coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जग्गा हडप्न कर्मचारी, व्यापारी र जनप्रतिनिधिकै सेटिङ

इटहरी - व्यापारी ईश्वरी पराजुलीले तुलसीराम पौडेलसँग इटहरी–६ ‘घ’को कित्ता नं. ८९ बाट जग्गा किने। पराजुलीले मालपोतका अमिन योगप्रसाद सुवेदीको मिलेमतोमा नक्सा परिवर्तन गरी आफ्नो नाममा झन्डै पाँच कट्ठा जग्गा हडपेको भन्ने उजुरी प-यो। पौडेलसँग किनिएको कित्ता नं. ८९ बाट पराजुलीले इटहरी–६ ‘घ’कै कित्ता नं. ८७ मा नक्सा परिवर्तन गराएको दाबी गर्दै उजुरी परेको थियो। सोही उजुरीमाथिको अनुसन्धानका लागि सेवानिवृत्त भइसकेका अमिन सुवेदीलाई प्रहरीले पक्राउ गरेको बताइएको छ। व्यापारी पराजुलीलाई चाहिँ फरारको सूचीमा राखेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभेष अधिकारीका अनुसार पराजुली र पौडेलले सुरुमा आ–आफ्नो जग्गा भोगचलान गर्दै आएकोमा पछिल्लो समय प्लटिङ गरेर बिक्री गर्दा जग्गा अपुग भएको र खोजी गर्दै जाँदा यस्तो घटना बाहिर आएको हो। घटनाबारे अनुसन्धान गर्न प्रहरीले नापी कार्यालयलाई दुईवटा जग्गाको वास्तविकताबारे लेखेको पत्रको जवाफमा भनिएको छ, ‘मुख्य ओरिजिनल नक्साभन्दा नयाँ नक्सा फरक परेको छ।’

कतिपय ‘केस’मा नक्सा बिग्रिएको घटना हुने गरेको नापी कार्यालय सुनसरीका प्रमुख सञ्जीवकुमार साहले बताए। ‘व्यापारी ईश्वरी पराजुलीले गरेको कार्यबारे कार्यालयमा त्यतिबेला काम गर्दाको फाइल केही पनि भेटिँदैन,’ उनले भने। नक्सा सच्याउने प्रक्रिया हुने गरे पनि यो घटनाका लागि भने कुनै कागजात नभेटिएको उनको भनाइ छ। ‘कसैको नक्सा बिग्रिए फिल्डमा गएर सर्जिमिन गरी भोगचलन गरे/नगरेको र सनाखत बयान गरेर मात्र नयाँ नक्सा परिवर्तन गर्न सकिन्छ,’ उनले भने, ‘तर यो घटनामा त्यस्तो केही डकुमेन्ट भेटिँदैन।’

तर प्रहरी कार्यालयमा उजुरी पर्नुअघि फरार रहेको भनिएका पराजुली मालपोतका कर्मचारीसँग सम्पर्क राखेर नक्सा संशोधन गर्ने विषयमा बुझ्न असार २ गते नापी कार्यालय पुगेको बुझिएको छ। सरकारी नक्सा कागजात किर्तेमा दर्ताको मुद्दामा पराजुली फरारको सूचीमा परेपछि नियन्त्रणमा लिइएका सुवेदीको बुधबार (साउन ८ गते) अदालतमा थुनछेकबारे बहस भई आदेश हुने बताइएको छ।

सुनसरीमा शृंखलाबद्ध रूपमा सरकारी गुठीसँगै एक स्थानमा देखाएर अर्को स्थानको जग्गा भूमाफियाले बिक्री गरेको भन्ने उजुरी बढ्दो छ।

एकपछि अर्को जग्गा हडप्ने क्रममा भूमाफियाले कोसी टप्पु वन्यजन्तु आरक्षभित्रको ३ बिघा ३ कट्ठा २ धुर जग्गा बिक्री गरेको काण्डमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको थियो। साबिकको भासी–५ बस्ने निर्मलादेवी साहलाई ८० लाख रुपैयाँमा आरक्षभित्रको जग्गा बिक्री गरेको आरोपमा ती तीनजना नियन्त्रणमा परेको प्रहरीले बताएको छ। जमानी हाजिरीमा छुट्नेहरू इटहरी–१६ का ५६ वर्षीय असर्फी साह, बराहक्षेत्र–११ का बुधुराम उराव र राजकिशोर मण्डल छन्। निर्मलालाई २०७३ मंसिर २६ गते अरू नै जग्गा देखाई आरक्षभित्रको जग्गा बिक्री गरेको उजुरी परेकोमा थप प्रमाण जुटाउन आवश्यक भएको भन्दै उनीहरू जमानी हाजिरीमा छुटेका हुन्। साबिक मधुवन–८ बस्ने बुधराम उरावको नाममा दर्ता कायम रहेको साबिक मधुवन–८ ‘क’को कित्ता नं. ५६ को दुई बिघा १८ कट्ठा १६ धुर र वडा ८ ‘ख’ कित्ता नं. ९० को ४ कट्ठा ६ धुर गरी ३ बिघा ३ कट्ठा २ धुर जग्गा बिक्री गरेकोमा त्यो जग्गा आरक्षभित्र पर्ने भनी बराहक्षेत्र नगरपालिका–११ को कार्यालयले सिफारिस दिएको थियो।

सुनसरीमा शृंखलाबद्ध रूपमा सरकारी गुठीसँगै एक स्थानमा देखाएर अर्को स्थानको जग्गा भूमाफियाले बिक्री गरेको भन्ने उजुरी बढ्दो छ। यसैक्रममा मालपोत कार्यालयकै प्रमुखसहितको संलग्नतामा सरकारी कागजात किर्ते गरेको अभियोगमा इटहरीकै अर्का व्यापारी गोर्खा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यले पनि ७ लाख रुपैयाँ धरौटी बुझाएको पाइएको छ। जिल्ला अदालत सुनसरीका न्यायधीश मणिराज न्यौपानेको आदेशअनुसार आचार्यसँगै धरानका मणिराज मास्के र कविता श्रेष्ठलाई पनि ७÷७ लाख रुपैयाँ धरौटी माग गरिएकोमा त्यो बुझाएको पाइएको छ। यस्तै गोरखा डिपार्टमेन्ट स्टोरमै कार्यरत भोजराज भन्ने भोजबहादुर दाहाल र कृष्णप्रसाद गुरागाईंले पनि ७÷७ लाख रुपैयाँ धरौटी बुझाएको जिल्ला अदालतले जनायो।

जिल्ला अदालतकै अनुसार सरकारी कागजात किर्ते गरेको अभियोग लागेका इटहरी–२ का कृष्णप्रसाद तिम्सिना, केदार तिम्सिना र घनश्याम निरौलाले जनही २÷२ लाख रुपैयाँ बुझाएका छन्। कागजात किर्ते गरेको अभियोगमा मालपोत कार्यालय सुनसरीका प्रमुख सूर्य थापाले ५० हजार धरौटी बुझाएका छन् भने अन्य जुनियर कर्मचारीले पनि धरौटी बुझाएका छन्। घटनामा वडा ११ का वडाध्यक्ष रूपेश चौधरीले पनि २५ हजार धरौटी बुझाएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए। सरकारी कागजात किर्ते काण्डमा १७ जनाविरुद्ध अहिले पनि मुद्दा विचारधीन छ।

रोशन श्रेष्ठले आफ्नो नाममा रहेको इटहरी–२ ‘क’ कित्ता नं. ४४६ को २ बिघा १६ कट्ठा जग्गा दिदी कविता श्रेष्ठलाई वारेसनामा दिएका थिए। पछि उक्त जग्गा व्यापारी बलराम आचार्यलगायतको समूहले खरिद ग-यो। त्यसमा राजस्व छल्न वडा ११ मा रहेको ४ कट्ठा ५ धुर जग्गाको घरबाटो नभएको भन्दै सिफारिस बनाएको पाइएको छ। सोही वडाको कार्यालयले दिएको सिफारिसमा इटहरी–२ को २ बिघा १६ कट्ठा जग्गाको समेत घरबाटो नभएको भन्दै व्यापारी आचार्यको समूहले किर्ते गरी थप गरेको अदालतले जनाएको छ।

त्यस्तै १ करोडभन्दा बढी मूल्य पर्ने सुनसरी रामधुनी–६ मा गुठीको नाममा रहेको २२ कट्ठा १० धुर जग्गा व्यक्तिको नाममा पारेर बिक्री गर्ने गिरोहमा संलग्न रहेको आरोपमा तीनजना पुर्पक्षका लागि जेलचलान भएका छन् भने पाँचजनाले धरौटी बुझाएका छन्। चन्द्रशेखर महादेव गुठीका नाममा रहेको जग्गा व्यक्तिका नाममा पारेर बिक्री गर्ने समूहमा जनप्रतिनिधि, मालपोतका शाखा अधिकृत, कर्मचारीसँगै अन्य व्यक्तिसहित नौजनाविरुद्ध मुद्दा दायर भएको थियो। जसमा गुठीको जग्गा बिक्री गर्ने गिरोहमा मुख्य संलग्नता देखिएकोमा धरान–१६ का सोमबहादुर परियार, सोही ठाउँका मानबहादुर परियार र इटहरी–२० का वकिल भनिने अर्जुन चौधरीलाई पुर्पक्षका लागि अहिले कारागार चलान गरिएको प्रहरीको भनाइ छ।

सोही प्रकरणमा संलग्न भएको आरोपमा धरान–१६ कै किशोर मगरले ५ लाख, सोही वडाका वडाअध्यक्ष दिलकुमार गिरीले २ लाख, मालपोत कार्यालय सुनसरीका अधिकृत मातृका दंगालले १ लाख, नायब सुब्बा भरतराज दाहालले १ लाख र रामधुनीका उप्रेन्द्रबहादुर कटवालले ३ लाख रुपैयाँ धरौटी बुझाएका छन्। इनरुवा–१ का रोहित दर्नाल भने फरार छन्। जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको म्यादसमेत गुज्रिसकेको छ। साबिक बक्लौरी–९ र हालको रामधुनी–६ अन्तर्गत ९ ‘ग’ कित्ता नं. २५७ को ३ कट्ठा ५ धुर र ९ ‘घ’को कित्ता नं. १४ को १९ कट्ठा ५ धुर जग्गा बिक्री गर्न बैना गरेपछि प्रहरीले सूचना पाएर शंकास्पदलाई पक्राउ गरी मुद्दा चलाएको थियो।

जग्गा किर्ते गरी बिक्री गर्ने समूहको शंकास्पद व्यवहारले गर्दा नन्दबहादुरले बैना गरिसकेको जग्गाको रेकर्ड मालपोत कार्यालयमा गएर हेर्दा गुठीको नाममा रहेको पत्ता पाएर प्रहरीलाई उजुरी गरेका थिए। विकले १७ लाखमा बैना दिएका थिए। यस्तै ठगी तथा सरकारी कागजात किर्ते गरी जग्गा खरिदबिक्री गर्ने समूहमै संलग्न भएको आरोपमा ६ जनालाई पनि जिल्ला अदालतले धरौटीमा छाडेको छ। देवानगन्ज–३ की अनिताकुमारी उरावलाई खेतीयोग्य जमिन देखाएर कोसी बगेको स्थानको जग्गा बिक्री गरेको आरोपमा उजुरी परेकोमा अदालतको आदेशअनुसार बराह क्षेत्र–७ का नगेन्द्रकुमार श्रेष्ठ र वडा ६ का धनकुमार लिम्बू जनही २ लाख ३१ हजार रुपैयाँ धरौटी बुझाएर छुटे। यस्तै सोही जग्गा प्रकरणमा देवानगन्ज–३ का प्रकाशकुमार मेहता, बर्जु–६ का दीपक मेहता र इनरुवा–९ का विनोद मेहताले जनही ४५ हजार रुपैयाँ बुझाए। इनरुवा–९ कै देवनारायण मेहताले १ लाख १० हजार रुपैयाँ धरौटी बुझाए।

अनिताले २०७४ असोज १८ गते साबिक महेन्द्रनगर–५ ‘ज्ञ’को ९३ बाट १२ कट्ठा १० धुरमध्ये ८ कट्ठा जग्गा खरिद गर्दा अहिले सो जग्गा कोसी बगेको स्थानमा भेटिएको पाइएको उजुरीमा उल्लेख छ। देवानगन्ज–२ कै महावीर यादवले ऋण लिने क्रममा तीनजनालार्ई आफ्नो जग्गा धितोपास गरिदिए। अहिले यादवले ती तीनजनाको ऋण तिरिसकेका छन्। तर उनले गरेको जग्गा धितोपास भने फिर्ता नगरेपछि त्यसमा पनि उजुरी परेको छ। तीनै जनालाई प्रहरीले फरारको सूचीमा राखेर खोजी थालेको छ। सुनसरीमा जग्गा किचलो र ठगीको मुद्दा अदालतसँग पछिल्लो समय स्थानीय तहको न्यायिक समितिमा समेत बग्रेल्ती आउने गरेका छन्।

प्रकाशित: ८ श्रावण २०७६ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App