१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

बलरा नगरपालिकामा तीनमहिनाअघि लगाइएको ताला खुल्यो

तस्बिर : ताला खुलेपछि सोमबार कार्यकक्षमा काम गर्दै मेयर अभयकुमार सिंह।

सर्लाही - बलरा नगरपालिकामा लगाइएको ताला सोमबार खुलेको छ। उपमेयर एवं बहुसंख्यक वडाध्यक्षहरुले ३ महिनाअघि ताला लगाएका थिए। 

मेयर अभयकुमार सिंह र असन्तुष्ट उपमेयर रामसखी देवीसहित वडाध्यक्षहरुको पक्षबीच आइतबार साँझ सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समिति कार्यालयमा नगरमा लागेको ताला खोल्ने विषयमा ८ बुँदे सहमति भएको थियो। जिसस प्रमुख मेथुर चौधरीको कार्यकक्षमा छलफल भएको थियो। 

गत आर्थिक वर्षको आय–व्यय सार्वजनिक गर्ने, मेयरले नियमसंगत ढंगले नगरपालिका चलाउने, तत्काल विशेष नगरसभा बोलाउने, वडाबाट छनोट भएर आएका योजना जथाभावी कटौती नगर्नेलगायत सहमतिपछि ताला खुलेको जनाइएको छ।

प्रतिनिधिसभा सांसद प्रमोद साह, जिल्ला समन्वय समितिका संयोजक चौधरी, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट आएको वार्ता टोली, सुरक्षा निकायका प्रमुख, मेयर, उपमेयर, वडाध्यक्षसहितको टोलीले ताला खोलेको हो। 

मेयर सिंहले कार्यालय एकलौटी ढंगले चलाएको, अनियमित काम गरेको, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीका ३ वटा एम्बुलेन्स नगरपालिकामा ल्याएर थन्काएको, उपप्रमुख र वडाध्यक्षहरुलाई स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएका अधिकारअनुसार काम गर्न नदिएको, कर्मचारीमा त्रास सिर्जना गरेकोलगायत आरोप लगाउँदै गत पुस ४ गते उपमेयर एवं वडाध्यक्षहरुले नगरपालिका कार्यालयमा ताला लगाएका थिए। 

 

प्रकाशित: ४ चैत्र २०७५ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App