१६ चैत्र २०८० शुक्रबार
समाज

पूर्वाधार, रोजगार र उत्पादनमा जोड

बजेट प्रस्तुत गर्ने क्रममा उपमेयर मैना विक। नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत– गुर्भाकोट नगरपालिकाले पूर्वाधार निर्माण, रोजगार सृजना, उद्यमशिलता र उत्पादकत्वलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। नगरपालिकालाई बेरोजगारमुक्त बनाउने उद्देश्य अनुसार युवाहरुलाई शूल्य प्रतिशत व्याजदरमा ऋण, वार्षिक एक सय दिनको रोजगारीलगायतका कार्यक्रम ल्याएको छ।

‘बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन शून्य प्रतिशत व्याजदरमा ऋण लगानीका साथै ‘एक घर, एक रोजगार’ कार्यक्रम अन्र्तगत वार्षिक न्यूनगत एक सय दिनको रोजगारी दिने नीति अवलम्वन गरेका छौं’ बजेट प्रस्तुत गर्दै नगर उमप्रमुख मैना विकले भनिन्, ‘यसका साथै कृषि, पशुपालन, पर्यटनलगायतका क्षेत्रमा युवाहरुलाई आकर्षित गर्नका लागि थप बजेटको व्यवस्था गरिएको छ।’

बजेटमा ‘एक घर, एक रोजगार’ कार्यक्रमका लागि एक करोड र महिलाहरुलाई उद्यमशिल बनाउनका लागि ‘उपप्रमुख उद्यमशिलता कार्यक्रम’का लागि ५० लाख रुपैयाँ छुट्याइएको छ। नगरलाई खरमुक्त बनाउनका लागि खरका छानालाई जस्तापातामा रुपान्तरण गर्न २० लाख छुट्याइएको छ। नगर क्षेत्रभित्रका पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा दुई करोड ३० लाख रुपैयाँ छुट्याइएको उपप्रमुख विकले बताइन्।

नगरपालिकाले नगर क्षेत्रभित्रका बासिन्दाको छाना, नाना र खानाको ज्ञारेन्टी गर्नका लागि सीपयुक्त जनशक्ति निर्माण गर्नका लागि रोजगारमूलक तालिमलगायतको व्यवस्था पनि गरेको छ। बजेटमा कृषि पेशाको पुस्तान्तरणलाई उत्प्रेरणा प्रदान गर्न र कृषिको आधुनिकिकरण, यान्त्रिकरण, व्यवसायिकरण र बजारीकरणका लागि एक करोड रुपैयाँ छुट्याइएको छ।

बजेटमा नगरलाई दुध, माछा, मासु र अर्गानिक तरकारीमा आत्मनिर्भर बनाउनका लागि लागत साझेदारीका आधारमा अनुदान दिनका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ। बजेटमा नगर क्षेत्रभित्र रहेका बैंक तथा वित्तिय संस्थाहरुमार्फत व्यवसायिक कृषकहरुलाई सहुलियत ऋणको व्यवस्था गरिने उल्लेख छ। बजेटमा कम्तिमा १५ जना कृषकहरुलाई व्यवसायिक ऋण उपलब्ध गराउने बैंक तथा वित्तिय संस्थाहरुलाई ‘हाम्रो बैंक’ का रुपमा टोकन प्रदान गरेर सम्मान गर्ने उल्लेख छ।

बजेटमा विद्युत नपुगेका गाउँहरुमा विद्युत पु¥याउनका लागि ‘विकास र विस्तार विद्युतको जालोः गुर्भाकोट नगर गाउँगाउँ उज्यालो’ कार्यक्रममार्फत आगामी आर्थिक वर्षभित्र सबै गाउँलाई उज्यालो बनाइने उल्लेख छ। यस्तै तत्काल विद्युतीकरण हुन नसक्ने स्थानहरुमा सौर्य उर्जा, वायू उर्जा एवम् नवीकरणीय उर्जामार्फत विद्युत सेवा पु¥याइने बजेटमा उल्लेख छ।

बजेटमा गुर्भाकोट नगरपालिकालाई स्वस्छ, सफा र हरियाली बनाउनका लागि ‘ग्रिन गुर्भाकोटः क्लिन गुर्भाकोट’ कार्यक्रम ल्याइएको छ। यस अन्र्तगत फोहरको वर्गिकरण गरेर ‘फोहरबाट मोहर’ बनाउने कार्यक्रमका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षभित्र आफ्नै इन्टरनेट सर्भरका साथै डिजिटल तथ्याङ्क र पाश्र्वचित्र निर्माण गर्नका लागि ४५ लाख रुपैया बजेट छुट्याएको छ।

५३ करोड ८१ लाख बजेट
गुर्भाकोट नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि ५३ करोड ८१ लाख ८३ हजार बजेट ल्याएको छ। यो मध्ये चालूतर्फ ६ करोड ८० लाख ९० हजार रुपैयाँ छुट्याइएको छ भने पुँजीगततर्फ १५ करोड १३ लाख ५४ हजार रुपैयाँ छुट्याएको छ। नगरपालिकाले आर्थिक विकासतर्फ तीन करोड ३९ लाख ५० हजार, सामाजिक विकासतर्फ तीन करोड, ४५ लाख २४ हजार, पूर्वाधार विकासतर्फ दुई करोड ३० लाख, वातावरण, विपद् व्यवस्थापनतर्फ ५२ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ एक करोड छ लाख ८० हजार र अन्य क्षेत्रका लागि चार करोड, ४० लाख रुपैयाँ छुट्याएको छ।

नगरपालिकाले विकास पूर्वाधार, भौगोलिक अवस्थालगायतलाई मध्यनजर गरेर बडागत बजेट छुट्याएको छ। हालसम्म सडक सञ्जाल नपुगेको वडा नम्वर तीनलाई ६० लाख रुपैयाँ छुट्याइएको छ। यस्तै वडा नम्वर–२, ११ र १४ मा ५५ लाख, १, ४, ५, ६, ९, १० र १२ मा ५० लाख, ७, ८ र १३ मा ४५ लाख १३ हजारका दरले बजेट छुट्याएको छ।

प्रकाशित: २६ असार २०७६ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App