coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काष्ठमण्डप पुनर्निर्माण ६० प्रतिशत सम्पन्न

२०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपको पुनर्निर्माण ढिलो गरी सुरु भएपनि अहिले भने निर्माण कार्यले गति लिएको छ । अहिले सम्म करिब ७ करोड रुपैयाँ खर्च भइसकेको छ भने करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको काष्ठमण्डप पुनर्निर्माण समितिले बताएको छ ।  

२०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त भएको काष्ठमण्डपको पुनर्निर्माणको काम काठमाडौं महानगरपालिका मार्फत उपभोक्ता समितिले गरिरहेको छ । पुनर्निर्माणको काम विवादमा पर्दा तीन वर्ष सम्म निर्माण कार्य सुरु हुन सकेको थिएन् । तर काठमाडौं महानगरपालिकाले १५ सय वर्ष पुरानो मौलिक प्रविधि अपनाएर स्वदेशी सीप, पूँजी, प्रविधि र श्रमलाई प्रयोग गरी तीन वर्ष भित्र बनाउने गरी २०७४/०७५ को नीति तथा कार्यक्रममा समावेस गरेपछि भने पुननिर्माणको कामले गति लिएको छ ।  

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष एवं बागमती प्रदेशका सांसद राजेश शाक्यले पुननिर्माणको काम करिब ६० प्रतिशत सम्पन्न भएको बताए । काष्ठमण्डपको पहिलो तलाको काम सम्पन्न भई दोस्रो तलाको काम भइराखेकाले ६० प्रतिशत काम सम्पन्न भएको अनुमान गरिएको उनले बताए । यस्तै पुरातत्व विभागले स्टिमेट गरेको १९ करोड ८८ लाख रुपैयाँ लागत भित्रै रहेर पुनर्निर्माणको काम सम्पन्न हुने पनि उनले बताए । अहिले सम्म काठमाडौं महानगरपालिकाले झण्डै १० करोड ५० लाख रुपैयाँ अनुदानबाट पाएको र करिब सात करोड रुपैयाँ खर्च भइसकेको जानकारी उनले दिए ।

महानगरपालिकाको नीति ताथा कार्यक्रममा तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखेकाले लकडाउनको अवधिमा पनि निर्माण कार्यलाई नरोकिएको शाक्यले बताए । उनले वसन्तपुर दरबार क्षेत्र भित्र रहेका अन्य सम्पदाहरुको काम पनि व्यवस्थित रुपमा भइराखेको बताए । सबै सम्पदाहरुको पुनर्निर्माण १५ सय वर्ष अघिको प्रविधिमा रहेर भूकम्प प्रतिरोधि बनाउने प्रयास गरिएको उनले बताए ।

काष्ठमडण्प पुनर्निर्माणका लागि चाहिने थाम, ढुंगा सबै व्यवस्थापन गरी तयार भइसकेको पनि उनले बताए । पहिलो तलामा ९६ वटा थामको प्रयोग गरिएको छ । उपभोक्ता समितिले नै पूनर्निर्माणको काम गरिरहेकाले स्थानीयबाट कुनै अवरोध नभएको पनि शाक्यले बताए । अहिलेकै गतिमा काम भए तोकिएको समय अवधिभित्रै निर्माण सम्पन्न हुने उनले बताए । 

प्रकाशित: २५ असार २०७७ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App