नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले मैदान फेरिए पनि लक्ष्य उही रहेको बताएका छन्। आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
ज्ञानेन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आगामी निर्वाचन लागि समानुपातिक प्रतिनिधिको रूपमा मनोनीत छन्। उनले स्ट्याटस मार्फत रास्वपालाई आफूलाई दिएको जिम्मेवारीको लागि आभार प्रकट गरेका छन्।
उनले लेखेका छन्, ‘सबैभन्दा पहिले, म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति हार्दिक आभार प्रकट गर्दछु। म जस्तै खेल क्षेत्रमा लागेको व्यक्तिलाई विश्वास गरेर आगामी निर्वाचनका लागि समानुपातिक प्रतिनिधिको रूपमा मनोनीत गर्नु, खेलाडीलाई विश्वास गरी अवसर दिने यो साहस बिरलै देखिन्छ। यो विश्वास मेरो लागि मात्र नभई सम्पूर्ण खेल जगतकै लागि एउटा ठुलो सम्मान हो।’
उनी पछिल्लो समय राष्ट्रिय पुरुष क्रिकेट टोलीका सहायक प्रशिक्षक रूपमा आबद्ध थिए। उनले टोलीको सहायक प्रशिक्षकको भूमिका बाट बिदा लिएको समेत बताए। उनी लेख्छन् ‘यस नयाँ जिम्मेवारीसँगै, मैले नेपाल क्रिकेट टोलीको सहायक प्रशिक्षकको भूमिकाबाट नैतिकताको आधारमा बिदा लिएको जानकारी सबैमा स्पष्ट भइसकेको छ। खेल मेरो जीवनको अभिन्न हिस्सा हो, तर अहिले देशलाई अर्को रूपमा सेवा गर्ने समय आएको छ।विश्वकप खेल्न जाँदै गरेको नेपाली क्रिकेट टोलीलाई हार्दिक शुभकामना—फेरि एक पटक तपाईँहरूले हामी सबैलाई गौरवान्वित बनाउनुहुनेछ भन्ने पूर्ण विश्वास छ।’
प्रकाशित: ११ माघ २०८२ ११:२९ आइतबार





