१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चौरजहारी घटना: मृतक सबैको टाउकोमा चोट

प्रेम विवाहका लागि केटी लिन आउँदा भएको घटनामा बेपत्ता भएका ६ जनामध्ये पाँच जनाको शव फेला परेको छ। भेरी नदीमा फेला परेको पाँचै जना मृतकको टाउकोमा चोट देखिएको प्रहरीले जानकारी दिएको छ। फेला परेका पाँच जना मृतकको टाउकोमा मात्रै चोट लागेको इलाका प्रहरी कार्यालय चौरजहारीका इन्चार्ज प्रहरी निरीक्षक धर्मसिंह बिष्टले जानकारी दिए।  

नवराज विक प्रेम विवाहका लागि केटी लैजान लागि आफन्तलाई साथमा ल्याएर जेठ १० गते चौरजहारी आएका थिए। केटी लैजान नपाउँदै स्थानीयले लखेटेपछि ६ जना भेरी नदीमा बेपत्ता भएका थिए। बेपत्ताको खोजी र उद्धारमा खटिएका प्रहरीले फेला परेका सबै शवको टाउकोमा चोट रहेको बताएका छन्।  

जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार तथा सञ्जु विक र चौरजहारीका टीकाराम सुनारको शव फेला परेको छ। मृतक सबै शवको टाउको कुच्चिएको र अण्डकोष सुनिएको अवस्थामा फेला परेको उनले बताए। भेरी नदीमा हामफाल्ने भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन्।  

अहिलेसम्म फेला परेका सबै शवमा टाउकोमा ढुंगा प्रहार गरेको चोट लागेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोर श्रेष्ठले बताए। तर के कारणले मृत्यु भएको हो भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै पुष्टि हुने उनले बताए। ‘अहिले हेर्दा टाउकोमा चोट देखिन्छ,’ उनले भने, ‘मृत्युको कारण अस्पतालबाट रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ, अहिले नै भन्ने सकिँदैन।’ अस्पतालले शुक्रबार साँझसम्म कसैको पनि पोस्र्टमार्टम रिपोर्ट प्रहरीलाई दिएको छैन।

‘नदीमा पौडी खेलिरहेको बेला माथिबाट ढुंगा वर्षाउँदा चोट लागेको हुनसक्छ। सँगै गएका साथीको बयानका आधारमा पनि नदीमा हाम फालिसकेपछि पनि ढुंगा प्रहार भइरहेको थियो भन्ने आएको छ, ’ डिएसपी श्रेष्ठले भने, ‘लासको प्रकृति हेर्दा कुटपिट र ढुंगा प्रहार भएको देखिन्छ।’  

चौरजहारीकी सुष्मा मल्लसँग प्रेम सम्बन्धमा रहेका नवराज बिहेका लागि केटी लिन साथीसहित आएका थिए। केटीको घर नपुग्दै आफूहरूमाथि आक्रमण भएको नवराजसँगै आएका दीपक विकले जानकारी दिए। स्थानीयले घेराबन्दी गरेर आक्रमण तथा कुटपिट गर्नुका साथै कतिपयलाई नदीमा होमिन बाध्य बनाइएको उनको आरोप छ।

पीडित पक्षले चौरजहारीका वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २० जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्। पीडितहरूको जाहेरीका आधारमा वडाध्यक्ष मल्लसहित, प्रेम विवाह गर्ने तयारीमा रहेकी सुष्मा, उनका बुबा–आमालगायत १८ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए।

छानबिन समिति घटनास्थलमा  

सरकारद्वारा गृहमन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समिति घटनास्थल तथा जाजरकोट पीडित परिवारको घर पुगेर काम सुरु गरेको छ। बिहीबार साँझ घटनास्थल पुगे पनि शुक्रबार बिहानदेखि काम सुरु गरेको समितिका संयोजक बस्नेतले जानकारी दिए।  

उनका अनुसार नवराजलगायत सबै मृतकको घरमा पुगेर त्यहाँको अवस्था र पीडितको भनाइ बारे जानकारी लिइनेछ। ‘हामीले काम सुरु गरेका छौं,’ समितिका संयोजक बस्नेतले भने, ‘चौरजहारी घटनामा संलग्न सबै पक्षलाई भेट्छौं, घटनाको वास्तविकताबारे पहिचान गर्नेछौं।’

यसैबीच, चौरजहारी घटनामा मृत्यु भएका जाजरकोटका चार युवाको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ। नवराजसहित जाजरकोटका चार जनाको परिवारलाई नेपाली कांग्रेसका नेता एवम पूर्वसांसद राजीवविक्रम शाहले २५ हजार रुपैयाँका दरले राहत सहयोग गरेका छन्।

पीडित परिवारलाई थोरै भए पनि किरिया खर्चमा राहत पुगोस् भन्ने उद्देश्यले आफूले उक्त सहयोग गरेको नेता शाहले बताए। चौरजहारी घटना जघन्य अपराध भएकाले दोषीलाई हदैसम्मको सजाय तथा पीडित परिवारलाई न्याय दिलाउन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: १७ जेष्ठ २०७७ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App