१६ चैत्र २०८० शुक्रबार
समाज

समाजले केटाको जिम्मा लगाएको केही घन्टामै किशोरीको शव

गत जेठ ९ गते राति रुपन्देही देवदहकी १५ वर्षीया दलित थरकी किशोरीलाई सोही ठाउँका २२ वर्षीय वीरेन्द्र भरसँग घरनजिकै रहेको एकान्त ठाउँमा एकसाथ स्थानीयले देखे। एकान्त ठाउँमा एकसाथ भेटिएको भन्दै भोलिपल्ट जेठ १० गते वडा नं ११ का वडाअध्यक्ष अमरबहादुर चौधरीसहित समाजका अगुवाको छलफल भयो। छलफलमा वीरेन्द्रलाई कारबाही गर्नुको सट्टा किशोरीलाई उल्टो लज्जित बनाए। कथित तल्लो जातकी पासी परिवारलाई समाजका अगुवा भन्नेहरुले बोल्न दिएनन्।  

किशोरीका परिवारले छोरीको विचल्ली हुने भन्दै केटालाई छुट दिन नहुने बताएपछि वडाध्यक्षसमेत संलग्न उक्त छलफलले किशोरीलाई केटाको जिम्मा लगाउने निर्णय ग¥यो। कथित उपल्लो जातका वीरेन्द्रले किशोरीलाई घर त लगे तर तल्लो जातको केटी घर ल्याएको भन्दै केटाका आमा जाई लागिन। त्यसको केही घन्टामै किशोरीको खोला किनारमा शव भेट्टियो।  

‘छोरीलाई जबरजस्ती समाजले उपल्लो जातको केटासँग पठाइदिए, आज मेरी छोरीको हत्या भयो,’ किशोरीकी आमा शान्तिले भनिन्। शनिबार दिउँसो देवदह–२ पेटवनिया रोहिणी खोला किनार रूखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दीपक महतले बताए।  

शरीरको माथिल्लो भागमा लगाएको कपडा च्यातिएको, भित्री वस्त्र देखिएको र चप्पलसमेत नलगाएको अवस्थामा उनको शव फेला परेको प्रहरीले बताएको छ। घटनाको प्रकृति र छोरीमाथि गरिएको दुव्र्यहारले आत्महत्या नभई हत्या भएको आमा शान्तिको जिकिर छ।  

‘समाजका अगुवाहरुले नाबालिका छोरीलाई जबरजस्ती केटाको जिम्मा लगाएर पठाए, आज मेरो छोरी गुमाउनुप¥यो’ शान्तिले भनिन्। जबरजस्ती करणी गरेको केटालाई समाजले बचाएको र उल्टै आफ्नो छोरीको हत्या गर्दा पनि न्याय नपाएको मृतक पासीका ठूलोबुवा वलिरामको भनाइ छ।  

समाज बसेर उमेर नै नपुगेकी छोरीलाई अर्काको जिम्मा लगाउनु समाजको गम्भिर गल्ती भएको उनको आरोप छ। किसोरीको उमेर १५ वर्ष भनिए पनि जन्मदर्ताअनुसार उनी १३ वर्षकी मात्रै भईन। वडाअध्यक्ष र समाजका अगुवाहरुले नबालिकालाई विवाह गराइदिदा यस्तो दुर्घटना भोग्नुपरेको परिवारले बताउँदै आएका छन्।  

देवदह वडा न. ११ का वडाअध्यक्ष अमरबहादुर चौधरीले छलफल भएको स्वीकार गर्दै केटाको जिम्मा लगाउने बेलामा भने आफू सहभागी नरहेको दावी गरे। ‘उमेर नै नपुगेकाले केटाको जिम्मा लगाउन हुन्न भनेर भनेको हुँ, तर मैलै जिम्मा लगाएको होइन,’ उनले भने।  

पीडित परिवारले हत्या भएको दावी गर्दै न्यायको माग गरेपनि प्रहरीले भने घटनालाई गम्भीर रूपमा लिएको छैन। वीरेन्द्र भर र उनका परिवारका कारण घटना भए पनि प्रहरीले भने ती परिवारलाई अनुसन्धानमा समेत ल्याएको छैन। यसले परिवारलाई झनै शंसकित बनाएको छ।  

सोमबार इलाका प्रहरी कार्यालयमा हत्याको आरोपमा मुद्दा दर्ता गर्न खोजे पनि प्रहरीले मानेन। इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रतीक सिंह राठौरले झुन्डिएको अवस्थामा शव भेटिएकाले पोष्टमार्टम रिर्पोट आएपछि मात्रै अन्य कारबाही अघि बढाइने जानकारी दिए।  

प्रकाशित: १३ जेष्ठ २०७७ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App