२१ पुस २०८२ सोमबार
image/svg+xml
समाज

के सरकारले चोभारको गल्छी काट्न लागेको हो ?

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले ‘बागमती नदीको चोभार गल्छीमा थुप्रिँदै गएको ग्रेगान तथा ढुंगाका ब्लक पन्छाएर नदी प्रवाहको अवरोध हटाउने’ भनी गरेको निर्णय कार्यान्वयन गर्न सरकारलाई अप्ठ्यारो परेको छ। यसको खास कारण हो, प्राधिकरणले गरेको उक्त निर्णयलाई स्थानीयले चोभारको गल्छी काट्ने भनेर बुझेका छन्। त्यसैले उनीहरूबाट यसको चर्को विरोध भइरहेको छ। 

अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिका अधिकारीहरूले चोभारको गल्छी काट्ने नभई गल्छीमा अड्किएका पाँचवटा ठुल्ठुला ढुंगा हटाउने निर्णय भएको बताएका छन्। ती ढुंगाले वर्षायाममा बागमती नदीमा आएको पानीको प्रवाह रोक्ने गरेको उनीहरूको अनुमान छ। स्थानीय भने गल्छी सफा गर्ने नाममा प्राकृतिक र पुरातात्विक संरचना बिग्रने हो कि भन्ने चिन्तामा छन्। त्यसैले पुरातात्विक संरचना कुनै पनि अवस्थामा बिगार्न नदिने अडानमा उनीहरू छन्। यही विषयमा मंगलबार कीर्तिपुर नगरपालिकाको ६ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाइ कार्यक्रम राखेको छ। 

उक्त कार्यक्रममा स्थानीयलाई मात्र नभएर सरोकारवाला निकायका प्रतिनिधिहरू, बागमती विकास समितिका अधिकारीहरूलाई समेत बोलाइएको छ। ६ नम्बर वडाका अध्यक्ष खिरमान सिंह बस्नेत (पृथ्वी बस्नेत) ले चोभार गल्छीमा सरकारले काट्न लागेका पाँच ठुला ढुंगा प्राकृतिक रूपमै पहिलेदेखि रहेछन् भने कुनै पनि अवस्थामा काट्न नदिइने बताए। ती ढुंगा बागमती नदीले पछि बगाउँदै ल्याएको हो भने ढुंगा पन्छाउन दिइने उनको भनाइ छ। ‘पुरातत्त्वविद् र प्राविधिक टोलीले यस विषयमा अध्ययन गर्नेछ। अध्ययनबाट चोभार गल्छीमा रहेका पाँच ठुल्ठुला ढुंगा पहिलेदेखि नै रहेको पुष्टि भयो भने हामीले कुनै पनि अवस्थामा ढुंगा काट्न वा पन्छाउन दिन्नौं,’ बस्नेतले भने, ‘बागमती नदीले बगाएर अन्यत्र ठाउँबाट ल्याएको भए हामीले पन्छाउन दिन्छौँ।’

उनका अनुसार चोभारमा गल्छीमा देखिएका अवरोध हटाउने भनी सरकारले गरेको निर्णयलाई आम रूपमा कीर्तिपुरवासीले सरकारले चोभारको गल्छी काट्न लागेको भनी बुझेका छन्। ‘त्यसैले ग्रेगान हटाउने र ढुंगा पन्छाउने नाममा चोभार गल्छीको पुरातात्त्विक महत्व नष्ट हुने कि भन्ने आशंका स्थानीयको छ,’ बस्नेतले भने। गल्छीको सांस्कृतिक तथा पुरातात्विक महत्व नष्ट हुने गरी केही काम नगर्न भन्दै स्थानीयवासीले अवरोध गरेपछि ग्रेगान तथा ढुंगाका ब्लक अहिलेसम्म हटाउन सकिएको छैन।

अधिकार सम्पन्न बागमती विकास समितिका सूचना अधिकारी उद्धव नेपालले बागमती विकास समितिको काम नै बागमती सभ्यताको विकास गर्नु रहेको बताए। ‘हामी कुनै पनि अवस्थामा बागमती नदीको सभ्यता बिगार्न दिन्नौं। चोभारको गल्छी काट्ने भनेर हामीले कहिल्यै भनेका छैनौं,’ उनले भने। उनका अनुसार चोभारको गल्छीभन्दा २० मिटर पर बागमती नदीमा अडकिएका पाँच वटा ठुल्ठुला ढुंगाको चुच्चो काट्न र वर्षौंवर्षदेखि थुप्रिएका गेग्रान र फोहोर हटाउन खोजिएको हो। यस काममा नेपाली सेनासँग समन्वय र सहयोग गर्ने निर्णय सरकारले गरेको छ। यसपटक चोभारको गल्छीमा गेग्रान सफा नगर्ने हो भने यस वर्ष पनि वर्षायाममा बागमती नदीमा पानीको प्रवाहमा अवरोध सिर्जना हुने र करिडोर, नदी वरिपरिको क्षेत्र डुबानमा पर्ने भन्दै विकास समितिका अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।

सहरी विकास मन्त्रालयमातहतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गत असार ५ गते कीर्तिपुर नगरपालिकालाई चिठी पठाएर ग्रेगान हटाउन सहयोग तथा समन्वय गर्न आग्रह गरेको छ। उक्त चिठीको बोधार्थ नेपाली सेना तथा ललितपुर महानगरपालिका वडा नम्बर ६ कार्यालयलाई समेत पठाइएको छ।

चिठीमा भनिएको छ, ‘चोभार क्षेत्रमा दायाँबायाँ किनारातर्फ हाल कुनै पनि संरचना बनाउने, खन्ने कार्य नगरी चोभार गल्छी भन्दा माथि नदीका बिचमा खसेका ठुल्ठुला ढुंगाहरू विस्फोटक पदार्थको प्रयोग नगरी नेपाली सेनाबाट मेसिन र मानवीय जनशक्ति प्रयोग गरेर हटाउने तथा उक्त क्षेत्रको सांस्कृतिक एवं ऐतिहासिक महत्वमा कुनै असर नपुग्ने गरी काम हुने भएकाले आवश्यक समन्वय तथा सहयोगका लागि अनुरोध छ।’ 

गत जेठ १४ गते बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘अविरल वर्षाको समयमा चोभार गल्छीबाट हुने नदी प्रवाहमा अवरोध सिर्जना हुँदा वरपरको क्षेत्रमा डुबान हुने गरेकाले आगामी दिनमा उक्त समस्या दोहोरिन नदिन आवश्यकताअनुसार नेपाली सेनासँग समन्वय गर्ने’ भनेको छ। यसअघि बागमती विकास समितिका प्राविधिक कर्मचारीहरू चोभार गल्छीमा पुगी ग्रेगान तथा ढुंगाका बारेमा अनुगमन तथा निरीक्षण गरेका थिए।

निरीक्षणपछि प्राविधिकहरूले चोभार गल्छीभन्दा माथि ठुल्ठुला ढुंगाहरू खसेको र थप खस्न सक्ने अवस्था रहेको भनी प्रतिवेदन तयार गरेका थिए। प्रतिवेदनमा ‘ललितपुर–१८ र कीर्तिपुर–६ बिचको चोभार क्षेत्रअन्तर्गत चोभार गल्छीमा दुवै किनारातर्फबाट पहिरो गई खोलाको सतह करिब दुई मिटर माथि उठेको र पहिरोका कारण उक्त नदीको गल्छीमा झरेको ठुल्ठुला ढुंगा र थुप्रिएको माटोका कारण बहाव अवरुद्ध हुनुका साथै वर्षायामअगावै नहटाए उक्त खण्डअन्तर्गत सक्षम बस्तीलगायत आसपासका क्षेत्रमा खतराको सम्भावना रहेको’ भन्ने व्यहोरा उल्लेख गरिएको छ। 

विकास समितिले प्रतिवेदन तयार गरेपछि यसबारे सतर्क गराउँदै सहरी विकास मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्र पठाएको थियो। त्यसपछि विपद न्यूनीकरण प्राधिकरणको बैठक बसेको थियो। बैठकमा नेपाली सेना, जंगी अड्डासँग चोभार गल्छीभन्दा माथि खसेका ठुल्ठुला ढुंगा र थेग्रिएको माटो हटाउने कामका लागि सहयोग लिने निर्णय गरिएको थियो।

प्रकाशित: १७ असार २०८२ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App