लमजुङको सुन्दरबजार नगरपालिकामा शनिबार एक घरमा लागेको आगो नियन्त्रण बाहिर गएपछि सम्भावित क्षति रोक्न जेसीबी प्रयोग गरी घर भत्काइएको छ। आगलागीबाट स्थानीय गोविन्द बोहोराको दुईतले घर पूर्ण रूपमा नष्ट भएको छ भने मध्यरातमा मात्र आगो नियन्त्रणमा आएको थियो।
जिल्ला प्रहरी कार्यालय, लमजुङका अनुसार सुन्दरबजार–६ बरेटारस्थित बोहोराको कच्ची घरमा विद्युत् सर्ट भई शनिबार बिहान ११:५५ बजे आगलागी भएको थियो। आगोले विकराल रूप लिई नजिकैको बाक्लो बस्तीमा फैलिने जोखिम बढेपछि सुरक्षा निकाय र स्थानीयको संयुक्त प्रयासमा नियन्त्रणको प्रयास गरिएको थियो।
घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानीयवासी र बेसीशहर नगरपालिकाको दमकलले आगो नियन्त्रणको प्रयास गरेका थिए। तर, लामो प्रयासका बाबजुद आगो नियन्त्रणमा नआएपछि सुरक्षा निकाय र स्थानीयको सहमतिमा घर भत्काइएको र त्यसपश्चात् राति १:१५ बजे आगो पूर्ण नियन्त्रणमा आएको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक राज किशोर साह तेलीका अनुसार आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति भएको छैन। क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ३१ जेष्ठ २०८२ १५:२८ शनिबार





