आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नम्बर-४ को चुनावी माहोल निकै तातिएको छ।
यस क्षेत्रमा आधा दर्जन ‘ह्याभी वेट’ नेताहरू चुनावी मैदानमा उत्रिएका छन्। पाँचजना पूर्वमन्त्रीहरू नै एक-अर्काविरुद्ध चुनावी मैदानमा होमिएपछि यहाँको नतिजा कसको पोल्टामा पर्ला भन्ने अनुमान लगाउन राजनीतिक विश्लेषकहरूलाई समेत कठिन भइरहेको छ।
मधेसको राजनीतिमा सधैं चर्चामा रहने सिरहाको यस क्षेत्रमा पुराना र अनुभवी नेताहरूसँगै उदाउँदो नयाँ शक्तिको आगमनले चुनावी अंकगणितलाई थप रोमाञ्चक बनाएको छ।
परम्परागत दलका प्रभावशाली नेताहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ उम्मेदवारहरूले चुनौती दिँदा यो क्षेत्रको भिडन्त अब सामान्य हारजितभन्दा माथि उठेर ‘प्रतिष्ठाको लडाइँ’ मा परिणत हुने देखिन्छ।
जसपा नेपालबाट पूर्वमन्त्री राजकिशोर यादव चुनावी मैदानमा उत्रिएका छन् भने पूर्वमन्त्री अजयशंकर नायक पनि नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिस्पर्धामा छन्।
विगतमा यसै क्षेत्रबाट निर्वाचित भइसकेका नायक आफ्नो पुरानो साख जोगाउने कसरतमा जुटेका छन्। यसपटकको चुनावमा अर्का प्रभावशाली नेता तथा पूर्वमन्त्री डाक्टर वीरेन्द्र महतो पनि मैदानमा छन्।
२०७९ को निर्वाचनमा जसपाबाट जितेका महतो यसपटक भने जनमत पार्टीको बलमा चुनावी मैदानमा होमिएका छन्। डा. सिके राउत नेतृत्वको जनमत पार्टीको बढ्दो प्रभावलाई भोटमा परिणत गर्ने उनको योजना छ।
यता पूर्वमन्त्री धर्मनाथ साह नेपाली कम्युनिष्ट पार्टीबाट टिकट नपाएपछि उनले दल बदलुको राजनीति गर्दै नेकपा एमालेको टिकट हत्याउन सफल भएका छन्।
एमालेको बलियो संगठन र आफ्नो व्यक्तिगत प्रभावका आधारमा उनी चुनावी नतिजा आफ्नो पक्षमा पार्न सक्रिय छन्। यसैगरी, बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री वीसेन्द्र पासवान पनि यही क्षेत्रबाट उम्मेदवारी दिँदै चुनावी दौडमा सामेल भएका छन्।
यी ‘ह्याभी वेट’ उम्मेदवारहरूका बीचमा नेपाली कांग्रेसले भने महिला उम्मेदवारलाई अघि सारेको छ। कांग्रेसले चन्द्रकला देवी यादवलाई टिकट दिएर चुनावी मैदानमा उतारेको छ।
पुराना दल र नेताहरूप्रति बढेको वितृष्णा क्यास गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तपेश्वर यादव चुनावी मैदानमा छन्।
बालेन शाह र देशव्यापी रूपमा रास्वपाको घण्टी लहर चलेको सन्दर्भमा सिरहा–४ मा पनि त्यसको प्रत्यक्ष प्रभाव देखिने स्थानीयहरू बताउँछन्।
तपेश्वर यादवले ‘बालेन फ्याक्टर’ र नयाँ राजनीतिक तरङ्गलाई आधार बनाएर दिग्गज पूर्वमन्त्रीहरूलाई चुनौती दिइरहेका छन्। भौगोलिक र जनसांख्यिक हिसाबले पनि यो क्षेत्र महत्त्वपूर्ण मानिन्छ।
यस क्षेत्रमा कर्जन्हा र मिर्चैया गरी दुई नगरपालिका पूर्ण रूपमा पर्दछन् भने नरहा गाउँपालिका र विष्णुपुर गाउँपालिकाका ६ वटा वडा पनि यसै क्षेत्रभित्र समेटिएका छन्।
निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार यस क्षेत्रमा कुल १ लाख ६ हजार ६८६ मतदाता रहेका छन्, जसमा पुरुष मतदाताको संख्या ५६ हजार ७१७ छ भने महिला मतदाता ४९ हजार ९६९ रहेका छन् । मतदानका लागि १२९ मतदान केन्द्र निर्धारण गरिएको छ।
विगतको चुनावी इतिहासलाई फर्केर हेर्दा यहाँका मतदाताले कुनै एक दल वा व्यक्तिलाई मात्र निरन्तरता दिएको पाइँदैन। प्रजातन्त्र पुनर्स्थापनापछिको २०४८ सालको आम निर्वाचनमा स्वतन्त्र उम्मेदवार राजदेव गोइत ११ हजार ९१९ मत ल्याएर निर्वाचित भएका थिए भने संयुक्त जनमोर्चाका रामकुमार यादवले ८ हजार ८७२ मत ल्याएका थिए।
२०५१ सालको आम निर्वाचनमा उनै राजदेव गोइत नेपाली कांग्रेसबाट उम्मेदवार बन्दै ११ हजार ८२९ मतका साथ पुनः विजयी भए। त्यसबेला राप्रपाका विश्वेश्वर मरबैताले ११ हजार ४६२, सद्भावनाका हेमनारायण यादवले ८ हजार ८१० र नेपाल जनवादी मोर्चाका रामराजा प्रसाद सिंहले ४ हजार ९२८ मत ल्याएका थिए।
२०५६ सालको निर्वाचनमा भने नेकपा एमालेका हेमनारायण यादव १९ हजार २३५ मत ल्याएर भारी मतका साथ निर्वाचित हुँदा कांग्रेसका चन्द्रनारायण यादव १६ हजार ८६६ मतमा सिमित भए भने राप्रपाका राजदेव मरबैताले ११ हजार ९२३ मत ल्याएका थिए।
मधेस आन्दोलनको रापतापपछि भएको पहिलो संविधानसभा निर्वाचन २०६४ मा मधेसी जनअधिकार फोरमका शत्रुधन सिंह कोइरी ११ हजार ७७९ मतसहित उदाएका थिए।
सो निर्वाचनमा एमालेका रामऔतार यादवले ८ हजार ५४२ र जनमोर्चा नेपालका रामरिझन यादवले ५ हजार ६२१ मत प्राप्त गरेका थिए।
२०७० सालको दोस्रो संविधानसभामा भने नेपाली कांग्रेसले पुनरागमन गर्दै रामचन्द्र यादवलाई ८ हजार ८०५ मतका साथ विजय गरायो भने एमालेका रामऔतार यादव ८ हजार ५६० मतमा रोकिए।
२०७२ सालको नाकाबन्दीसहितको मधेस आन्दोलनपछि भएको २०७४ को निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट राजकिशोर यादव २१ हजार १४४ मत ल्याएर निर्वाचित भए।
माओवादीका अजयशंकर नायकले १७ हजार ५७५ मत र कांग्रेसका मुख्तार अहमतले १० हजार ८८ मत ल्याएका थिए। पछिल्लो पटक २०७९ को निर्वाचनमा जसपा नेपालबाट डाक्टर वीरेन्द्र प्रसाद महतो २४ हजार १०२ मत ल्याएर फराकिलो अन्तरले निर्वाचित भएका थिए।
उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहले १६ हजार २९४ मत ल्याएका थिए भने एकीकृत समाजवादीबाट लडेका धर्मनाथ प्रसाद साहले १४ हजार ६५३ मत पाएका थिए। सो समयमा रास्वपाका विमल कुमार तिवारीले १ हजार ६ सय ८३ मत मात्र ल्याएका थिए।
स्थानीय तहको निर्वाचन परिणामले पनि यस क्षेत्रमा दलहरूको मिश्रित अवस्था देखाउँछ। कर्जन्हा नगरपालिकामा एमालेका भोला प्रसाद पोखरेल ३ हजार ८३९ मत ल्याएर मेयर निर्वाचित भएका छन् भने जसपाका केशव प्रसाद साहले ३ हजार २२३ र माओवादीका गंगा पासवाले २ हजार ४८२ मत ल्याएका थिए।
यस्तै, मिर्चैया नगरपालिकामा माओवादीबाट श्रवण कुमार यादव ५ हजार २३३ मत ल्याएर मेयर निर्वाचित भएका छन्। त्यहाँ कांग्रेसका सीताराम यादवले ४ हजार ७१० मत र एमालेबाट प्रदीप महासेठले ३ हजार ७०४ मत ल्याएका छन्।
यस क्षेत्रमा पर्ने नरहा गाउँपालिका वडा नम्बर-३ मा एमाले, ४ मा जसपा र ५ मा माओवादीबाट अध्यक्ष निर्वाचित भएका छन् भने विष्णुपुर गाउँपालिकाको वडा नम्बर-२ मा जसपा, ३ मा कांग्रेस र ४ मा कांग्रेसका अध्यक्ष निर्वाचित भएका छन्।
स्थानीय तहको यो मत विभाजनले संसदीय निर्वाचनमा कुनै पनि दलको एकल पकड नरहेको स्पष्ट पार्छ।
एमालेको संगठन लिएर आएका पूर्वमन्त्री धर्मनाथ साह, जनमतको लहरमा सवार पूर्वमन्त्री डा. वीरेन्द्र महतो र जसपाको साख जोगाउन लागिपरेका राजकिशोर यादवबीचको त्रिपक्षीय भिडन्त देखिन्छ।
त्यसमाथि माओवादीका अजयशंकर नायक र कांग्रेसकी चन्द्रकला यादवको उपस्थिति पनि कमजोर छैन। तर, यी सबै समीकरणलाई भत्काउन सक्ने ‘डार्क हर्स’ का रूपमा रास्वपाका तपेश्वर यादवलाई हेरिएको छ।
‘ह्याभी वेट’ उम्मेदवारहरूलाई टक्कर दिइरहेको ‘बालेन फ्याक्टर’ ले यहाँको चुनावी रंगलाई तरंगित बनाइदिएको छ। तपेश्वर यादवले बालेन लहरलाई हावा दिएर दिग्गज उम्मेदवारहरुलाई टक्कर दिइरहेको स्थानीयहरु बताउँछन्।
फागुन २१ गते हुने मतदानले नै यो रोचक भिडन्तको अन्तिम फैसला गर्नेछ।
प्रकाशित: १२ माघ २०८२ १५:५२ सोमबार





