्राकोटी रोक्न असफल भइन्।
आक्रामक बंगलादेशसामु नेपालले सम्हालिन नपाउँदै गोल खायो। दोस्रो गोल भने नेपालले पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा खायो। अल्पीले ६७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्। यससँगै घरेलु टोली ३–० ले पछाडि पर्यो। अल्पीले ८२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यसअघि बुधबारकै पहिलो खेलमा भारतले भुटानलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो।
पहिलो हाफमा ७–० ले अग्रता बनाएको भारतले दोस्रो हाफमा भने एक गोल मात्रै थप्यो। भारतकी पर्ल फर्नान्डेजले ह्याट्रिक पूरा गरिन्। फर्नान्डेजले १६औं, ३९औं र ४१औं मिनेटमा गोल गरिन्। प्रीतिका बर्मानले २५औं र ९०औं मिनेटमा गरेर दुई गोलको गरिन्। अलिसा लिङ्गदोहले छैटौं मिनेट, अभिष्ता बस्नेतले दशौं र दिव्यानी लिन्डाले १७औं मिनेटमा गोल गर्दै फराकिलो अन्तरमा जित निकाल्न भूमिका खेले।
प्रकाशित: २२ माघ २०८२ ०७:०२ बिहीबार



-600x400.jpg)

