१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

‘विधिको शासन’बाट विजय बरालको गायन डेब्यू

अभिनयसँगै स्वरमार्फत पनि सशक्त उपस्थिति

चलचित्र उद्योगमा सफल अभिनेताका रूपमा स्थापित विजय बरालले अब गायन क्षेत्रमा पनि डेब्यु गरेका छन्। गीत ‘विधिको शासन’ मार्फत उनले पहिलोपटक आफ्नो स्वर सार्वजनिक गरेका हुन्।

सन् २०१३ देखि अभिनय यात्रा सुरु गरेका बरालले छोटो समयमै दर्शकको मन जित्दै आफूलाई भाग्यमानी अभिनेताका रूपमा स्थापित गरेका छन्। ‘पूर्णबहादुरको सारङ्गी’ र ‘कबड्डी-४’ जस्ता चलचित्रमार्फत उनले नेपालकै सर्वाधिक कमाइ गर्ने चलचित्रमा अभिनय गर्ने उपलब्धि हासिल गरेका छन्। उनका चलचित्रहरूले बक्स अफिसमा अपेक्षाभन्दा बढी सफलता हासिल गर्दै उल्लेख्य रेकर्डसमेत बनाएका छन्।

अभिनयमा व्यस्तता र चर्चा दुवै बढिरहेका बेला बरालले गायनमा पनि हात हालेका छन्। हालै उनी चलचित्र ‘सिन्दुरे यात्रा’ का लागि अभिनेत्री अञ्जना बराइलीसँग अनुबन्धित भएका छन्। त्यससँगै उनले ‘विधिको शासन’ गीतमार्फत गायन यात्राको औपचारिक सुरुवात गरेका हुन्।

रङ्गमञ्च र चलचित्र पर्दामा अभिनयमार्फत दर्शकको मन जितेका बराल आइतबार सामाजिक सञ्जालमार्फत गीत सार्वजनिक गर्दै लेख्छन्, ‘देशले सुशासनको, समृद्धिको, खुसीको, आत्मसम्मानको गीत गाउन खोजेको धेरै भयो। वि.सं. १९९७ भन्दा अगाडीदेखि नै यस्ता गीतहरूको लय तयार हुँदै आएका थिए। शब्द लेखिँदै थिए, संगीत बनिरहेका थिए। २०८२ भदौ २३ ले अर्को एउटा धुन बोकेर आयो।’ उनले थपेका छन्, ‘हामीले त्यही धुन टिपेर यो गीत तयार पारेका छौँ।’

यो गीत मनोरञ्जनका लागि मात्र नभई वर्तमान राजनीतिक व्यवस्था र विद्यमान विसङ्गतिविरुद्धको सशक्त अभिव्यक्ति हो। प्रशान्त सिवाकोटीको संगीत र सौरभ कार्कीको शब्द रहेको गीतले देशको समसामयिक राजनीतिक अवस्थालाई चित्रण गरेको छ। विशेषगरी भदौ २३ र २४ गते काठमाडौंमा भएको ‘जेनजी’ आन्दोलन र त्यसले उठाएका मुद्दालाई गीतको मूल मर्म बनाइएको छ।

२०४० सालको जनआन्दोलनदेखि २०६२/६३ को परिवर्तन हुँदै पछिल्लो समयका युवा विद्रोहसम्मका भावनालाई समेट्दै ‘विधिको शासन’ ले चेतनशील र सन्देशमूलक गीतका रूपमा आफूलाई स्थापित गरेको छ।

बरालको गीत 

प्रकाशित: १२ माघ २०८२ १६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App