१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

डुवानबाट बचाउन वीरगञ्जमा नाला सफाइ तीब्र

वर्षायाम सुरु भएसँगै वीरगञ्जमा डुबानको खतरा बढेको छ । पानीको उचित निकास हुन नसक्दा हरेक वर्ष महानगर डुबानमा पर्दै आएको छ ।

सहरका मुख्य नालाहरु जम भएको र अतिक्रमणको चपेटामा परेको कारण वर्षाको पानी निकास नपाउदा बर्सेनि जस्तो यसवर्ष पनि सहर जलमग्न हुने सम्भावना देखा परेपछी महानगरले नाला सफाई अभियान थालेको छ ।  

सहरको आदर्शनगर ग्रीनसिटी प्रहरी बिटदेखि हरि खेतान बहुमुखी क्याम्पससम्म सडकको दुईतर्फी बनाइएको नालामा फोहर थुपरिएर जामभएको र अधिकांश ठाउँमा सरसफाइ अभावको कारण नाला अतिक्रमणमा परेपछी मनसुन सक्रिय हुनुभन्दा अगाबै महानगर दिनरात नाला सफाईमा जुटेको देखिएको छ ।

वीरगञ्जको प्रमुख सहरी क्षेत्र गीता मन्दिरदेखि प्रहरी बिटसम्मको नाला, राष्ट्रिय वाणिज्य बैंकको पछाडि रहेको नालाको सरसफाइ कार्य सम्पन्न भइसकेको महानगरले जनाएको छ । यसैगरी सो ठाउँदेखि दक्षिणतर्फ रहेको केडिया र खेतान परिवारको पर्खाल तथा हरि खेतान बहुमुखी क्याम्पससम्मको नाला अतिक्रमण र फोहरले थुनिदा महानगर यति बेला चिन्तित छ ।

महानगरले यसअघि पनि सम्बन्धित क्षेत्रको नाप जाँचगरि चिह्न लगाए पनि पर्खाल हटाउनुको साथै अतिक्रमण हटाउन  महानगरको प्राविधिक टोलीले हरेक प्रयासमार्फत् पुरानो नालाको बहाव खुलाउन लागिपरेका छन् । ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले एक साताभित्र मुख्यनाला अतिक्रमण मुक्त हुने र सरसफाइ कार्य सम्पन्न हुने बताए ।

हुलाक कार्यालय आगाडीदेखि पानगली, लाठ्गली, आदर्शनगर हुदै भन्सार कार्यालयसम्म करिब ३ किलोमिटर मुख्य ड्रेन (ठुलो नाला ) को सफाइ अन्तिम चरणमा रहेको वीरगञ्ज महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदीन मियाँले बताए । महानगरले सहरको नाला सफाइमा बिगत एक महिनादेखि चार वटा एक्जभेटर, ६ वटा ट्रेक्टर र १५ जनाभन्दा बढी सरसफाइकर्मी परिचालन गरेको शाखा प्रमुख मियाँले बताए ।

महानगरका मेयर राजेशमान सिंहले यो वर्ष वर्षाको कारण वीरगञ्ज सहर डुबान हुन नदिनको लागि नाला सफाइ अभियानलाई तिब्रता दिएको बताए । हरेक वर्ष वर्षायाममा वीरगञ्ज सहर डुबानमा पर्दै आएका कारण स्थानीय आजित हुँदै गएका थिए । यो वर्ष नाला सफाइ समयमै भइरहेकाले वर्षाको पानी सहजै निकास हुनेमा स्थानीय ढुक्क देखिएका छन् ।  

 

 

प्रकाशित: १० असार २०८२ १८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App