७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

समाजमै समर्पित

अचेल सरकारी जागिर खान मान्छे मरिहत्ते गर्छन्। उनी सरकारी जागिरे नै थिए। घर–परिवारमा खाना लगाउन गाह्रो थिएन। अन्ततः उनले सरकारी जागिर छाडे। आफ्नै घर फर्किए। त्यसपछि घरको जिम्मेवारीसँगै समाजसेवामा समर्पित भए।

काम गरेर कमाएको पैसा उनी समाजकै लागि खर्च गर्छन्। समाजसेवामा सक्रिय छन्–सुनसरी हरिनगर–४ का राजकुमार मेहता। ४४ वर्षीय उनी समाजसेवामा सक्रिय भएको १८ वर्ष पूरा भयो। दुःखी गरिबको हितमा होस् वा गाउँमा कार्यालय स्थापना गर्न, उनको ठूलो योगदान छ। ‘पैसाले कहिल्यै मान्छेलाई सन्तुष्टि मिल्दैन,’ उनले भने, ‘मेरो आर्थिक हैसियतअनुसार सबैलाई सहयोग  गर्ने गरेको छु।’  दुःखीको मुहारमा मुस्कान ल्याउन आफूले सक्दोे सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।

जिल्लाकै दक्षिणवर्ती क्षेत्रका स्थानीयका लागि सबै सरकारी कार्यालयको सेवा लिन इनरुवा धाउनुपर्ने बाध्यता थियो। तीन वर्षअघि त्यतिबेलाका सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईं एउटा वित्तीय संस्थाको कार्यक्रममा गाउँ पुगेका थिए। कार्यक्रममा उनले भनेका थिए, ‘हरिनगरका बासिन्दालाई एउटा कोसेली आएको छ।’ कोसेली के हो? भनेर सबै  उत्सुक भए। चापागाईंले प्रस्ट पारे, ‘अब २०–२२  गाविसका बासिन्दाका लागि अब हरिनगरमै प्रशासनिक काम हुनेछ, यहीँ इलाका प्रशासन कार्यालय स्थापना हुन्छ। जिल्ला प्रशासन कार्यालय इनरुवा धाउनु पर्दैन।’

२०७२ भदौ दोस्रो सातामा प्रशासन कार्यालय राख्न घर–जग्गा खोजी हुन थाल्यो। राजकुमारले हरिनगरमा प्रशासन कार्यालय राख्दा मुख्य राजमार्ग छेउमै रहेको जग्गा निःशुल्क दिने तत्काल घोषणा गरे। उनले डेढ कट्ठा जग्गा उपलब्ध गराए। जग्गा दिए पनि तत्काल कार्यालय स्थापना गर्न  घर चाहियो।  त्यो घर पनि उनले नै उपलब्ध गराए। अहिले प्रशासन कार्यालयको भवन निर्माण त भएको छैन, तर प्रशासन कार्यालयकै प्रस्तावमा थप एक कट्ठा जग्गा उपलब्ध गराएका छन्। इलाका प्रशासन कार्यालय हरिनगरको कार्यालय स्थापना गर्न अढाई कट्ठा जग्गा पुगेको छ।  बजार भाउ अनुसार प्रशासन कार्यालयलाई दिएको जग्गाको मूल्य दुई करोड हाराहारी पर्छ। राजकुमारले इलाका प्रशासनसँगै हरिनगरमा विद्युत प्राधिकरणको शाखा कार्यालयका लागि एक कट्ठा जग्गा उपलब्ध गराएका छन्। विद्युत प्राधिकरणलाई उपलब्ध गराएको जग्गाको मूल्य ४० लाख रुपैयाँ हाराहारी पर्छ। उनले इलाका प्रशासन र विद्युत प्राधिकरण दुवैलाई  दिवंगत आमा सन्झादेवीको स्मृतिमा जग्गा प्रदान गरेका हुन्।

इलाका प्रशासन र विद्युत प्राधिकरण कार्यालय नजिकै थप तीन कट्ठा जग्गा हरिनगरमा मालपोत र नापी कार्यालय विस्तार हुँदा दिने सोच बनाएका छन्। ‘अहिले पनि हरिनगर तथा आसपासका जनतालाई मालपोत र नापी कार्यालय इनरुवा नै धान्नुपर्ने झन्झट छ। यी दुवै कार्यालय हरिनगरमा विस्तार हुनुपर्छ।’

सानैदेखि सामाजिक कार्यमा  रुचि राख्ने राजकुमारले माओवादी द्वन्द्वका बेला विस्थापित कृषि विकास बैंक स्थापना गर्न होस् वा नयाँ बैंक तथा वित्तीय संस्थाका शाखा विस्तार गर्न भूमिका खेलेका छन्। ‘समाजको समग्र हितका निम्ति गरिएका कार्य सदियौंसम्म रहन्छ भन्ने लाग्छ,’ उनले भने, ‘राम्रो काम गरेमा आफू मरेपछि पनि बाँचिरहन्छ।’

दयनीय आर्थिक अवस्था भएका परिवारका सदस्य बिरामी पर्दा,  पैसा अभावले पढाइमा समस्या पर्दा  वा भोकै बस्नुपर्ने अवस्था भएका परिवारलाई सहयोग गर्ने गरेका छन्। केही महिनाअघि हरिनगरकै चनो ऋषिदेवकी आमालाई उपचारका लागि भारतको खरैया लैजानुपर्ने भयो, पैसा अभावले उपचार नपाएर छटपटिएर बस्नुपर्ने अवस्था थियो। तुरुन्त उनले रकम व्यवस्था मिलाइदिए, त्यसपछि उपचार गर्न भारत लगियो। विपन्न जत्रा ऋषिदेवकी आमा बिरामी हुँदा पनि उनले उपचारको व्यवस्था मिलाएका छन्।

राजकुमारले गरेको उदाहरणीय कार्यको प्रशंगा गर्दै स्थानीय महेन्द्र मेहता भन्छन्, ‘राजकुमार जस्तो समाजका लागि मरिमेटने कमै हुन्छन्। गाउँका गरिब–दुःखीको हितमा उनी बहुत लाग्छन्।’ हरिनगर तथा आसपास क्षेत्रमा निर्माण भएका मठ मन्दिर, मदरसा, शिक्षालय, प्रहरी कार्यालयका लागि राजकुमारले सहयोग गर्दै आएका छन्। उनले दुर्गा मन्दिर, हरिनगरमै सशस्त्र प्रहरी क्याम्प, वासकीनाथ मन्दिर, इलाका प्रहरी कार्यालय र त्यस क्षेत्रका केही स्कुललाई पनि सहयोग गरेका छन्। समाजसेवामा उनले गर्ने खर्चको स्रोत के हो? उनको १२ बिघाजति खेती छ। राजकुमारको संगोलमा रहेको अधिकांश सम्पत्ति पुर्ख्याैली र केही उनले जागिर खाएर  जोडेका हुन्।

प्रकाशित: १४ वैशाख २०७६ ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App