१५ चैत्र २०८० बिहीबार
समाज

सामाजिक घटनामा राजनीतिक रंग, जनप्रतिनिधि नै विभाजित

प्रेम सम्बन्धमा बाँधिएका जाजरकोट भेरी–४, रानागाउँका नवराज बिक र रुकुम पश्चिम चौरजहारी–८, सोतिकी सुष्मा मल्ल विवाहमा बाँधिने निर्णयमा पुग्छन्। दुवैको सल्लाहअनुसार शनिबार नवराज खुसीसाथ सुष्माको घर पुगे। जब सुष्मालाई लिन खोज्छन् अनि वीरबहादुर (बुवा), प्रकाशी (आमा) सहित वडाध्यक्ष डम्बरबहादुर मल्लसहित गाउँले नै नवराज र उनका साथीमाथि जाइ लाग्छ।

ढुंगामुडासहित गाउँले कुटपिटमा उत्रिएपछि नवराजसँगै गएका अरु १८ जनामा भेरी नदी जाजरकोटको भागतिर) कुद्छन्। उनीहरूलाई लाग्छ नदी तरेपछि हामी बाँच्छौं। नवराजसहित केही बाटोमै गाउँको कुटाइमा पर्छन्। जब नदी भटिन्छ तब भागेकाको पाइला रोकिन्छ। नदी हाम फालौँ भने रातको समय नभागौँ भने नदीमा हाम फाल्नुको विकल्प छैन।

 किनकी गाउँले नदीसम्मै तीनतिरबाट घेरा हालिसकेका छन्। चारैतिरबाट गाउँलेको ढुंगा बर्सिन थालेपछि ज्यान जोगाउन भेरी नदी हाम फाल्नु बाध्यता थियो। भेरी नजिँदै भएका नवराजलाई गाउँलेको हुलले निर्मम कुटपिट गरे। अनि नवराज भेरीमा हाम फाल्न बाध्य भए। अन्ततः उनको सुष्मालाई पाउने चाह सधैंका लागि समाप्ति भयो। उनी भेरीसँगे बगे। नदी तरेकालाई पनि गाउँलेले अर्को बाटो गएर कुटे।

‘भेरीमा हाम फाल्दा बाँचिने आसले नवराजसहितले हाम फालेका होलान,’ नवराजका बुवा मोहन भन्छन्, ‘कुटाइबाट घाइते भएका विचरा तैरन सकेनन्। पानीसँगै आफू पनि बगे।’ जसमा चारजनाको शव भेटिएको छ भने दुईजना अझै बेपत्ता छन्। 

नवराज, उनका साथी टिकाराम बिक र गणेश बुढाको शव यसअघि भेटिसकेको छ। बुधबार मात्रै लोकेन्द्र सुनारको शव भेटिएको छ। उनी डोरीले बाँधिएको अवस्थामा भेटिएका छन्। डोरीले बाँधिएर भेरी नदीमा फालिएको हो या होइन त्यो भोलि अनुसन्धानले खुलाउला तर, कुटपिटपछि बाँधेर फालिएको हो भन्ने शंका गर्ने ठाउँ प्रशस्त देखिन्छ।

नवराजसहितका युवा सुष्माको घरमा नितान्त बिहेको लागि पुगेका थिए। उनीहरूलाई लकडाउन उल्लंघन गरेर बहादुरी देखाउनु नभएको भन्दै नवराजका बुवा मोहनले भने, ‘दुलही लिन मात्र गएका हुन्।’ त्यहाँ उनीहरूलाई डुमजस्ता शब्दले गालीगलौज गर्दै लखेटियो। अन्तरजातीय विवाह स्वीकार्न नसक्दा बर्बर हत्यासम्म घटना पुग्यो। यो सामाजिक घटना अहिले राजनीतिमा मोडिन थालेको छ। 

जसले रुकुम पश्चिमको दलित समुदाय र जाजरकोटको सिंगो बासिन्दा आक्रोशित बनेको छ। यहाँका जनप्रतिनिधि नै विभाजित हुन थालेका छन्। त्यति क्रुर अपराधलाई सांसदहरू अपव्याख्यामा लागेको मृतक परिवार बताउँछन्। रुकुम पश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले घटनालाई तोडमोड गर्न खोजेको भन्दै प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले विरोध जनाएका थिए। 

संसद्मा सांसद शर्माले लकडाउन उल्लंघन गरे नवराजसहितका युवाहरू गएपछि गाउँले र उनीहरूबीच झडप भएको बताएका थिए। ‘केटीकी आमा प्रकाशीले गाउँलेसँग गुहार मागेपछि दुवै पक्षबीच झडप भयो,’ उनले भने, ‘त्यहाँ तत्काल वडाध्यक्ष डम्बरबहादुर मल्लले प्रहरीलाई खबर गर्नुभएको छ। प्रहरी पनि पुगेको छ।

’झडपपछि ११ जना युवाले नदीमा हाम फालेको र पाँचजना तैरिन सफल भएको उनले सदनलाई जानकारी गराएका थिए। छुवाछुतसँग सम्बन्धित घटनामा राजनीतिकरण हुँदैनभन्दा संसद्मा होहल्ला भएको थियो। सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको छ। घटना एउटा र परिस्थितिलाई देखाएर हत्यालाई ढाकछोप गर्न थालेको भन्दै सामाजिक सञ्जालमा आलोचना गरिएको छ।

चारजनाको ज्यान जानु र दुईजना बेपत्ता हुनुका अगाडि अन्य विषय सहायक हुने वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले बताए। ‘भीड नियन्त्रण व्यक्तिले गर्ने होइन,’ उनले भने, ‘त्यसको प्रक्रिया, विधि छ। जिम्मेवारीपूर्ण ढंगले प्रहरी समक्ष बुझाउनु पथ्र्याे।’ मान्छेको ज्याननै गइसकेकाले त्यो नै मूल कुरा हुने उनको भनाइ छ। ‘घटनाका विषयमा छानबिन हुँदैछ। त्यहाँबाट आउँला सत्यतथ्य कुरा,’ उनी भन्छन्, ‘अहिले यो कारण ऊ कारणभन्दा प्रमुख कुरा कुन हो त्यसमा जानु पर्छ।’ जाजरकोटका सांसदसमेत रहेका बस्नेतले विवाहसँग सम्बन्धित भएर घटना घटेको बताए।  

रुकुम पश्चिमबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद गोपाल शर्माले पनि कर्णाली प्रदेशसभाको बैठकमा लकडाउनबाट उत्तेजित वातावरणले घटना निम्त्याएको बताएका थिए। सांसद शर्माले घटनामा प्रेम प्रसंगमात्र जोडिएकाले त्यति मात्र घटनाको कारक नभएको बताए। उनले एउटा स्थानीय रेडियोलाई अन्तर्वार्ता दिँदै भनेको छन्, ‘यो राजनीतिकरण हाम्ले होइन। कांग्रेसप्रति लक्षित गर्दै हिजो संसद्मा बोल्न नदिनेले राजनीति गर्दै छन्। यसको निष्पक्ष छानबिन हुनुपर्छ।

’ सांसद गोपालको उक्त भनाइले घटना यथार्तभन्दा फरक भएको भन्दै दलित अधिकारकर्मीहरूले आक्रोश व्यक्त गरेका छन्। जातीय अंहकार र अपराधिक सोंचको प्रतिबिम्बित घटना भएकाले यसलाई निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न पीडित परिवारको भनाइ छ। रुकुम पश्चिमका सांसद रातो कामीले भने रुकुम पश्चिमका सांसद जनार्दन र गोपालको ठीक उल्टो तर्क गर्छन।

 पहिला प्रेम प्रसंग र पछि विवाहमा बाँधिन खोज्ना जातीय विभेदका कारण सामूहिक हत्या भएको बताए। यसले पनि पुष्टि गर्छ, ‘रुकुम पश्चिमका सांसद यो घटनामा एक ठाउँमा छैनन्।’ जाजरकोट र रुकुम पश्चिमका सांसदको पनि घटनाप्रतिको बझाइ फरक फरक छ। शुसासन र सूव्यवस्थित, समतामूलक समाज निर्माण गर्ने ध्येका साथ अगाडि बढिरहेको अवस्थामा ‘सामन्ती ब्राह्मणवादी राज्य व्यवस्था, निरंकुश राजतन्त्र हुँदा त्यसले पालितपोसित व्यक्तिहरू सांस्कृति समस्यामा देखा परिरहेको उनले बताए। 

जाजरकोटकी प्रदेशसभा सदस्य कृष्णा शाहले आधुनिक मानव जातिमा आइपुग्दा पनि यस्ता घटना घट्नु दुःखद् भएको बताइन्। ‘मान्छेभित्रैबाट बदलिने कहिले होला,’ उनले प्रश्न गरिन्। यता दलित अधिकारकर्मीहरू घटनालाई तोडमोड गर्न थालिएको बताएका छन्। ‘जातकै कारण जघन्य अपराध भयो,’ दलित अधिकारकर्मी तथा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गणेश चिन्तनले भने, ‘घटनालाई राजनीतिक रङ दिन थालिएको छ।

’यो सिंगो दलित समुदाय र कानुनी राज्यप्रतिको दमन हुने जाजरकोटकी दलित अधिकारकर्मी पार्वती बिके बताउँछिन्। लकडाउन घटनापछि सिर्जित बहाना बनाइएकाले घटनालाई अपव्याख्या गर्न नहुने रुकुम पश्चिमका दलित अधिकारकर्मी यज्ञ परियारले बताए। राजनीतिकरण गरेर यो घटना ओझेलमा पार्न नहुने उनको भनाइ छ।

मृतक नवराजका बुवा मुनलाल पनि घटनाले राजनीति मोड लिन थाल्दा न्याय पाउनेमा त्यति ढुक्क छैनन्। ‘हजुरलाई न्याय पाउँछु जस्तो लाग्छ ?,’ नागरिकको प्रश्नमा उनले भने, ‘खै ! पाइएला जस्तो लाग्छ। तर घटना मोडियो भने त गाह्रो पर्ला।’ घटनाले राजनीतिक मोड लिने कुरामा उनी चिन्तित छन्। जातीयसँगै जघन्य अपराध जोडिएका राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका प्रमुख रमेशकुमार थापाले बताए। ‘अपराधसँगै जातीय घटना पनि घटेको छ,’ उनले भने, ‘घटनाको छानबिन गर्ने काम प्रहरीको हो। हामी प्रहरीलाई सघाउँछौं।’

कारबाहीको माग गर्दै दलित सांसद

रुकुम पश्चिमको चौरजहारीमा जातीय विभेदका कारण जाजरकोटका दुईजनाको हत्या भएको घटना कर्णाली प्रदेशसभामा प्रवेश गरेको। छैटौ अधिवेशनको दोस्रो बैठकमा विशेष समय लिँदै सांसदहरूले उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन्।

‘कथित माथिल्लो जातकी केटीसँग प्रेम सम्बन्ध गासेकै आधारमा कसैको हत्या हुनु दण्डनिय हो,’ सांसद सीता नेपालीले भनिन्, ‘यो घटनामा राजनीतिक रङ नलगाइ छानबिन हुनुपर्छ।’ यो घटना कोरोनाभन्दा कडा जातीय भाइरस भएको भन्दै सांसद दानसिंह परियारले बताए। सांसद राजु नेपालीले उक्त घटनाको भ्रत्सना गरिन्।

६ बुँदे माग राख्दै आमरण अनसन

रुकुम पश्चिममा भएको घटनालाई लिएर राष्ट्रिय दलित पत्रकार संघ नेपालका कर्णाली प्रदेश अध्यक्ष खगेन्द्र सुनार मंगलबारदेखि ६ बुँदे माग राख्दै आमरण अनसनमा बसेका छन्। अन्तरजातीय विवाहको निहुँमा सुनियोजित ढंगबाट हत्या गरिएको भन्दै उनी जिल्ला प्रशासन कार्यालय जाजरकोट अगाडि अनसनमा बसेका हुन्।

आफ्ना माग पूरा नभएसम्म अनसन नतोड्ने सुनारको भनाइ छ। पीडितले न्याय पाउनु पर्ने, बेपत्ताको खोजी, घाइतेको उपचार, मृतकलाई सहिद घोषणा, पीडकलाई हदैसम्मको कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति र सहिद घोषणा गरिपछि सहिदका नाममा सालिक निर्माण गर्नुपर्ने उनले माग राखेका छन्।

प्रदेशसभाको सरकारका नाममा ‘रुलिङ’

रुकुम पश्चिमस्थित चौरजहारी–८ सोतिमा भएको घटनाका विषयमा कर्णाली प्रदेशसभाले संघीय सरकारलाई कानुन बमोजिम आवश्यक अनुसन्धान अभियोजन गर्न उचित पहल गर्न गराउने वातावरण गराउन कर्णाली प्रदेश सरकारका नाममा ‘रुलिङ’ गरेको छ। संविधान, प्रचलित कानुन र प्रदेशको क्षेत्राधिकारअनुसार प्रदेश सरकारका नाममा रुलिङ गरिएको हो। प्रत्येक नागरिकलाई विधिको शासन, मानवअधिकार र सामाजिक न्यायको प्रत्याभूत गरिएको सभ्य समाजमा देखा परेको घटनाले स्तब्ध बनाएको कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले बताए। कर्णाली प्रदेशको छैटौँ अधिवेशनको दोस्रो बैठकमा सांसदहरूले रुकुम पश्चिमस्थित चौरजहारी घटना छानबिनमा प्रदेश सरकारले उदासिनता देखाएको बताएका थिए।

प्रकाशित: १४ जेष्ठ २०७७ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App