अघिल्लो साँझ गर्मी छल्नका लागि त्रियुगा नदीमा नुहाउने क्रममा बेपत्ता भएका एक युवा मृत भेटिएका छन्। सोमबार साँझ चौडण्डीगढी नगरपालिका ५ स्थित बन्दाबन्दै भाँचिएको पुलमुनि नुहाउने क्रममा बेपत्ता भएका चौदण्डीगढी ६ सिरवानीका ३० वर्षीय सुरज राई १५ घण्टापछि मृत भेटिएका हुन्।
साँझ नुहाउने क्रममा डुबेर बेपत्ता भएका राईको शव मङ्गलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ। जमेको दहमा नुहाउने क्रममा नदीको घुमाउने (भुमरी) मा परेर बेपत्ता भएको उनीसँगै रहेका दुई जना साथीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
साँझ ७:३० बजेको समयमा बेपत्ता भएका उनको खोजी गरे पनि रात छिप्पिँदासम्म फेला नपरेपछि प्रहरी फर्केको थियो। सशस्त्र प्रहरी बलका लेखजङ कार्की कमाण्डको गोताखोर टोलीको सहयोगमा मङ्गलबार बिहान ४:०० बजेदेखि खोजतलास गर्दा १०:२० बजे मृतावस्थामा शव फेला परेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै इप्रका बेलटारका प्रमुख प्रहरी निरीक्षक बबिन राईले बताए।
राईका अनुसार गाउँकै साथीहरू सुरेश माझी र प्रताप राईसँग उनी दिउँसो ४:०० बजेतिर नुहाउन गएका थिए। चार वर्षअघि बाढीले भत्काएको पुलमुनि नदीमा नुहाउँदै माछा मार्ने क्रममा पुलको भत्केको स्ल्याबमुनि छिरेका उनी निकैबेर ननिस्केपछि साथीहरूले आफन्त र प्रहरीलाई खबर गरेका थिए।
हाल त्रियुगा नदीमा बाढी नआएकाले स्ल्याबमुनि भुमरीमा परेर उनको ज्यान गएको अनुमान प्रहरीले गरेको छ। मृतकको शव पोष्टमार्टमका लागि चौलण्डीगढी नगर अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २४ असार २०८२ १३:०० मंगलबार



-600x400-wm.jpg)

