७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक बनाउन दवाव : चरिकोटमा सिठी जुलुस

जिरी- अरनिको राजमार्गअन्तर्गत चरिकोटबाट मुडेसम्मको सडक अलपत्र पारिएको भन्दै दोलखाको सदरमुकाम चरिकोटका स्थानीयवासीले सिठी बजाएर विरोध गरेका छन्।

निर्माणाधीन कम्पनीले सडक अलपत्र पारेपछि निर्माण गर्न दवावस्वरुप प्रत्येक हप्ता फरक–फरक तरिकाले आन्दोलन गर्दै आएका छन्। यसपटक हाते साङ्लो बनाएर विरोध गरेका थिए।

यसअघि निर्माण व्यवसायीलाई कालोपत्र गर्न माग गर्दै चरिकोटमा निर्माण व्यवसायी दीपक सापकोटाको फोटो ब्यानर बनाएर टाँसेका थिए। उनीहरुले बनाएको ब्यानरमा निर्माण व्यवसायीको नाम लेख्दै 'तपाईँ मलाई चिन्नुहुन्छ, काम नगर्ने ठेकेदार मै हुँ ? भनेर प्रश्न गरेको ब्यानर बनाएर बस तथा चरिकोट चोकमा निर्माण व्यवसायी सापकोटाको फोटोसहित दवाव अभियान सुरु गरेका थिए।

'हामीले पटक–पटक फरक तरिकाले काम सुरु गर्न दवाव दिँदै आएका छौ, निर्माण कम्पनीले हाम्रो माग पूरा गर्न जोडदार माग गर्दछौ', चरिकोटका पत्रकार एवं नागरिक अगुवा चिरञ्जीवी मास्केले बताए।

निर्माण कम्पनीले काम सुरु नगरेसम्म आन्दोलन जारी राख्ने, सामूहिक मुद्दा दायर गर्ने नागरिक अगुवा रमेश खतिवडाले बताए। नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष जीवन लामाले सडक समयमै निर्माण नहुँदा दोलखाको पर्यटन व्यवसायमा नकारात्क असर परेको बताए।

दुई चरणमा सडक विस्तार भइरहेको यस सडक निर्माण पहिलो चरणको सिमाञ्चल–गौरीपार्वती–सुनौला खिम्ती जेभीले काम गर्दै आएको छ। पहिलो चरण खाडीचौरबाट मुडेसम्म २५ किलोमिटर र दोस्रो चरण मुडेदेखि चरिकोटसम्म ३० किलोमिटर रहेको छ।

पहिलो चरणको काम ३९ करोड २६ लाख ५२ हजार रुपैयाँमा सम्झौता भएको छ। पहिलो चरणअन्तर्गत खाडीचौरबाट मुडेसम्म २५ किलोमिटर सडकमध्ये १२ किलोमिटर सडक कालोपत्र भइसकेको लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीप बराहीले जानकारी दिए।

दोस्रो चरणको मुडेबाट चरिकोटसम्मको ३० किलोमिटरका लागि भारतीय कम्पनी सकिल हैदरसँगको साझेदारीमा शङ्करमाली, सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्काको जिम्मा पाएका हुन्। ७० करोड ७० लाख ३४ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। यो कम्पनीले म्याद सकिएको दुई वर्ष बित्दासमेत कालोपत्र सुरु गर्न सकेको छैन।

दोस्रो चरणको सडक विस्तारमा निर्माण कम्पनीले ढिलाइ गरेको भन्दै आयोजनाले गत असारदेखि कम्पनीलाई सात करोड रुपैयाँ हर्जना लगाएको छ। पटक–पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम गर्ने प्रतिबद्धता नजनाएको प्रमुख बाराहीले बताए। स्वीस सरकारको सहयोगमा विसं २०४३ मा खाडीचौरबाट जिरीसम्मको ११० किलोमिटर सडक बनेको हो।

एक लेनको सडक अहिले सवारीको चापसँगै साँघुरो भएपछि भारतीय एक्जिम बैंकको ऋण सहयोगमा विस्तार भइरहेको छ।

प्रकाशित: ७ मंसिर २०७६ ०६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App