२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

नेकपा केन्द्रीय सदस्य शेर्पाले त्यागे पार्टी, राश्वपामा आबद्ध हुने संकेत

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मिङ्मा डण्डु शेर्पाले पार्टी परित्याग गरेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुने संकेत देखिएको छ।

राश्वपाका नेता तथा कार्यकर्ताले उनलाई आफ्नो पार्टीमा ‘स्वागत’ भनेका छन्। नेकपा केन्द्रीय सदस्यबाट लिखित रूपमै राजीनामा दिएका उनी आफैँले भने राजीनामा पत्रमा अबको राजनीतिक यात्राबारे बताएका छैनन्। तर, काठमाडौंमा राश्वपाले आयोजना गरेको कार्यक्रमा उनले मन्तव्य राखेका थिए।

ताप्लेजुङको फक्ताङलुङ गाउँ कार्यपालिका सदस्य समेत रहेका उनले राजीनामा पत्रमा नेपालको वामपन्थी आन्दोलनसँग जोडिएको २६ वर्ष यताको सहयात्रा टुङ्ग्याएको बताएका छन्। उनले पार्टीको साधारण सदस्य र अहिलेसम्मका सबै विभागीय जिम्मेवारी समेत त्यागेको राजीनामा पत्रमा लेखेका छन्। योङ कम्युनिष्ट लिग वाइसिएलको केन्द्रीय उपाध्यक्ष समेत रहिसकेका शेर्पाले जिल्ला, प्रदेश र केन्द्रीय तहमा कोषाध्यक्ष, सचिव र अन्तर्राष्ट्रिय विभाग प्रमुख समेतको जिम्मेवारी समेत सम्हालिइ सकेका उनी नेपाल क्रिकेट संघ क्यानको कोशी प्रदेश समितिका पूर्व अध्यक्ष समेत हुन्।

सुरुमा एमाले र त्यसपछि तत्कालीन नेकपा (माओवादी केन्द्र)मा रहेका उनले नेकपा परित्याग गर्ने आफ्नो निर्णय कुनै क्षणिक भावनाको उपज नभएको र अवसर नपाएको कुण्ठाबाट उत्पन्न भएको निर्णय नभएको बताएका छन्।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ जिल्ला समन्वय समितिको प्रमुखका लागि तत्कालिन माओवादी केन्द्रले उनको नाम अघि सारेको थियो। मनोनयन गर्नै लाग्दा उक्त पार्टीबाट फुङलिङ नगर कार्यपालिका सदस्य गंगाराम शंकरले उम्मेदवारी दर्ता गरेपछि शेर्पाले उक्त पार्टीबाट जिसस प्रमुख पदमा उम्मेदवारी दिन पाएनन्। पछि पार्टीले शंकरको उम्मेदवारी खारेज गरिदिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएको थियो।

तत्कालीन निर्वाचनमा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एसबाट शेर्पा समन्वय प्रमुख र नेकपा एसबाट छिरिङ लामा उपप्रमुख हुने गरी समझदारी थियो। शंकरको उम्मेदवारी खारेजी र शेर्पाको उम्मेदवारी दर्ता नभएपछि उपप्रमुखमा सहमति गरिएका छिरिङलाई गठबन्धनले प्रमुखको उम्मेदवारी बनाएको थियो भने उपप्रमुखमा कांग्रेस कृष्णप्रसाद लिङखिमले उम्मेदवारी दिए। समन्वय प्रमुख निर्वाचित छिरिङ अहिले नेकपा एमालेमा प्रवेश गरेका छन्।

प्रकाशित: ५ फाल्गुन २०८२ १४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App