उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा आफ्नो पार्टीले ४० भन्दा बढी सिट जित्ने दाबी गरेका छन्।
मंगलबार पार्टीको एक कार्यक्रमलाई सम्बोधन गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
निर्वाचनमा पार्टीको नतिजा कस्तो आउँछ भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘हामी धेरै सिट ल्याउँछौँ, ४० भन्दा बढी सिट ल्याउँछौं।’
अध्यक्ष घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भविष्यमा सहकार्य हुन सक्ने संकेत समेत गरे। अहिले आफ्नो पार्टी एक्लै अघि बढिरहेको भए पनि भोलिका दिनमा रास्वपासँग सहकार्यको सम्भावनाबारे सोधिएको प्रश्नमा उनले राजनीतिमा सबैसँग सहकार्यको ढोका खुला रहने बताए।
‘सहकार्य सबैसँग हुन सक्छ, रास्वपासँग पनि हुन सक्छ, त्यो बाटो खुला छ,’ घिसिङले भने, ‘राजनीतिमा कोही दुश्मन हुँदैनन्, यहाँ सबै कुरा सम्भव हुन्छ।’
सामाजिक सञ्जालको क्रेज र अरूको देखासिखीमा पार्टी नखोलेको बताउँदै उनले भने, ‘हामी अरूको क्रेजको कुरा गर्दैनौं, हामी आफ्नै प्रचारमा केन्द्रित छौँ। हामी सामाजिक सञ्जाल चलाएर मात्र आएका होइनौं।’
प्रधानमन्त्री बन्ने लक्ष्यसहित राजनीतिमा आएका घिसिङले बहुमतका लागि जनताले साथ दिने विश्वास समेत व्यक्त गरे।
प्रकाशित: १३ माघ २०८२ १९:०० मंगलबार





