म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुनको अग्रता कायमै छ। निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पुनले गणना हुन बाँकी मतभन्दा बढी मत अन्तरले अग्रता लिएका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना जारी छ।
मतगणनामा जिल्लाको पाँच पालिकाको मतगणनामा पुनले १८ हजार ८४७ मतसहित अग्रता कायम गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लाको धवलागिरि, मालिका, मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको मतगणना सकिँदा पुनले उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले भन्दा ११ हजार ९९५ बढी मत ल्याएका छन्। अब म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाको ६ हजार ५५८ मत मात्र गणना गर्न बाँकी छ।
एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा थिए भने जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो।
प्रकाशित: २३ फाल्गुन २०८२ ०५:२७ शनिबार





