२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

बालेन्द्रप्रति ओलीको कटाक्ष : जहाजमा यात्रीको रूपमा रहेको व्यक्तिले जहाज चलाउछु भन्नु जोखिमपूर्ण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाजमा यात्रीको रूपमा रहेको व्यक्तिले जहाज चलाउछु भन्ने कुरा असान्दर्भिक मात्र नभइ जोखिमपूर्ण पनि हुने बताएका छन्।

पार्टीको झापा काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधनमा अध्यक्ष ओलीले बालेन्द्र साहप्रति संकेत गर्दै यस्तो बताएका हुन्। उनले विभिन्न व्यक्तिहरूले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार भन्दै प्रचार गरेको प्रति व्यंग्य गर्दै अनुभव नभएका र देश चलाउने सोचै नभएका व्यक्तिहरूबाट यस्तो कुरा सम्भव नहुने बताए।

‘जहाजमा यात्रुको रूपमा रहेको व्यक्तिले म त जहाजै उडाउन सक्छु भनेर पाइलट सिटमा बस्यो भने के हुन्छ?’ अध्यक्ष ओलीले प्रश्न गरे, ‘त्यस्तो जहाजमा कोही चढ्लान् त? झुक्किएर कोही चढिहाले भने उसको अवस्था के होला? त्यस कारण अहिले सबैले सोचविचार गरेर निर्णय गर्नुपर्ने समय आएको छ।’

अध्यक्ष ओलीले निर्वाचन दुई चरणमा गर्ने कुरा कुनै हालतमा पनि स्वीकार नगर्ने बताएका छन्। ‘प्रधानमन्त्रीले हिमालमा हिउँ पर्यो भने निर्वाचन दुई चरणमा हुन्छ भनेको सुनेँ। यो कुनै हालतमा पनि स्वीकार्य हुँदैन,’ उनले भने, ‘पोहोर हिउँदभन्दा अघि जन्मेको बच्चालाई हिउँदमा हिउँ पर्छ भन्ने कुरा थाहा हुन्छ। अनि निर्वाचनको मिति तोक्ने बेलामा थाहा थिएन हिउँदमा चिसोले निर्वाचन हुँदैन भन्ने कुरा?’

अध्यक्ष ओलीले निर्वाचन शतप्रतिशत निष्पक्ष र धाँधली रहित हुनु पर्ने बताए। ‘निर्वाचनको तयारी निष्पक्ष, मतदान बिनाडर त्रास र प्रलोभनमा हुनुपर्दछ,’ अध्यक्ष ओलीले भने, ‘मतपेटिका एक सेकेण्ड पनि पार्टीका प्रतिनिधिको अनदेखा हुनु हुँदैन। त्यसमा सबै चनाखो हुनुहोस।’

ओलीले एमालेले निर्वाचन शानदार ढंगले जित्ने भएको सबै कार्यकर्तालाई उच्च मनोबलका साथ प्रचारमा लाग्न पनि निर्देशन दिए। ‘विभिन्न फिरंगीहरू आउन सक्छन्। त्यस्तालाई चिन्नुहोस,’ अध्यक्ष ओलीले भने, ‘हामीले गरेका विकास निर्माणका काम, सुशासनका काम, जनचेतनाका काम जनतालाई भन्नुहोस। मतदाताको मन जित्ने गरी काम गर्नुहोस।’

कार्यक्रममा पार्टीका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री अग्नी खरेल लगायतले पनि कार्यकर्तालाई निर्वाचन क्षेत्र केन्द्रित हुन आग्रह गरे।

प्रकाशित: २२ माघ २०८२ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App