२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

दलित सशक्तीकरणका लागि १२ लाखको सामग्री प्रदान

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित सशक्तीकरणका लागि अध्यक्ष कोष सञ्चालन कार्यविधि अनुसार पालिका भित्रका दलित समुदायलाई करिव १२ लाख रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गरेको छ।

मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार चालु आर्थिक वर्षमा दलित सशक्तिकरणका लागि अध्यक्ष कोष सञ्चालन कार्यविधिअनुसार ११ लाख ६४ हजार रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन भएको हो।

दलित समूहबाट आएको माग तथा वडाको सिफारिस अनुसार उक्त रकम बराबरको योजना तथा कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ। पालिकाले वडा नं १ स्थित नवजागरण दलित समूहलाई नौमती बाजा दिएको छ। त्यस्तै समूहको सिफारिसमा वडा नं १ का ९ घर दलित परिवारले आफ्नो जीविकोर्पाजनसँग सम्बन्धित सामग्री पाएका छन्।

यस्तै वडा नं २ स्थित प्रगतिशील दलित समूहका १० घरपरिवारले उन्नत जातको बाख्रा लिएका छन्। वडागत रूपमा रहेको दलित समूहको सिफारिस तथा दलित घरपरिवारको मागका आधारमा कार्यक्रम तय गरिएको पालिकाले जनाएको छ।

वडा नं ३ स्थित माङमाया दलित समूहका १३ घरपरिवारले आफ्नो दैनिक जीवनमा प्रयोग हुने सामग्री,आर्यआर्जनका कार्यक्रम पाएका छन् भने एक थान ब्राजिल मेसिन समूहले प्रयोग गर्ने गरी पालिकाले वितरण गरेको छ।

वडा नं ४ का ३ घर दलित परिवारमध्ये २ घरपरिवारलाई उन्नत जातको गाई तथा एक घर परिवारलाई नुहाउने कक्ष, शौचालय निर्माण सामग्री र केन्द्रीय विद्युत प्रसारण लाइनको विद्युत जडानका लागि वेयरिङ सुविधा प्रदान गरिएको पालिकाले जनाएको छ।

वडा नं ५ का लालीगुराँस दलित समूहका ५ घरपरिवारमध्ये २ घरपरिवारले पाइप तथा ३ घर परिवारले ब्राजिल मेसिनको माग गरेकोले सोही आधारमा उक्त सामग्री प्रदान गरिएको छ। पालिका अध्यक्ष वनेमकाे अनुसार वडा नं ६ बाट उक्त कार्यक्रमका लागि कुनै प्रस्ताव नआएकाले सामग्री वितरण गरिएन।

पालिकाले दलित सशक्तिकरणका लागि अध्यक्ष कोष सञ्चालन कार्यविधि बनाएर कार्यक्रमलाई व्यवस्थित गरेको छ। प्रत्येक वडामा रहेका दलित घरपरिवारलाई समूहमा आबद्ध गर्ने र सोही समूहका रहेका सदस्यहरुको माग र वडाको सिफारिसअनुसार पालिकाले दलित सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने गरेको छ।  

प्रकाशित: २३ असार २०८२ १३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App