६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

रेडजोनका आइसोलेसन रित्तिँदै, आधाभन्दा बढी संक्रमित डिस्चार्ज

जारी नयाँ निर्देशिकाको असर

संक्रमितहरूमा लक्षण नदेखिए बिनापरीक्षण घर फर्काउने निर्देशिका जारी भएपछि कपिलवस्तुका आइसोलेसन र क्वारेन्टिन रित्तिँदै गएका छन् । गत जेठ २४ गते सरकारले लक्ष्ण नदेखिएका बिरामीलाई १४ दिन आइसोलेसनमा राखी बिनापरीक्षण घर फर्काउने गरी निर्देशिका जारी गरेको थियो । त्यसयता जिल्लाका पालिकाहरूमा रहेका संक्रमितलाई धमाधम त्यही निर्देशिकाअनुसार छाडिएको छ ।  

संक्रतिहरूलाई त्यसरी बिनापरीक्षण घर जान दिइँदा गाउँ–समाजमा त्रास बढेको छ । जिल्लाका तीन पालिकाहरूले भने पिसिआर परीक्षण नगरी घर फर्कन नदिने घोषणा गरेका छन् । जेठ २४ गतेसम्म पुरानो निर्देशिकाअनुसार संक्रमितहरूलाई दोस्रो र तेस्रो परीक्षण नेगेटिभ आएपछि मात्र घर जान दिने गरिएको थियो । सो नियमअनुसार जिल्ला र जिल्लाबाहिर रहेको आइसोलेनबाट ४४ जना निको भई घर फर्काइएको थियो ।  

जेठ २५ यता नयाँ निदेशिकाअनुसार संक्रमितहरूलाई पालिकाहरूले घर जान दिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । आइतबारसम्म जिल्लाका विभिन्न आइसोलेसनमा रहेका तीन सय ३३ जनालाई डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल–पर्सन कुमार थापाले बताए ।  

जिल्लामा भेटिएका ६ सय ३४ संक्रमितमध्ये अब तीन सय एक जनामात्र बाँकी छन् । जिल्लाका सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको यशोधरा गाउँपालिकाको आइसोलेसनसमेत अब खाली हुने अवस्थामा छ । त्यहाँबाट एक सय ४३ जना डिस्चार्ज भइसकेका छन् । अब त्यहाँ केवल १५ जना संक्रमित छन् । यस्तै महराजगन्ज नगरपालिकामा ५० जना डिस्चार्ज भई हाल ७० जनामात्र छन् । यस्तै विजयनगरमा १७, कपिलवस्तु नगरपालिकामा १८, कृष्णगनरमा २६, मायादेवीमा २२, शिवराजामा तीन भएका छन् । नयाँ निदेर्शिका जारी भएयता स्वाब संकलन र आरटिडी ट्रेससमेत सुस्त भएको छ । जिल्लामा आइतबारसम्म ६ हजार आठ सय १८ स्वाब संकलन भएकोमा पाँच सय ९५ जनाको रिपोर्ट आउन बाँकी छ ।

यस्तै, १० हजार चार सय आठ आरटिडी गरिएकोमा एक हजार तीन सय ७५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । क्वारेन्टिनमा पनि अब एक हजार ५५ जना मात्र छन् । महाराजगन्ज नगरपालिका मेयर अब्दुल कलाम खाले नयाँ निर्देशिका जारी गरी सरकारले नै हात उठाएपछि आफूहरूले मात्र के नै गर्न ने गुनासो गरे । ‘सरकारले हामीलाई भिटिएम किटसमेत दिन नसकेपछि आफैं किनेर स्वाब संकलन ग¥यौं, तर एक महिनासम्म पनि रिपार्ट नआउँदा झनै समस्या झेल्नुपरेको छ,’ उनले भने । बिना परीक्षण संक्रमितहरूलाई घर जान दिएर गलत गरिएको भन्दै यो निर्णयले संक्रमण थप फैलन सक्ने खतरा रहेको बताए ।

‘हामीले जसोतसो क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन गरेका छौं तर सरकारले नै जनताको स्वास्थ्यसँग खेलवाड गरेको छ,’ उनले भने । नयाँ निर्देशिकाअनुसार बिरामीलाई छाडिए अबको दुई साताभित्र आइसोलेसन पूरै खाली हुने देखिएको छ । जिल्लाका पालिकाहरूमा सात सय ९४ आइसोलेसन बेड रहेको छ ।

प्रकाशित: १ असार २०७७ ००:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App