३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

जनप्रतिनिधि र कर्मचारी दुवै अदालत गएपछि गाउँपालिकामा भद्रगोल

रौतहटको यमुनामाई गाउँपालिकाको प्रशासनिक काम भद्रगोल भएको छ । कार्यालय प्रमुख कसलाई राख्ने भन्ने विषयमा भएको विवादले गाउँपालिका नै अन्योलमा परेको छ ।  

गाउँपालिकाको कार्यालयमा दुई जना कार्यालय प्रमुखले हाजिरी गरी कामकाज गरिरहेको बताएका छन् । एकै समयमा दुई कार्यालय प्रमुख हुँदा प्रशासनिक काममा झन् अन्योल भएको हो ।  

गत कात्तिकदेखि यमुनामाई गाउँपालिकामा कार्यालय प्रमुख लगातार फेरिएको देखिएको छ । कात्तिक २७ मा कार्यालयमा तृतीय श्रेणीका शाखा अधिकृत वकिल प्रसाद पाल हाजिर भई कामकाज सम्हालेको डेढ महिनापछि रामश्रेष्ठ राय यादवलाई कार्यालय प्रमुख बनाइएको देखिएको छ ।  

यसपछि पाललाई हटाएर यादवलाई कार्यालय प्रमुख बनाउन पुस ९ मा गर्ने सहमति दिइएको थियो जुन चलानीको कारण विवादास्पद बनेको छ । कार्यालयको दर्ता पुस्तिकामा एउटै चलानी नम्बरमा दुई पत्र चलानी भएको देखिएको सार्वजनिक भएपछि विवाद छताछुल्ल भएको हो ।  

यादवलाई सरुवा सहमति दिइएको भनी चलानी गरिएको पत्रको चलानी नम्बरमा कार्यालयको अर्कै पत्र चलानी गरिएको पाइएको छ । सोही चलानीको आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ४ मा निर्वाचन आचार संहिता लागू भएकै दिन यादवलाई गाउँपालिकाको प्रशासनिक तथा आर्थिक कारोबार हेर्ने गरी कार्यालय प्रमुख बनाइएको र पाललाई बारा जिल्ला समन्वय समितिमा सरुवा गरिएको थियो ।  

आफूलाई समय नपुग्दै निजामती ऐन तथा नियमावली विपरीत सरुवा गरिएको भन्दै पालले प्रशासनिक अदालत सिंहदरबारमा माघ ११ मा उजुरी गरेपछि सोही दिन अल्पकालीन आदेश गरेको छ । आदेशमा सामान्य प्रशासन मन्त्रालयको माघ ४ को पत्र कार्यान्वयन नगर्न तथा माघ १८ का दिन छलफलका लागि दुवै पक्षलाई बोलाइएको हो ।  

माघ ४ को मन्त्रालयको पत्रलाई कार्यान्वयन नगर्न अल्पकालीन आदेश आएपछि पालले आफू कार्यालय प्रमुख रहेको भन्दै छुट्टै रजिस्टरमा हाजिरी गरी कामकाज गरिरहेको बताउँछन् ।  

यसै गरी रामश्रेष्ठ यादवले पनि आफू नै कार्यालय प्रमुख रहेको भनी पालिकाको कामकाज सम्हालिरहेको बताउँछन् ।

प्रकाशित: १६ माघ २०८२ १५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App