१५ चैत्र २०८० बिहीबार
समाज

आरडिटी गराउँदै घर पठाउँदै

घोराही उपमहानगरपालिका–७ का भीमबहादुर भण्डारी (नाम परिवर्तन) दुई साताअघि भारतबाट दाङ आए। क्वारेन्टिनमा बस्नैपर्ने सत रहेकाले उनी आफ्नै वडास्थित मावि सौंडियारमा सञ्चालित क्वारेन्टिनमा पुगे। त्यहाँ व्याप्त असुविधाका कारण उनी आजित बनिसकेका थिए। तैपनि कोरोना जाँचको पर्र्खाइमा जेनतेन अप्ठ्यारोको सामना गरिरहे। ‘न पानीको सुविधा न त खानाकै,’ उनकी पत्नी मालती (नाम परिवर्तन) ले भनिन्, ‘खाना मात्र होइन, शौचालय जान पानीसमेत घरबाटै बोकिदियौं।’

क्वारेन्टिनमा बसेको १२ दिन भइसक्दा पनि भीमबहादुरको कोरोना परीक्षण भएन। १३औं दिनमा बल्ल आरडिटी भयो। उक्त परीक्षणमा भीमबहादुरलगायत १३ जनाको रिपोर्ट नेगेटिभ आयो। घोराही–७ को कार्यालयले यही परीक्षणलाई आधिकारीक मान्यो अनि घर जान भन्यो। तर परिवारले पिसिआर विधीबाट परीक्षण नहुँदासम्म घर नलैजाने अडान लियो।

‘आरडिटी टेस्टको रिजल्ट यसअघि पनि उल्टोउल्टो आएको भन्ने सुनेकै हो, त्यसैले हामीले यो रिपोर्टलाई नमान्ने भनेर अडान लियौं,’ मालतीले भनिन्, ‘तर उहाँहरूले घर नगए अरू सातजना भारतबाट आउन लागेको र उनीहरूलाई सँगै राख्ने भनेर चेतावनी दिनुभयो।’ भारतबाट आउन थालेका ६ जनासँगै बसाल्ने चेतावनीपछि मालतीलाई कोरोनाको झनै त्रास बढ्यो। ‘६ जना आउन लागेको भए उनीहरूसँग बस्दा कोरोना सर्ने पो हो कि भनेर जे होला भनेर घर लिएर आयौं,’ मालतीले भनिन्।

पतिलाई कोरोना संक्रमण छ कि छैन भनी मालती यकिन हुन सकेकी छैनन्। कारण, आरडिटी परीक्षणको उनलाई विश्वासै छैन। अझ शंकाको कुरा, मालतीका पति भीमबहादुरसँगै आएका दाङका चारजनामा कोरोना पुष्टि भइसकेको छ। तर भीमबहादुरको भने दुई सातासम्म पनि पिसिआर विधिबाट परीक्षण भएको छैन। भयो त भरपर्दो नमानिएको परीक्षण विधि आरडिटी। ‘मेरा पतिसँगै आएका चारजनालाई कोरोना संक्रमण देखिइसक्यो, उहाँलाई पिसिआर परीक्षणबिनै कोरोना छैन भन्नेमा कसरी विश्वास गरुँ ?’ मालतीले भनिन्।

वडा कार्यालयको जबर्जस्तीका कारण पतिलाई घर पु¥याएकी मालतीले पतिलाई घरमा त राखिन् तर आफू भने घरबाट निक्लिन्। ‘मान्छे पो आफ्नो हो, रोग आफ्नो कहाँ हुन्छ र ?’ उनले भनिन्, ‘पतिलाई घरमा राखेर म आफ्नो मान्छेको घरमा बस्न आएकी छु।’ मालतीका पति भीमवहादुरसहित तीन दाजुभाइ सँगै भारतबाट आएका थिए। उनीहरूको घर सल्लाहबमोजिम उनीहरू तीनैजनालाई एकै घरमा राखिएको छ। ‘ग्याँस, चामल तरकारी सबै चिज किनेर घरमा राखिदिएँ अनि म घरबाट निस्किएँ,’ मालतीले भनिन्, ‘पिसिआर परीक्षण नहुँदै कसरी नजिक पर्नु ?’

आरडिटी विधिबाटै गरिएको परीक्षणका क्रममा कोरोना रिपोर्ट नेगेटिभ आएपछि जबर्जस्ती क्वारेन्टिनबाट वडा कार्यालयले घर फिर्ता गरेपछि घोराही–७ की मालतीलाई मात्रै होइन, १३ जनाको परिवार त्रसित बनेको छ। पिसिआर विधिबाट परीक्षणै नगरी घर फर्काइएपछि कोरोना भए÷नभएको यकिन परिवारका अन्य सदस्यहरूलाई हुन सकेको छैन। सोही वडास्थित सौंडियारका स्थानीय एवं सौंडियार स्वास्थ्य चौकीका सदस्य केशव केसीले आरडिटी विधिबाट गरिएको परीक्षण विश्वासिलो नभएको भन्दै स्थानीयलाई झनै सशंकित बनाएको बताए। ‘आरडिटी विधि राम्रो हो भनेर नेगेटिभ रिपोर्ट आएकालाई घर पठाइएको छ तर परिवारमा सन्त्रास छाएको छ,’ उनले भने, ‘कतिपय घरपरिवारसँगै बस्दा संक्रमण हुन सक्ने डरले गोठमा बसिरहेको अवस्था छ।’

यता घोराही–७ का वडाध्यक्ष खोपीराम चौधरीले भने घोराही उपमहानगरको नगर स्वास्थ्य शाखाको सर्कुलेसनका आधारमा आरडिटी गरेर घर पठाइएको बताए। ‘१२ दिन क्वारेन्टिनमा बसिसकेकालाई आरडिटी गरेर नेगेटिभ रिपोर्ट आएको खण्डमा घर पठाउँदा हुन्छ भनेर नगर स्वास्थ्यले भनेको थियो,’ वडाध्यक्ष चौधरीले भने, ‘यसैका आधारमा आरडिटी गर्दा नेगटिभ देखिएकालाई घर पठाइदिएका हौं।’

नगर स्वास्थ्यको यही सर्कुलेसनका आधारमा अन्य केही वडाले भने आरडिटीलाई आधिकारिक मान्दै धमाधम घर फर्काउन थालेका छन्। घोराही–१७ ले पनि १७ जनालाई आरडिटी परीक्षणमा आएको नेगेटिभ रिपोर्टकै आधारमा क्वारेन्टिनबाट घर फिर्ता गरेको छ। तर क्वारेन्टिनमा बसेकाहरूको इच्छाअनुसार घर पठाइएको भन्दै वडाध्यक्ष खुसीराम चौधरीले घर जानैपर्छ भनेर दबाब नदिएको बताए। ‘आरडिटीका क्रममा नेगेटिभ रिपोर्ट आएका १७ जनालाई घर पठायौं,’ वडाध्यक्ष चौधरीले भने, ‘तर हामीले घर जानैपर्छ भनेर पठाएका भने होइनौं, घरमै सुरक्षित रूपमा बस्ने उहाँहरूको सर्तबमोजिम उहाँहरूकै इच्छाअनुसार पठाइएको हो।’

तर आरडिटी परीक्षणको विश्वास नरहेको भन्दै यो परीक्षणका आधारमा क्वारेन्टिनमा बसेकाहरूलाई घर नपठाउने अडानमा केही वडा छन्। घोराही–१५ ले भने आफ्नो क्षेत्रमा रहेको क्वारेन्टिनमा रहेका कसैको पनि आरडिटी गराएको छैन। ‘रुकुममा आरडिटी रिपोर्ट नेगेटिभ आएका तीनजनालाई पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो,’ वडा १५ का अध्यक्ष रमेशकुमार पाण्डेले भने, ‘जसको रत्तिभर विश्वास गर्ने अवस्था छैन, त्यो परीक्षणको रिपोर्टलाई आधार मानेर कसैको जीवनमाथि खेलवाड गर्न हामी सक्दैनौं।’

प्रकाशित: २३ जेष्ठ २०७७ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App