२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

भारतबाट एकैदिन १७ सय जना कर्णाली भित्रिए

कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबईमा भारतबाट आएका नागरिकको आरडिटी जाँच गर्दै स्वास्थ्यकर्मी । नगेन्द्र उपाध्याय/नागरिक

कर्णाली प्रदेशमा बिहीबार एकैदिन भारतबाट आएका करिव १७ सय नागरिक भित्रिएका छन् । सुर्खेत, दैलेख, सल्यान, कालीकोट, जाजरकोट र जुम्लाका गरेर एक हजार ६ सय ६९ जना भित्रिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । बिहान आएकामध्ये दैलेखका सात सय २७ र सल्यानका तीन सय ५१ जना सम्बन्धित जिल्लामा पुर्याइएको छ भने बाँकी जिल्लाकालाई सदरमुकाम वीरेन्द्रनगर ल्याइएको छ ।  

कर्णालीको मुख्य प्रवेशद्वार भेरीगंगामै क्वारेन्टिन र स्क्रिनिङ सेन्टर स्थापना गरेर भारतबाट आएका नागरिकहरूको चेकजाँच गर्ने निर्णय गरेको प्रदेश सरकारले सम्बन्धित स्थानीय तहको विरोधपछि भारतबाट आएका नागरिकलाई वीरेन्द्रनगर ल्याएको हो । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले दैलेख र सल्यानका नागरिकलाई सम्बन्धित जिल्लामै  आरडिटी गर्ने गरेर पठाइएको जानकारी दिए । ‘बाँकी जिल्लाका नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगर ल्याएका छौं,’ उनले भने, ‘यहीँ आरडिटी चेकजाँच गर्नुका साथै १४ दिनसम्म क्वारेन्टिनमा राखेर सम्बन्धित पालिकामा पठाउँछौं ।’

डा. तिवारीका अनुसार सल्यानका नागरिकलाई दैलेखको प्रवेशद्वार गुराँसेमा आरडिटी चेक गरिनेछ भने सल्यानका नागरिकलाई प्रदेश सरकारले स्थापना गरेको मेडिकल मार्चमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीले जाँच गर्नेछन् । आरडिटी रिपोर्टका आधारमा सम्बन्धित पालिकामा पठाएर १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

भारतमा रेल सेवा सुरु भएसँगै कामका लागि त्यहाँ रहेका नेपाली नागरिक स्वदेश फर्कनेक्रम सुरु भएको छ । पछिल्लो चार दिनको अवधिमा २५ सयभन्दा बढी कर्णालीवासी घर फर्केका छन् । सुर्खेतको बबईसँगै कुइने र सल्यानको कपुरकोटबाट यहाँका नागरिक भित्रिने गरेका छन् । कर्णाली प्रदेश सरकारले भारतबाट आएकासँगै शंकास्पद बिरामीको कोरोना परीक्षणका लागि १० वटा जिल्लाका २८ ठाउँमा ‘मेडिकल मार्च’ नाम दिएर चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली खटाएको छ ।  

बिहीबार मात्रै सुर्खेतका चार सय ४८, दैलेखका सात सय २७, सल्यानका तीन सय ५१, कालिकोटका ५४, जाजरकोटका ८२ र जुम्लाका १० जना कर्णालीमा भित्रिएका छन् ।

प्रकाशित: ९ जेष्ठ २०७७ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App