गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २४५ किलोमिटर सडक कालोपत्र र ढलान भएको छ।
आर्थिक वर्ष २०८१/८२ को सहित विसं २०७४ मा प्रदेश सरकार स्थापना भएयता एक हजार १४६.८८ किलोमिटर सडक कालोपत्र र ढलान भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाले प्रदेश सरकारले गत वर्ष सम्पन्न भएका ११ सहित ११२ सडक पुल निर्माण गरेको जानकारी दिए। उनले गत वर्षको ६६.७३ किलोमिटर सहित हालसम्म ७६२.७३ किलोमिटर सडक ग्राभेल भएको बताए।
गत वर्षको पाँच सहित ८७ झोलुङ्गे पुल र ३९ सहित ६७ भवन निर्माण तथा मर्मत भएको बानियाले बताए। गत आर्थिक वर्षमा रु १२ अर्ब ७१ करोड आठ लाख ६९ हजार बजेट विनियोजन गरेको मन्त्रालयले ७६.५२ प्रतिशत अर्थात् रु नौ अर्ब ७२ करोड ६७ लाख ३७ हजार खर्च गरेको छ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयले पछिल्लो पाँच वर्षयताकै धेरै बजेट खर्च गरेको बताए। यस वर्ष पुराना योजनालाई पूर्णता दिन बहुवर्षीय योजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको उनले बताए।
मन्त्रालयले गत वर्ष रु चार अर्ब २७ करोड ६५ लाख ५६ हजार लागत अनुमान गरिएको ४७ सडक, १३ सडक पुल, १३ झोलुङ्गे पुल र एक भवन निर्माणका लागि बहुवर्षीय ठेक्का लगाएको छ। आर्थिक वर्ष २०८१/०८२ मा ६३ बहुवर्षीय योजना सम्पन्न भएका छन्।
हाल २७१ बहुवर्षीय योजना निर्माणाधीन छन्। निर्माणाधीनमध्ये १८६ प्रदेश सडक, चार सङ्घीय सडक, डिजाइन एण्ड बिल्ड माध्यमबाट निर्माण गर्नेगरी ठेक्का लागेका सात र तीन सङ्घीय सहित ६६ सडक पुल, १२ झोलुङ्गे पुल र तीन भवन छन्।
मन्त्रालयले सञ्चालन गरेका २० योजना समस्याग्रस्त छन्। बहुवर्षीय योजनामा रु १० अर्ब १५ करोड ८१ लाख ७४ हजार दायित्व रहेकोमा आर्थिक वर्ष २०८२/०८३ मा रु चार अर्ब ७७ करोड ८३ लाख ३४ हजार विनियोजन भएको छ।
सालबसाली योजनाको ठेक्का लगाउँदा बचत भएको रकम बहुवर्षीय योजनामा आन्तरिक रकमान्तर गरेर आर्थिक स्रोतको व्यवस्थापन गरिएको मन्त्रालयका सचिव कमलबहादुर अधिकारीले बताए। गत वर्ष सालबसाली योजनाको ठेक्काबाट बचेको रु एक अर्ब ९४ करोड एक लाख ३१ हजार बहुवर्षीय योजनामा रकमान्तर गरिएको थियो। रासस
प्रकाशित: २१ भाद्र २०८२ ०६:४५ शनिबार





