प्राचीन तिलौराकोट नजिकै रहेको रामघाट नदी किनारलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित ‘शिवधाम’ र पार्क निर्माण कार्य सुरु गरिएको छ।
सांसद तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा सुरु भएको यस परियोजनाले ऐतिहासिक क्षेत्रको धार्मिक महत्वलाई पर्यटनसँग जोड्ने विश्वास गरिएको छ।
सोमबार आयोजित एक समारोहमा सांसद आचार्य र लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले संयुक्त रूपमा पूजाआजा गरी परियोजनाको शिलान्यास गरे।
इन्जिनियर राजेश सैनीका अनुसार, परियोजनाअन्तर्गत कुल १६७ मिटर लामो पोखरी निर्माण गरिनेछ, जसको बीचमा भगवान् शिवको विशाल मूर्ति स्थापना गरिनेछ। यस वर्ष ५१ मिटर पोखरी निर्माणको काम हुनेछ। पोखरीको दुवैतर्फ ३ फिट चौडा फुटपाथ, सजावट र मलामी प्रतीक्षालयसमेत निर्माण गरिनेछ।
परियोजनाका लागि चालु आर्थिक वर्षमा ९० लाख रुपैयाँ विनियोजन भएकोमा ६८ लाखमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको हो। आगामी आर्थिक वर्षका लागि यही परियोजनामा ३ करोड रुपैयाँ बजेट सुनिश्चित भइसकेको छ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद आचार्यले रामघाटको धार्मिक आस्थालाई पर्यटनसँग जोड्न शिवधामले महत्वपूर्ण भूमिका खेल्ने बताए।
‘विशेषगरी साउनमा हजारौं भक्तजन सहभागी हुने बोलबम काँवर यात्राका लागि समेत प्रसिद्ध रामघाटलाई यो धामले थप आकर्षित र व्यवस्थित बनाउनेछ,’ उनले भने, ‘आवश्यक बजेटका लागि म निरन्तर पहल गर्नेछु।’
प्रदेश सभा सदस्य पाण्डेय र कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले पनि परियोजनालाई सफल बनाउन प्रदेश र स्थानीय तहबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए। मेयर पौडेलले भने, ‘जिल्लाकै ऐतिहासिक स्थलमा बन्ने यो धामले ठूलो संख्यामा पर्यटक भित्र्याउन मद्दत गर्नेछ।’
कस्तुरी निर्माण सेवाले जिम्मा लिएको चालु वर्षको काम आगामी असार २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। वडा नम्बर-३ का अध्यक्ष प्रकाश गैरेले शिवधाम निर्माणले यस क्षेत्रको धार्मिक महिमा अझ बढाउने र पर्यटकको आगमन बढाउने विश्वास व्यक्त गरे।
प्रकाशित: २६ जेष्ठ २०८२ २१:४४ सोमबार





