१६ चैत्र २०८० शुक्रबार
समाज

‘विपदमा सम्झने, अरुबेला बिर्सने’

पूर्व सुचना प्रणाली : गफै मात्र

कास्कीको लुम्लेमा पाँचवर्ष अघिको पहिरो । फाइल तस्बिरः नागरिक

कास्कीको लुम्ले नेपालमै सबैभन्दा बढि पानी पर्ने ठाउँ हो । अन्नपूर्ण गाउँपालिका–६ र ७ मा लुम्ले पर्छ । त्यही लुम्लेमा २०७२ साउनमा भीषण पहिरो आउँदा पुरिएर २८ जनाले ज्यान गुमाएका थिए । पहिरोले क्षति पुर्याएसँगै त्यो बेला लुम्ले क्षेत्रमा प्राकृतिक विपदबाट जोगिन पूर्व सुचना प्रणाली आवश्यक रहेको भनेर धेरैतिर चर्चा भयो ।  

तर, पहिरोको त्यत्ति ठुलो क्षति भोगेको लुम्लेले अहिलेसम्म पूर्व सुचना प्रणाली सम्बन्धी कुनै पुर्वाधार पाएको छैन । वर्षमा करिब ५ हजार मिलिमिटर वर्षा हुने लुम्लेमा अहिलेसम्म प्राकृतिक विपदबारे जानकारी दिने संयन्त्र छैन । पाँचवर्ष अघि पहिरो जाँदा लुम्लेमा चारघण्टाको अवधिमा २८९ मिलिमिटर वर्षा भएको थियो । त्यहि वर्षापछिको पहिरोले बस्ती बगाउँदा ठुलो जनधनको क्षती गाउँले भोगेको थियो ।  

पाँचवर्ष अघि ठुलो क्षति भोगेको र नेपालमै सबैभन्दा बढी वर्षा हुने तथा अधिक वर्षा हुँदा बाढीपहिरोको जोखिममा रहेको लुम्ले प्राकृतिक विपदबारे तत्काल जानकारी पाउने पूर्वाधार नपाउँदा अहिले पनि भीषण वर्षा हुँदा तर्सिने गरेको छ । ‘पाँचवर्ष अघि ठुलो क्षति भोगेका थियौ । त्यो बेला २८ जना गाउँलेलाई सधैंका लागि गुमायाैं,’ वडा ६ का अध्यक्ष चित्रबहादुर गुरुङ भन्छन्, ‘तर अहिलेसम्म यस्तो प्रकोपबारे जानकारी पाउने पूर्व सूचना प्रणाली राख्ने काम भएको छैन ।’ मुलुकमै सबैभन्दा बढी पानी पर्न ठाउँले समेत पूर्व सुचना प्रणाली बिस्तार गर्न नसक्दा गाउँका बासिन्दा त्रासमा रहेको उनले बताए ।  

‘त्यो बेला (२०७२) पूर्व सुचना प्रणालीबारे निकै नै चर्चा भयो । बढी पानी पर्ने भएकोले लुम्लेमा त्यस्ता संयन्त्र आवश्यक छ भनेर सरकारी पदाधिकारीले भने,’ उनले भने, ‘तर घटनापछि केही दिन चर्चा पाएको त्यो विषय अहिले सबैले बिर्सिसके ।’ सबैभन्दा बढी पानी पर्ने क्षेत्रमा जोखिमबारे पूर्व सूचना दिनेगरि साइरन बज्ने खालका पुर्वाधार आवश्यक भएपनि सबैतिरबाट बिर्सिएको उनले बताए । ‘घटना घट्दा सबैतिर सम्झयो, तर पछि बिर्सने गरिन्छ,’ उनले भने, ‘लुम्ले त्यसैको मारमा परेको हो । अहिले पनि त्यो गाउँमा बासिन्दा ठुलो पानी पहिरोको त्रासमै बस्छन् ।’  

अघिल्लो पटक पहिरो गएको ठाउँमा नगएपनि अन्यत्र पहिरोको जोखिम उत्तिकै रहेको उनले बताए । ‘पुरानै ठाउँमा पहिरो नआएपछि अन्यत्र आउन सक्छ । सबैभन्दा बढी पानी पर्ने ठाउँ भएकोले पनि सचेतना अपनाउनुपर्छ,’ उनले भने । पहिरोको त्यो क्षतिपछि त्यहाँ पुर्ननिर्माण गर्ने, चेकड्याम बनाउने, पहिरो झरेको सिरान क्षेत्रमा पाँचसय थान जालि भर्ने काम गरेको उनले बताए । ‘पहिरोले क्षति पुर्याएकै ठाउँमा नयाँ बस्ती बसिसक्यो । फेरि पनि त्यस्तै क्षति नहोला भन्न त सकिन्न,’ उनले भने ।

गाउँपालिका अध्यक्ष युवराज कुँवर पनि मुलुककै बढी पानी पर्ने क्षेत्रमा प्राकृतिक विपद्बारे जानकारी दिने पुर्व सुचना प्रणाली नभएको बताउँछन् । ‘त्यस्ता पुर्वाधार राख्ने क्षमता हामीसँग छैन,’कुँवरले भने, ‘संघीय सरकारले त्यसबारेमा चाँसो दिनुपर्छ । स्थानीय तहको क्षमता छैन ।’ अध्यक्ष कुँवरका अनुसार गाउँपालिकाका दुईठाउँमा पूर्व सुचना प्रणाली राख्ने प्रयास भएको हो । हिमपहिरोको जोखिम रहेको अन्नपूर्ण आधारशिविर (एबिसी)क्षेत्र, र लुम्लेका लागि पूर्व सुचना प्रणालीको रुपमा साइरन राख्ने भनेर गृहमन्त्रालयमा प्रस्ताव पठाइएका थियो । तर मन्त्रालयले त्यसबारेमा कुनै जानाकारी नदिएको उनले बताए ।

‘सरकारले बस्ती बस्न हुने र नहुने ठाउँ भनेर क्षेत्र छुट्याउन जरुरी छ । जोखिम ठहरिए बस्ती हटाएर वन बनाउने र सुरक्षित ठाउँमा बस्ती सार्न सकिन्छ,’ कुँवरले भने, ‘सुरक्षित ठाउँमा बस्ती सार्ने हो भने सधैंका लागि प्राकृतिक प्रकोपबाट बच्न सकिन्छ ।’ पूर्व सुचना प्रणालीबारे आफुहरुलाई उत्तिसारो जानकारी नभएकोले पनि कदम चाल्न नसकेको अध्यक्ष कुँवरले बताए । ‘सरकारलाई नै थाहा छ नी सबैभन्दा बढी पानी पर्ने ठाउँमा प्राकृतिक प्रकोप हुँदा अग्रिम जानकारी दिने सुचना प्रणाली छैन भनेर,’ उनले भने । गाउँपालिकाले आगामि आर्थिक वर्षका लागि प्राकृतिक विपद्का लागि ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । चालु आर्थिक वर्षका लागि २० लाख रुपैयाँ मात्र छुट्याएको थियो । उनका अनुसार गाउँपालिकाभित्र जोखिमयुक्त ठाउँ पहिचान पनि भएको छ । जोखिमयुक्त गाउँको रुपमा उल्लेरी, घान्द्रुक क्षेत्र, सल्यान, निवारे, लुम्ले, ठुलाचौर प्राकृतिक प्रकोपबाट जोखिमयुक्त ठाउँ हुन् ।  

जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजाराम ढकाल पनि बढी पानी पर्ने क्षेत्रमा प्राकृतिक प्रकोपको सम्भावना हुने भएकोले पूर्व सुचना दिने प्रणाली आवश्यक ठान्छन । ‘लुम्ले जस्तो ठाउँमा पूर्व सुचना दिने प्रणाली आवश्यक हो,’ उनले भने,‘अहिले त कुनै पनि सिस्टम नै छैन ।’ लुम्लेमा वर्षा र तापक्रम मापनका लागि कृषि हावापानी केन्द्र मात्र रहेको छ । त्यसले वर्षा, र तापक्रम मापन गर्दै आएको छ । ‘वढी वर्षा भएको अवस्थामा जानकारी दिने संयन्त्र छ । वर्षाको मापन मात्र त्यहाँबाट हुन्छ । पहिरोको सम्भावना भए नभएको थाहा हुँदैन,’ उनले भने । उनका अनुसार २४ घण्टामा १४० मिलिमिटर र एकघण्टामा ६० मिलिमिटर बढी पानी परेमा त्यसको जानकारी केन्द्रमा पुग्छ । विहीबार २४ घण्टामा लुम्लेमा ११४ मिलिमिटर वर्षा भएको छ । यही अवधिमा पोखरामा १३२ मिलिमिटर वर्षा भएको छ । लम्जुङ सदरमुकाम बेसीसहरमा १५३ मिलिमिटर वर्षा भएको छ । ‘सम्भावित प्राकृतिक जोखिम भएको ठाउँमा पूर्व सुचना प्रणाली हुने हो भने सुरक्षित महसुस हुन सकिन्छ,’ उनले भने, ‘अहिलेसम्म वर्षाको मापनको जोखिम मात्र थाहा हुने संयन्त्र छ । अरु जोखिमबारे पुर्वसुचना दिने पुर्वाधार छैनन ।’ मनसुन एक्टिभ भएकोले यतिबेला भारी वर्षाको सम्भावना रहेको ढकालले बताए ।  

भूगर्भबिद श्रीकमल द्विवेदी एकघण्टामा ४० मिलिमिटर भन्दा बढी पानी परेको खण्डमा पूर्व सुचना दिने पुर्वाधार राख्न सकिने बताउँछन् । ‘प्रतिघण्टा ५० मिलिमिटर पानी परेमा त सतही पहिरो जान सक्छ । छोटो समयमा धेरै वर्षा हुँदा यस्ता खालका क्षति हुनसक्छ,’ द्विवेदीले भने, ‘त्यसैले ठुलो पानी पर्ने ठाउँमा पुर्व सुचना दिने संयन्त्र आवश्यक छ ।’ बाढी पहिरो आएपछि तत्काल रेस्पोन्स मात्र गर्ने प्रचलनले पछि अप्ठेरो पार्ने गरेको उनले बताए ।  ‘बाढी पहिरोको क्षतिमा तत्काल रेस्पोन्स हुछ । तर, लामो समयपछिको अवस्था के होला भनेर हेरिँदैन,’ उनले भने, ‘प्राकृतिक विपद्बाट जोगिने गरि कहिल्यै तयारी भएको छैन ।’

बाढी आएपछिको रेस्पोन्सका लागि मात्र सबै संयन्त्र तयार हुने उनले बताए । ‘कतिपय बस्तीमा वर्षाको कारण हुनसक्ने क्षतिबारे अध्ययन नै नगर्दा क्षति भोग्नुपर्ने हुन्छ,’ उनले भने । बढी पानी पर्ने ठाउँमा पूर्व सुचनाको संयन्त्र नभएकोले सुरक्षित बसोबास आवश्यक रहेको उनले बतए । ‘धेरै ठुलो पानी पर्दा पर्दा जोखिम हुनसक्छ । पानी पर्दा रोक्न सक्दैनौ, खोल्सीको नजिक बस्ती नबसाउने हो भने क्षति कम हुन्छ,’ उनले भने ।

प्रकाशित: २५ असार २०७७ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App