चौदण्डीगढी नगरपालिकाको १९ औँ नगरसभा अधिवेशनमा वडा सदस्यहरूले योजना र बजेट वितरणको माग गरेका छन्। बिहीबार आयोजित नगरपालिकाको हिउँदे अधिवेशनमा सदस्यहरूले आफूहरू पनि जनप्रतिनिधि भएकाले मेयर, उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई जत्तिकै योजना र बजेटको अधिकार हुनुपर्ने माग गरेका हुन्।
चालु वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमको समीक्षा तथा हालसम्मको आयव्यय अनुमोदन र संशोधन गर्न आयोजित नगर अधिवेशनमा वडा सदस्यहरूले आफूहरू पनि निर्वाचित भएकाले अन्यलाई जस्तै अधिकार हुनुपर्ने माग गरे। ‘हामी पनि जननिर्वाचित प्रतिनिधि नै हौँ, हामीसँग पनि त वडावासीले बजेट र योजना माग्छन्,’ ६ नं. वडा सदस्य कमल कार्कीले भने, ‘तर, सही गर्नेबाहेक अरु अधिकार नै दिइँदैन। सदस्यको हैसियतले हामीलाई पनि योजना र बजेट वितरण गर्ने अधिकार चाहियो।’
अन्य सदस्यहरूले पनि कार्कीको भनाइमा थप्दै बजेट र योजना वितरणको अधिकार चाहिएको बताए। कार्यपालिका सदस्यलाई केही बजेट र योजना दिने व्यवस्था र अधिकार दिइएको भन्दै सदस्यहरूले आफूहरूलाई पनि त्यो अधिकार चाहिने माग गरे। ‘कार्यपालिका सदस्य र हामी उत्तिकै भोट लिएर चुनावमार्फत निर्वाचित भएर आएका हौँ,’ सदस्यहरूको गुनासो थियो, ‘तर, उनीहरूलाई अधिकार छ, हामीलाई छैन।’
नगर प्रमुख कालुमान लामाले सदस्यहरूको मागको जवाफ दिँदै कार्यविधि र ऐनमा सदस्यलाई बजेट र योजना वितरणको अधिकार नभएको बताउँदै तर, चौदण्डीगढीमा त्यो व्यवस्था गर्न आफू सहमत रहेको बताए। उनले आगामी वर्षको बजेटमा सदस्यहरूको माग पनि सम्बोधन गर्ने गरी कार्यविधि ल्याउने आश्वासन दिए। ‘विद्यमान ऐन र कार्यविधिमा सदस्यलाई बजेट र योजना वितरणको अधिकार छैन,’ मेयर लामाले प्रतिबद्धता जनाए, ‘तर, तपाईँहरू पनि निर्वाचित जनप्रतिनिधि नै भएकाले चालु वर्ष यस्तै भयो, अर्को वर्ष त्यसबारे केही व्यवस्था गरौँला।’
साढे तीन वर्षे कार्यकालको कार्यसम्पादन तथा सुशासनको क्षेत्रमा गरेका कामहरूको समीक्षा सुनाए। आफ्नो अवधिमा महत्वपूर्ण कामहरू गरेर नगरवासीका लागि नयाँ जनमुखी कार्य अघि बढाएको लामाले बताए। उनका अनुसार चालु आर्थिक वर्षलाई ‘भौतिक पूर्वाधार वर्ष’ को रूपमा लिएको बताउँदै पूर्वाधार संरचनाको क्षेत्रमा पनि नगर प्रमुख लामाले बताए।
अधिवेशनमा मेयर लामाले साढे तीन वर्षे आफ्नो कार्यकालको प्रगति विवरण प्रस्तुत गर्दै सडक, स्वास्थ्य, शिक्षामा उल्लेख्य प्रगति गरेको दाबी गरे। उनले वडा नंं २ बाट सुरु गरेको ग्रामीण सडक ५० किलोमिटर ग्राबेल गरेको बताए। अहिलेसम्म ३ वटा वडामा ३८ किलोमिटर सडक निर्माण भइसकेको मेयर लामाको प्रगति विवरणमा उल्लेख छ।
स्थानीयतह पुनर्स्थापना नहुँदासम्म गाउँ विकास समितिमा वर्षमा ३ लाख बजेट आउँदा एउटा वडाले ५ हजार पाउँदा खुसी हुने गरेको स्मरण गर्दै अहिले १ अर्ब १३ करोड बजेट पाउँदासमेत सन्तुष्ट हुन नसकेको लामाले बताए। इच्छा र आवश्यक्ता धेरै भएकाले जति बढी बजेट आए पनि थोरै महसुस हुने गरेको भन्दै नगरपालिकाले आन्तरिक स्रोतको खोजी गरिहेको बताए।
लामाको प्रगति विवरणमा शैक्षिक क्षेत्रमा सुधारका कामहरू अघि बढाएको, नागरिकको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको स्वास्थ्यक्षेत्रमा सुधार गर्ने कार्यक्रम ल्याएको जानकारी दिए। उनले केही वडाका ससाना योजनाहरू संशोधन गरिएको बताउँदै तर, महत्वपूर्ण योजनाहरू नचलाएको बताए।
प्रकाशित: ११ पुस २०८२ १२:२७ शुक्रबार





