‘आ बाट आमा’ फिल्मको शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर गाउने र अभिनय गर्नेले ५० हजार प्राप्त गर्ने भएका छन्।
निर्माण टिमले सोमबार उक्त गीतमा कभर सङ र अभिनय प्रतियोगिता घोषणा गरेको हो।
प्रतियोगितामा सहभागी हुनेले यो गीतको कभर सङ गाउनुपर्ने छ भने अभिनयमा रुचि हुनेले अभिनय गर्नुपर्ने छ। आआफ्नो विद्यामा भिडियो निर्माण गरेर माघ १२ गते टिकटकमा अपलोड गरेको हुनुपर्ने छ।
सो मितिसम्म अपलोड भएका भिडियोहरूलाई मात्र प्रतिस्पर्धामा समावेश गरिने निर्माण पक्षले जनाएको छ।
उत्कृष्ट अभिनयसहितको भिडियो चयन गरी माघ १४ गते विजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने निर्देशक चन्द्र पन्तले बताए।
उनका अनुसार प्रतियोगितामा सहभागी हुनेले भिडियो अपलोड गर्दा ओएसआर डिजिटलको टिकटक अकाउन्ट @osrdigitalnp मेन्सन गर्नुपर्नेछ।
आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आबाट आमा’ को उक्त गीत यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ।
निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका छ।
फिल्मको संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिएका छन्। कोरियोग्राफी गम्भीर विष्ट र दिलिप ओखेडाको रहेको छ भने छायांकन डीओपी नवराज उप्रेतीले गरेका छन्।
अभिमन्यू निरवीले लेखेकाे संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।
नेपालमा चलचित्रको प्रदर्शन अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलको हातमा रहेको छ। फिल्म आगामी माघ १६ गतेबाट प्रदर्शन हुँदै छ।
प्रकाशित: १४ पुस २०८२ ११:३८ सोमबार





