२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

जगदम्बा स्टिलमा विस्फोट: एक मजदुर घाइते, भौतिक संरचनामा ठूलो नोक्सानी

बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल उद्योगमा बुधबार राति विस्फोट हुँदा ठूलो भौतिक क्षति भएको छ।

विस्फोटमा एक भारतीय मजदुर घाइते भएका छन्। उद्योग प्रशासनले मानवीय क्षति नभएको तर भौतिक संरचनामा ठूलो नोक्सानी भएको बताएको छ।

उद्योगका अनुसार, बुधबार राति करिब ९:१५ बजे सिसिएम प्लान्टमा रहेको कच्चा पदार्थ पगाल्ने ३० टन क्षमताको भट्टीमा आगलागीपछि विस्फोट भएको थियो।

विस्फोटमा परी भारतको बिहार, समस्तिपुर निवासी ३५ वर्षीय अजय बैठा घाइते भएका छन्। उनको वीरगन्जस्थित एल.एस. न्युरो अस्पतालमा उपचार भइरहेको उद्योगले जनाएको छ।

घटनालगत्तै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा धेरैको मृत्यु भएको भन्दै अफवाह फैलाइएको प्रति पनि उद्योगले ध्यानाकर्षण भएको जनाएको छ।

‘यस्ता संवेदनशील विषयमा आधिकारिक श्रोतबाट प्रमाणीकरण नभएका तथा अपुष्ट समाचार प्रकाशन र प्रसारण नगरिदिनुहुन हामी सबै सम्बन्धित पक्षहरू विशेषगरि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई हार्दिक अपिल गर्दछौं,’ उद्योगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उद्योगका अनुसार, भौतिक क्षतिको यकिन विवरण सङ्कलन गर्न प्राविधिक टोली खटाइएको छ र टोलीको प्रतिवेदनपछि मात्रै क्षतिको पूर्ण मूल्याङ्कन हुनेछ।

बुधबार रातिको उक्त विस्फोटको आवाजले स्थानीय बासिन्दा त्रसित बनेका थिए। उद्योग प्रशासनले घटनाको अनुसन्धान भइरहेको समेत जानकारी दिएको छ।

प्रकाशित: १९ असार २०८२ १५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App