५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

सिरहा-१ : कांग्रेसलाई मत जोगाउनै सकस, ‘बालेन फ्याक्टर’ ले प्रतिस्पर्धा रोचक

सिरहाको क्षेत्र नम्बर १ नेपाली कांग्रेस र नेकपा एमालेको दबदबा भएको क्षेत्र मानिन्छ। विगतका चुनावी परिणामको गणितले कांग्रेस र एमाले नै फेरिफेरी जितेको फेहरिस्त छ। तर, यसपालि वसन्त ऋतुमा भइरहेको चुनावले मौसमलाई मात्र मोहक बनाएको छैन, चुनावलाई पनि मोहक बनाइदिएको छ।

रुख–बिरुवाले पालुवा फेर्ने यो मौसममा भइरहेको चुनावबाट प्रतिनिधि पनि फेर्ने संकेत दिएको छ। चुनावी अवस्थालाई गणितमाथि मतदाताको मनोविज्ञान हाबी भएको पाइन्छ। जसले चुनावलाई रंगीन र रोचक बनाइदिएको छ।

यस क्षेत्रमा नेपाली कांगेसबाट रामसुन्दर चौधरी, नेकपा एमालेबाट पूर्व सांसद रामशंकर यादव, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रामचन्द्र यादव, जसपा नेपालबाट सत्यनारायण यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अन्तरिम सरकारबाट राजीनामा दिएका बब्लु गुप्ता, जनमत पार्टीबाट रामस्वरुप चौधरीलगायत उम्मेदवार छन्।

पहिला विगतका चुनाव र यसका नतिजालाई हेरौँ।

२०४८ सालको आम निर्वाचनमा यस क्षेत्रबाट ११ हजार ८२४ मत ल्याएर नेपाली कांग्रेसका पद्मनारायण चौधरी निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी नेकपा(लोकतान्त्रिक) बाट चन्द्रशेखर लालले ११ हजार ३२० मत प्राप्त गरेका थिए।

२०५१ को आम निर्वाचनमा १५ हजार ५२५ मत ल्याएर नेपाली कांग्रेसका पद्मनारायण चौधरी दोहर्‍याएर जितेका थिए। नेकपा एमालेका राजेन्द्र चौधरीले १३ हजार ३०७ र राप्रपाका रामलोचन महतोले ८ हजार ३७३ मत ल्याएका थिए।

२०५६ को आम निर्वाचनमा नेकपा एमालेबाट रामचन्द्र यादव १४ हजार ८१० मत ल्याएर निर्वाचित भएका थिए। नेपाली कांग्रेसका पद्मनारायण चौधरी १३ हजार ८५५ मत ल्याएका थिए। राप्रपाबाट लगनलाल चौधरीले ९ हजार ४२८ , नेकपा मालेबाट रामशंकर यादवले ८ हजार १६४ मत र राप्रपा(चन्द) बाठ रामलोचन महतोले २ हजार १६० मत ल्याएका थिए।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट लक्ष्मण मेहताले ९ हजार ८१४ मत ल्याएर निर्वाचित भएका थिए। नेपाली कांग्रेसका पद्मनारायण चौधरीले ९ हजार ४०३, नेकपा एमालेका गंगाप्रसाद यादवले ६ हजार ३२७, सद्भावना पार्टीका राजकुमार गुप्ताले ३ हजार ३६, नेकपा माओवादीका कृष्णदेव सिंह दनुवारले ३ हजार ४३७ र राप्रपाका वैद्यनाथ प्रसाद साहले २ हजार ४३० मत ल्याएका थिए।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका पद्मनारायण चौधरी १२ हजार १८३ मत ल्याएर निर्वाचित भएका थिए। नेकपा माओवादीबाट मुनी साह सुडीले ८ हजार २७७ मत ल्याएका थिए।

संविधानसभाबाट संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभा निर्वाचन २०७४ मा नेपाली कांग्रेसबाट प्रदीप गिरीले २३ हजार ९५१ मत ल्याएर निर्वाचित भएका थिए। नेकपा एमालेबाट गंगा प्रसाद यादवले २१ हजार ३५१ मत प्राप्त गरेका थिए भने जसपाबाट राजलाल यादवले १३ हजार ३५१ मत ल्याएका थिए।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट रामशंकर यादवले २९ हजार ४६२ मत ल्याएर निर्वाचित भएका थिए। नेपाली कांग्रेसका पद्मनारायण चौधरीले २७ हजार ३७९ मत प्राप्त गरेका थिए।

विगतको चुनावी परिणामहरूमा मतको गणितले काम गरेको देखिन्छ भने २०६४ को पहिलो संविधानसभा निर्वाचनको परिणाममा गणित भन्दा मतदाताको मनोविज्ञानले काम गरेको देखिन्छ। बलिदानीपूर्ण पहिलो माघे मधेस विद्रोह लगत्तै भएको संविधानसभा निर्वाचनमा भर्खर दलको स्वरूप ग्रहण गरेको मधेसी जनअधिकार फोरमले दलगत मतमाथि विजय प्राप्त गरेको थियो। कारण, मतदाताको मनोविज्ञान जितेको थियो र दलगत मतको गणित पराजित हुन पुगेको थियो।

अब दोस्रो पक्ष हेरौँ। २०७९ को स्थानीय तह निर्वाचनको परिणामले के देखाउँछ। क्षेत्र नम्बर १ मा ५८ हजार ८५५ पुरुष र ५३ हजार ९४ महिला मतदाता गरी कूल १ लाख ११ हजार ९४९ मतदाता छ।

लहान नगरपालिका, भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, लक्ष्मीपुरपत्तारी गाउँपालिका र धनगढीमाई नगरपालिकाको १ र २ वडा यो निर्वाचन क्षेत्रमा पर्छ।

यी पालिकाहरूमा गत स्थानीय तह निर्वाचनमा कुन दलले कति मत ल्याएका छन्, हेरौँ। सखुवानन्कारकट्टी गाउँपालिकामा एकिकृत समाजवादी पार्टीबाट दोस्रो पटक अध्यक्ष निर्वाचित केदारनाथ यादव नेकपा एमालेमा आइसकेका छन्। उनी ३ हजार ४०७ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएका हुन्। नेपाली कांग्रेसका शत्रुधन प्रसाद साहले ३ हजार ३८१, जसपाका प्रयागलाल यादवले १ हजार ८०४, एमालेका हरिदेव चौधरीले ५७८ र माओवादी केन्द्रका हरिनन्दन यादवले ३९६ मत प्राप्त गरेका थिए।

भगवानपुर गाउँपालिकामा नेकपा एमालेका उग्रनारायण यादवले ४ हजार ३०२ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएका हुन। जसपा नेपालका बेचन प्रसाद यादवले ३ हजार २३९ मत, एकिकृत समाजवादीका चन्द्रनारायण यादवले १ हजार ४८, कांग्रेसका धर्मदेव यादवले ६६० मत ल्याएका थिए।

लहान नगरपालिकाको गत स्थानीय तह निर्वाचनमा कांग्रेस, जसपा र माओवादी केन्द्रको गठबन्धन थियो। यो निर्वाचनबाट कांग्रेसका महेशप्रसाद चौधरीले २० हजार १०५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन्। नेकपा एमालेबाट मुनी साह सुडीले ११ हजार ९६६ मत, एकिकृत समाजवादीबाट विनोद कुमार साहले २ हजार १५२ मत, जनमतबाट बालेश्वर यादवले ३६९ मत र लोसपाबाट महमुद आलमले २८६ मत ल्याएका थिए।

लक्ष्मीपुर पतारी गाउँपालिकामा नेपाली कांग्रेसका चतुरानन्द ठाकुर ३ हजार ८४५ मत ल्याएर अध्यक्ष निर्वाचित भएका थिए। नेकपा एमालेका देवनारायण साह ३ हजार ५८५ र जसपाका केदारनाथ यादवले २ हजार ९५८ मत ल्याएका थिए। धनगढीमाई नगरपालिकाको वडा नम्बर १ र २ मा नेपाली कांग्रेसका अध्यक्ष निर्वाचित भएका हुन।

विगतको यो तथ्यांकलाई आधार मान्ने हो भने यसपालिको चुनावी प्रतिस्पर्धा एमाले र कांग्रेसबिच नै हुने देखिन्छ। तर, रास्वपाबाट उम्मेदवार बब्लु गुप्ताको प्रवेशले यो तथ्यांकलाई खलबलाइदिएको छ। यसो हुनुमा जेनजी विद्रोह चाहिँ प्रमुख कारण होइन।

पहिलो कारण हो ‘बालेन फ्याक्टर’। दोस्रो कारण हो रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गाको अड्को फुकुवा र तेस्रो कारण हो गुप्ताका बुवा विष्णु साह बनिया। विष्णु लामो समय नेपाली कांग्रेसमा ‘भूँइ’ नेता बनेर गरेको काम। उनी जिल्ला उपसभापति सम्म भएका थिए। अहिले उनी कांग्रेस छोडेर रास्वपा बनेर छोरालाई साथ दिइरहेका छन्।

बब्लु यसअघि यस क्षेत्रका ‘भूँइ मान्छे’ को आम जीवनसँग जोडिएका विभिन्न सामाजिक कार्यहरू गर्दै आएका थिए।

रास्वपाले जनकपुरधाममा आयोजना गरेको पहिलो चुनावी सभामा बालेनको बोली सुन्न यस क्षेत्रका थुप्रा मान्छे जनकपुरधाम पुगेका थिए। बालेनलाई सुनेर फर्किएकाहरूको मनोविज्ञान अहिले बब्लुतर्फ मोडिएको छ। लहान नगरपालिका १९ घर भई लहान बजारमा सैलुन सञ्चालक विनोद ठाकुर भन्छन्,‘गाउँदेखि बजारसम्म बब्लुप्रतिको रुझान बढ्दो छ।’

यता, कांग्रेस, एमाले र जसपालाका उम्मेदवारलाई आफ्नो परम्परागत मत जोगाइराख्न सकस परिरहेको छ। यी दलहरू आफ्नो परम्परागत मत जोगाउन सके प्रतिस्पर्धामा अबल उत्रिन्छन् नभए ‘बालेन फ्याक्टर’ उलटफेर गरिदिन सक्ने आम मतदाताको बुझाई छ।

प्रकाशित: ११ माघ २०८२ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App