१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्ला पुग्यो सलह

जुम्लाको पातारासी गाउँपालिकामा सहल पुगेको छ । छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हो । पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा सलह किराको झुण्डहरु प्रवेश गरेको भेटिएको स्थानीय बताउँछन् ।

सलहले मकै, गहुँ र आलु बारीमा क्षति पुर्‍याएको छ । जताततै सलह किराको बथान देखिन्छ । बालीनालीमा पनि धेरै क्षति पुगेको छ । घोगा लागिसकेको मकै सखाप पार्न थालेपछि किसान चिन्तित् छन् ।  

सुरुसुरुमा छिटफुट रुपमा देखिएपनि अहिले ठूलो झुण्डमा देखिन थालेका स्थानीय गोर्खबहादुर रावत बताउँछन् । आलु र मकै बारीमा प्रवेश गरेर ठूलो नोक्सान गरेको उनले बताए । सलह भगाउनको लागि विभिन्न बाजा बजाउने, मान्छे कराउने गर्छन्, उनले भने, ‘तैपनि सलह भाग्दैनन् । अहिले किसान सलह धपाउनै व्यस्त छन् ।’

यता पातारासी गाउँपालिकामा सलह किराको झुण्डहरु प्रवेश गरेकोले किसानलाई सचेत रहन आग्रह गरिएको छ । कृषि विकास शाखा संयोजक रुपक बुढा सलह भगाउने खास उपाय नभएको बताउँछन् । थाल बजाउन र त्यति गर्दा पनि भाग्न नमानेको खण्डमा समातेर मार्न सुझाएको उनी बताउँछन् ।

पातारासीमा पहिलोपटक सलह किरा देखिएको उनले जानकारी दिए । ठूलो आवाज निकाल्ने, धुँवा जस्ता विधिबाट सलहलाई तितरबितर पार्ने प्रयास भइरहेको छ । सानो क्षेत्रमा गरिएको खेतीमा झुल वा जालीले छोपेर बालीनाली बचाउने, एसडि प्रयोग गर्ने, लसुन पानी उमालेर छर्ने र जैविक विषादीको प्रयोग गरी सलह किराको नियन्तत्रण गर्न सकिने कृषि विकास शाखा कार्यालय पातारासी जनाउँदछ ।  

ठूलो मात्रामा सलह प्रवेश गरेकोले जुम्लाको स्याउ, मकै, उवा गहुँ लगायतका रैथाने बालीमा क्षति पुगेको छ । किसान दैनिक रुपमा सलहबाट आजित भइसकेको गुनासो गर्छन्, हामीले सलह भगाउने उपायबारे सचेत गराएका छौँ, रुपकले भने,‘ बिहान साँझ उड्न सक्दैन छोप्ने र मार्नेभन्दा अरु कुनै विकल्प छैन ।’

सलहले मकैबाली सखाप पार्न थालेपछि भोकमरी हुन सक्ने भन्दै किसान आत्तिन थालेका छन् । सलह किराले बालीमा अमेरिकी फौजी कीराले भन्दा बढि क्षति गर्छ ।

सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठदेखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १ सय ५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्‍याउन सक्ने विज्ञहरु बताउँछन् । भारतको विभिन्न प्रान्त हुँदै नेपाल भित्रिएको सलह किरा जुम्लामा पनि पसेको छ ।

प्रकाशित: २७ असार २०७७ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App