coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वीपीका चिकित्सक एवं कर्मचारीहरुको तलब वृद्धि

वीपी प्रतिष्ठानका उपकुलपतिको कार्यालय ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ४३ औं सिनेट बैठकले निर्णय गरेअनुसार चिकित्सक र कर्मचारीहरुको तलब वृद्धि गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले कर्मचारी तथा चिकित्सकहरुलाई आन्तरिक स्रोतबाट तलब वृद्धिको निर्णयलाई कार्यान्वयन गरेका हुन् । नेपाल सरकारले कर्मचारीहरुको तलब वृद्धि गर्ने निर्णय गरेपछि प्रतिष्ठानका कर्मचारी तथा चिकित्सकहरुले पनि तलब वृद्धिको माग गर्दै आएका थिए । पछिल्लो ५ वर्षमा सरकारले ७६ प्रतिशत तलब वृद्धि गरेको भएपनि प्रतिष्ठानमा भने २४ प्रतिशतले मात्र तलब वृद्धि भएको भन्दै कर्मचारी र चिकित्सकहरुमा चर्को असन्तुष्टी थियो ।  

प्रतिष्ठानको ४३ औं सञ्चालक परिषद(सिनेट) बैठकले आन्तरिक स्रोतबाट २० प्रतिशतसम्म तबल वृद्धि गर्नसक्ने निर्णय गरेको थियो । उक्त निर्णय पछि प्रतिष्ठानले तलब वृद्धिबारे स्रोत पहिचान तथा अध्ययन गर्न एक समिति पनि गठन गरेको थियो । तर, विविध कारणले तलबमान वृद्धिको निर्णय हुन सकेको थिएन । उपकुलपति डा.गिरीले वृद्धि भएको तलब १ साउन २०७६ देखि लागु हुने गरी वृद्धि गर्ने निर्णय गरेका छन् । उनको निर्णय अनुसार श्रेणीविहीनदेखि सहायक स्तरसम्मका कर्मचारीहरुको बेसिक तलबमान २० प्रतिशत वृद्धि भएको छ भने अधिकृतस्तरदेखि डेपुटी रजिष्ट्रारसम्मका कर्मचारी, सिनियर रेसिडेन्टदेखि पदाधिकारीहरुको बेसिक तलबमा १५ प्रतिशतका दरले तलब वृद्धि गर्ने निर्णय भएको छ । नियमअनुसार आकर्षण भत्ता पाउने शिक्षकको पनि १५ प्रतिशतले वृद्धि हुनेछ ।  

सोमबार चिकित्सक शिक्षक र पदाधिकारीहरुको बेसिक तलबमा १० प्रतिशतले मात्र तलब वृद्धिको निर्णय उपकुलपति डा.गिरीले गरेका थिए । उक्त निर्णयमा असन्तुष्टी जनाउदै मंगलबार बिहान चिकित्सक शिक्षकहरु धर्नामा उत्रिएका थिए भने निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएका थिए । चिकित्सकहरुको यो अल्टिमेटमपछि उपकुलपतिले अघिल्लो दिनको निर्णय सच्याउदै चिकित्सक शिक्षक एवं पदाधिकारीहरुलाई पनि १५ प्रतिशतको दरले तलब वृद्धिको निर्णय गरेका हुन् ।  

कोभिड १९ को महामारी र लकडाउनको कारण प्रतिष्ठानको आन्तरिक आयको अवस्था अहिले नाजुक छ । यो अवस्थामा तलब वृद्धिले प्रतिष्ठानलाई थप आर्थिक संकटमा पार्ने आँकलन गरिएको छ । त्यसैले श्रेणीविहिन कर्मचारीलाई वृद्धि तलब शतप्रतिशतले हुन आउने रकम तत्काल उपलब्ध गराउने र अन्यको हकमा भने स्रोतको उपलब्धता भएसँगै क्रमिकरुपमा वृद्धि भएको तलब उपलब्ध गराउदै जाने पनि निर्णय भएको सर्कुलरमा उल्लेख छ ।  

कर्मचारी र चिकित्सक शिक्षकद्वारा स्वागत

तलब वृद्धिको निर्णयप्रति कर्मचारी र चिकित्सक शिक्षकहरुले स्वागत गरेका छन् । पहिलो निर्णयमा असन्तुष्टी जनाएका चिकित्सकहरुले निर्णय संशोधन भएपछि स्वागत गरेका छनत् । कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राईले तलब वृद्धिको निर्णय कर्मचारीको हितमा भएकोले स्वागतयोग्य भएको बताए । ‘यो निर्णय कर्मचारीहरुको हितमा भएकोले सकरात्मक र स्वागतयोग्य छ । विषयम परिस्थितिमा पनि उपकुलपतिबाट साहसपुर्ण निर्णय भएको मानेका छौं,’उनले भने ।

यता, चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका महासचिव डाक्टर एस.पी.रिमालले पहिलो निर्णयले चिकित्सक शिक्षकहरुमाथि अन्याय भए पनि निर्णय सच्चिएकोमा खुशी व्यक्त गरे । ‘निर्णय सच्चिनु पर्छ भनेर माग गरेका थियौं, सच्चिएर आयो । स्वागतयोग्य नै मान्नुपर्छ,’उनले भने । बिहान उपकुलपति कार्यालयमा धर्ना दिएका चिकित्सक शिक्षकहरुले ज्ञापन पत्र पनि बुझाएका थिए । 

सोही क्रममा उपकुलपति उपकुलपति डा.गिरी, रेक्टर प्रा.डा.गुरु खनाल, अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह र कार्यकारिणी समिति सदस्य प्रा.डा.पशुपति चौधरीसहितको टोली शिक्षक कल्याण समाजसँग वार्ता पनि गरेको थियो । वार्ता पश्चात उपकुलपतिले थप गृहकार्य गरेर निर्णय लिने आश्वासन दिएका थिए ।

प्रकाशित: १६ असार २०७७ १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App