२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

मध्यपूर्वको तनावले पदयात्राका पर्यटकले बसाई छोट्याए

कतिपय पाहुना त गन्तव्यमै पुग्न पाएनन्

अन्नपूर्ण आधारशिविर क्षेत्रमा पुगेका पाहुना। तस्बिरः नागरिक

पर्यटकीय सिजनको सुरुवाती समयमा भित्रिएका यूरोपियन मुलुका पर्यटकहरु धमाधम बसाई अवधि छोट्याएर फर्किन थालेका छन्। हवाई उडान अवरुद्ध भएसँगै यात्रा विथोलिने त्रासले पर्यटकले बसाई अवधि छोट्याउन थालेको पदमार्ग क्षेत्रका पर्यटन व्यावसायीले बताएका छन्। पदयात्रामा पुगेको भएपनि तोकिएको दिन नबसेर फर्किनेमा धेरै यूरोपियन मुलका पर्यटक रहेको उनीहरुको भनाई छ।  

अन्नपूर्ण क्षेत्रको पदयात्रामा रहेका विदेशी पाहुना अहिले बसाई अवधि छोट्याएर फर्किएको त्यहाँका व्यवासायीले बताएका छन्। द्वन्द्वका कारण मध्यपूर्वी मुलुकको आकाशमा अहिले हवाई उडान प्रभावित भएको छ। त्यसले नेपालसम्मको हवाई यात्रा पनि प्रभावित बनेको छ। यतिसम्मकी मध्यपूर्वका मुलुकलाई जोड्ने विभिन्न एयरलाइन्सका जहाज नै काठमाडौंमा रोकिएका थिए।  

‘जसोतसो आएका पाहुना पनि फर्किन हतारिएका छन। सकुशल घर फर्किन सकिन्छ वा सकिन्न भन्ने चिन्ता छ। त्यही भएर तोकिएको दिनको बसाई अवधि घटाएर धमाधम फर्किएका छन्’ माछापुच्छ्रे आधारशिविर (एमबिसी) पदमार्गका पर्यटन व्यावसायी दिलीप गुरुङ भन्छन्, ‘युद्ध चर्किनुभन्दा पहिले नै नेपाल आइसकेका थिए। उनीहरुको फर्किने तालिका केही ढिला थियो। तर, हवाईमार्ग प्रभावित भयो, त्यसपछि पाहुना बढि आत्तिए।’ एकदिन भएपछि छिटो घर फर्किन सकिन्छ की भन्ने उनीहरुको भनाई थियो।  

उनका अनुसार सिजनको पदयात्रामा आउनका लागि बुकिङ गरेका पाहुनालाई हवाईमार्गमा निम्तिएको अनिश्चितताले प्रभावित बनाएको उनले बताए। ‘यो बेला जति चहलपहल हुनुपर्ने हो, त्यत्ति भएन। हुन त यूरोपियन पाहुनाको नेपाल भित्रिने समय अझै बाँकी छ। तरपनि चाहेको आकारमा उनीहरु आएका छैनन। आएका पाहुना पनि छिटोगरि फर्किएका छन,’ उनले भने, ‘यूरोपियन मुलुका पाहुनालाई बढि असर परेको छ। अरु मुलुकका पाहुनालाई त खासै समस्या परेको छैन। तर, अहिलेका लागि यूरोपियन मुलका धेरै प्रभावित छन्।’ कतिपय पर्यटक त गन्तव्यसम्म पनि पुग्नै नपाई फर्केको उनले बताए। अहिले पदमार्गमा अधिकांश भारतीय पदयात्री रहेको उनले बताए।

‘जसोतसो आएका पाहुना पनि फर्किन हतारिएका छन। सकुशल घर फर्किन सकिन्छ वा सकिन्न भन्ने चिन्ता छ। त्यही भएर तोकिएको दिनको बसाई अवधि घटाएर धमाधम फर्किएका छन्’ माछापुच्छ्रे आधारशिविर (एमबिसी) पदमार्गका पर्यटन व्यावसायी दिलीप गुरुङ भन्छन्, ‘युद्ध चर्किनुभन्दा पहिले नै नेपाल आइसकेका थिए। उनीहरुको फर्किने तालिका केही ढिला थियो। तर, हवाईमार्ग प्रभावित भयो, त्यसपछि पाहुना बढि आत्तिए।’ 

पर्यटन व्यावसायीका अनुसार नेपाल भित्रिने धेरै विदेशी पर्यटक मध्ये अधिकांश (छिमेकी मुलुक बाहेक) ले मध्यपूर्वकै आकाश प्रयोग गर्छन्। अमेरिकी, यूरोपियन सहित मध्यपूर्वकै मुलुकका पाहुनाले नेपालसम्म आउजाउका क्रममा प्रयोग गर्ने मध्यपूर्वी मुलुकको आकाशमा अहिले हवाई उडान प्रभावित छ। मध्यपूर्वी क्षेत्रमा विकसित तनावले अहिले त्यस क्षेत्रमा हवाई उडान अवरुद्ध छ। त्यसको प्रभाव नेपालको पर्यटन क्षेत्रमा पर्ने भन्दै यहाँका पर्यटन व्यावसायीले चिन्ता जनाएका छन्।  

व्यावसायीका अनुसार नेपाल आउजाउका क्रममा अधिकांश अमेरिकी, यूरोपियन मुलका पर्यटकले मध्यपूर्वकै आकाश प्रयोग गर्ने अहिले त्यहाँ हवाई उडान अवरुद्ध भएकै कारण पर्यटक आउजाउमा असर पर्ने देखिएको छ। संयुक्त अबर इमिरेट्स, साउदी अरेबिया, कतार, दुबई हुँदै अधिकांश अमेरिकाी र यूरोपियन मुलका पर्यटक नेपाल आउजाउ गर्ने ती पाहुनालाई ल्याउने र लैजाने गरेका विभिन्न हवाई उडान अवरुद्ध हुँदा सिजनको पर्यटक आगमन प्रभावित हुने चिन्ता व्यावसायीको छ।  

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गका पर्यटन व्यवासायी जगन गुरुङ पनि यूरोपियन मुलका पाहुनाको नेपाल बसाई प्रभावित भएको बताउँछन। ‘यो समयमा यूरोपियन मुलुका पर्यटक बढी प्रभावित भएका छन। एशियाली मुलका पाहुना भित्रिएको भएपनि यूरोपियन मुलका पाहुनाको अभाव छ,’ उनले भने, ‘मध्यपूर्वका मुलुकमा उत्पन्न द्वन्द्वको प्रभावका कारण आगमन प्रभावित भएको अनुमान छ।’

उनका अनुसार अहिले अन्नपूर्ण आधारशिविर क्षेत्रमा भारतीय, मलेसियन र चिनियाँ पाहुना बढी छन्। ‘हाम्रोमा पदयात्राको सिजन हो। तर, सोचेअनुसार यूरोपियन मुलका पाहुना आउन पाएनन। यतिबेला हवाई यात्रामा समस्या छ,’ उनले भने, ‘व्यापार त भारतीय, मलेसियन, चिनियाँ पाहुनाबाट पनि छ। तर यूरोपियन आउँदा अलि महंगा पाहुना आउँछन।’  

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएस आफ नेपाल (टान)का निवर्तमान अध्यक्ष धर्मराज पन्थी पनि मध्यपूर्वको तनावले पदयात्राका पाहुनाको यात्रा प्रभावित भएको बताउँछन्। आएका पाहुना पनि बसाई अवधि छोट्याएर फर्किएको उनले पनि बताए। ‘अलिअलि चुनावका कारण प्रभावित भएको थियो। त्यसैमा मध्यपूर्वका मुलुकमा समस्या थपियो। त्यसले यात्रा प्रभावित भएको छ,’ पन्थीले भने, ‘मध्यपूर्वको समस्या मत्थर हुनासाथ पाहुना आउने अपेक्षा छ।’  

पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने पनि मध्यपूर्वको तनावको प्रभावले नेपालमा खर्च गर्ने क्षमताका पाहुना अभाव हुने बताउँछन। अमेरिकी र यूरोपियन मुलका पर्यटक उच्च खर्च गर्ने क्षमता हुने र उनीहरुको नेपाल आगमन प्रभावित हुँदा नेपाल सस्ता पर्यटकको मात्र गन्तव्य बन्न सक्ने उनले बताए। ‘महंगो रकम खर्चने पाहुना अभाव हुन सक्छ। अमेरिकी र यूरोपियन मुलका पाहुनाको आगमन यात्रामार्गमा अवरोध उत्पन्न हुँदा प्रभावित भएको छ,’ उनले भने, ‘महंगो रकम खर्च गर्ने पर्यटक नहुँदा पर्यटन क्षेत्रले सोचेजति लाभ नपाउन पनि सक्छ।’  

प्रकाशित: २४ फाल्गुन २०८२ १६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App