मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
अपराह्न ४ बजेतिर रोङ गाउँपालिका–३, पाथलेडाँडामा भएको दुर्घटनामा मोटरसाइकल चालक बझाङको बित्छडचिर गाउँपालिका १ का अन्दाजी २६ वर्षे मदनबहादुर बोहरा र पछाडि सवार जाजरकोट छेडागाडा नगरपालिका ८ का अन्दाजी २३ वर्षीया सिर्जना गिरीको मृत्य भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार झापाबाट इलामतर्फ आइरहेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशामा रहेको बा ८९ प २२६६ नम्बरको मोटरसइकलाई ठक्कर दिएको थियो । गम्भीर घाइते दुवैलाई झापाको बिएन्डसी अस्पताल लगिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मानबहादुर राईले बताए ।
ट्रक चालक पाँचथरको कुमायक गाउँपालिका ९ का अन्दाजी ३३ वर्षे नितेश बुढाथोकी प्रहरी नियन्त्रणमा छन् ।
प्रकाशित: ८ असार २०८२ १८:३९ आइतबार





