उदयपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रौता पोखरीमा यसवर्ष पहिलोपटक बाक्लो झार उम्रिएपछि यसको अलौकिक सौन्दर्य संकटमा परेको छ।
बाह्रैमास कञ्चन रहने पोखरीको पानी सुक्नु वा धमिलिनुलाई अशुभ संकेत मान्ने स्थानीय जनविश्वासका कारण भक्तजन तथा स्थानीयमा चिन्ता बढाएको छ।
रौतामाई गाउँपालिका–६ मा अवस्थित पोखरीमा यस वर्ष पानीको सतह घटेसँगै रातो कैलो रङको झारले ढाकेर पानी नै नदेखिने अवस्था भएको छ।
‘पोहोर-परार आउँदा कञ्चन पानी मात्र थियो, अहिले कताबाट झारैझार भएछ,’ सुनसरीबाट आएकी भक्तजन हेमा मगरले आश्चर्य व्यक्त गर्दै भनिन्। वर्षेनी दर्शनका लागि आउने गरेका सिराहाका अवधेश साहले पनि पोखरीको यस्तो दुर्दशा पहिलोपटक देखेको बताए।
रौता पोखरीको मुख्य आकर्षण नै यसको सधैँ सफा रहने पानी हो। वरिपरि घना जङ्गल भएर पनि पातपतिङ्गर नदेखिनुलाई अलौकिक शक्तिको देन मानिन्छ। बिहान झिसमिसेमै अदृश्य चराहरूले पोखरी सफा गर्ने गरेको किंवदन्ती छ। यही पोखरीको पानी सुकेमा देशमा कुनै अप्रिय घटना घट्छ भन्ने जनविश्वास रहिआएको छ।
पोखरीको दुर्दशाप्रति चिन्ता व्यक्त गर्दै मन्दिरका पुजारी खड्गबहादुर अधिकारीले स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर सरसफाइ अभियान चलाउने तयारी भइरहेको जानकारी दिए। ‘पोखरीको आकर्षण नै हराउन लाग्यो, वडा, गाउँपालिका र धार्मिक विकास संस्थासँग मिलेर छिट्टै सफा गर्छौं,’ उनले भने।
यसैबीच, स्थानीय सामाजिक अभियन्ता बुद्धि चामलिङको नेतृत्वमा केही भक्तजनले शुक्रबार पोखरीको झार उखेलेर सरसफाइ अभियानको सुरुवात गरेका छन्।
उनीहरूले आधा घण्टामै करिब डेढ सय किलो झार निकालेका थिए। भक्तजनले पूजापछि जथाभावी फाल्ने फोहोरका कारण पनि पोखरी क्षेत्र प्रदूषित बन्दै गएको छ।
प्रकाशित: ३१ जेष्ठ २०८२ १६:१३ शनिबार





