‘घरमुली खराव भए परिवारका सदस्यले दुःख पाउँछन्, नेता नराम्रा परे जनतालाई कहर हुन्छ’ भन्ने भनाई त्यत्तिकै चलेको होईन । उदयपुरको पूर्वी–मध्यवर्ती भूगोल चौदण्डीगढी नगरपालिकाको अवस्था यो भनाईसँग ठ्याक्कै मिल्दोजुल्दो छ ।
नेता असक्षम भएकैले चौदण्डीगढी नगरबासी सङ्घीय लोकतान्त्रिक गणतन्त्रकालमा पनि डुङ्गे युगमा बाँच्नुपर्ने अवस्थामा छन् । अधिकतर भूभाग पहाड, खोँच र भित्री मधेसले भरिएको चौदण्डीगढी जनसङ्ख्या र क्षेत्रफलको हिसावले जिल्लको तेस्रो ठूलो स्थानीयतह हो । पुल अभावमा १० वडामध्ये भित्री मधेसमा पर्ने ५, ९ र १० नं. वडाका सुन्दरपुर, शिवाई, ज्यामिरे र हडियाक्षेत्रबासी जनता वर्षौँदेखि त्रियुगा नदीको कहर खेप्न बाध्य छन् ।
विकास निर्माणको सेवा सुविधाले भरिपूर्ण हुनुपर्ने गणतान्त्रिक युगमा त्रिुयुगामा पुल नबन्दा हरेक वर्षायामको बाढीले डुबान र कटानको चपेटामा पार्ने मात्र होईन, वडा कार्यालय र नगरमुकाम बेलटार बजार आउजाउ गर्न डुङ्गाकै सहारा नलिई सुख छैन । वर्षेनी पुल माग गरे पनि सरकारको ध्यान नगएका कारण ज्यामिरे, हडिया, सुन्दरपुरलगायत आधादर्जन बढी बस्तीबासीहरु वडा कार्यालय पुग्न र बेलटार आउजाउ गर्न त्रियुगामा डुङ्गा तर्नैपर्ने बाध्यतामा छन् ।
असार मसान्तमा चालु आर्थिकवर्षको विकास निर्माण योजनाको अनुगमन, भुक्तानी र फरफरक गर्न वडा र नगरपालिका कार्यालय बाक्लो रुपमा आउजाउ गर्नुपर्ने हुन्छ । यही बेलामा बाढी आउने हुनाले पुल अभावमा डुङ्गाको सहारा लिनुपरेको १० नं. वडाध्यक्ष धर्मराज खड्काले बताए । विहान ७ः०० बजेदेखि राति ९ः०० बजेसम्म डुङ्गा चलाएर स्थानीयलाई नदी वारपार गराउने गरेको वडाले जनाएको छ ।
सो डुङ्गा सञ्चालन गर्न नगरपालिकाले वर्षेनी ठेक्का नै लगाउदै आएको छ । नगर प्रवक्ता तथा ९ नं. वडाध्यक्ष प्रकाश राउतका अनुसार हिउदमा ह्युमपाइप राखेर हडिया–बेल्टार यातायात सञ्चालन हुने गरेको छ । तर, वर्षामा बाढीले आउजाउ गर्न नदिने हुँदा डुङ्गा चलाउनुपर्ने बाध्यता आईपरेको हो ।
वडाबासीलाई डुङ्गा चढेवापत शूल्कसमेत तिर्नुपर्ने बाध्यता छ । निःशूल्क डुङ्गा चढाउने योजना भए पनि माझीलाई तलब भत्ता दिनुपर्ने भएकाले शूल्क लिन बाध्य भएको प्रवक्ता राउतले बताए । उनका अनुसार डुङ्गामार्फट नदी वारपार गर्न एकतर्फी शूल्क प्रतिव्यक्ति ५० रुपैयाँ लिने गरिएको छ भने खसी बाख्रा चौपायाको प्रतिगोटा २०, चामल प्रतिबोरा ५ रुपैयाँ र अन्य सामानको पनि तौल अनुसार शूल्क लिने गरिएको छ ।
चालु वर्ष डुङ्गा सञ्चालन गर्न नगरपालिकाले १ लाख ७५ हजार रुपैयाँमा एउटा डुङ्गा खरिद गरेर ल्याएको छ । उक्त डुङ्गा चलाउन वार्षिक ४० हजारमा ठेक्का लगाइएको छ । त्रियुगा नदीको बाढीको चपेटाबाट पार पाउन नगरपालिकाले वर्षेनी डुङ्गा सञ्चालन गर्दै आएको छ ।
चौदण्डीगढी नगरपालिका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा पर्छ भने नेपाली काँग्रेसका नेता डा. नारायण खड्का सो क्षेत्रबाट लगातार ४ कार्यकाल निर्वाचित साँसद हुन् । ०६४ को संविधानसभा चुनाव हारेयताका सबै चुनावमा उनी रित्तो हात फर्कनु परेको छैन । पार्टीको केन्द्रीय सदस्यसमेत रहेका खड्का चुनाव जितेपछि पटकपटक आकर्षक मन्त्रालय सम्हाल्ने अवसर पाईसके पनि ज्यामिरेमा पुल बनाउन गरेको जनताको मागप्रति बेवास्ता गरेको आरोप उनीमाथि छ ।
यता प्रदेशसभातर्फ नेकपा (माओबादी केन्द्र)का नेता राजन किराती सो क्षेत्रका साँसद छन् । उनीभन्दा अगाडि एमाले नेता बिमल कार्की साँसद थिए । उनीहरु दुवैलाई ज्यामिरेमा पुल बनाउन नगरपालिकामार्फत र व्यक्तिगत भेटेर स्थानीयले पटकपटक माग गरेको स्मरण गर्छन् ।
डा. खड्काले भने ज्यामिरेमा पुल हाल्न धेरै वर्षदेखि पहल गरिरहेको र आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा समेटिएको बताए । उनले त्यसका लागि छिट्टै डिपिआर थाल्ने गरी सम्बन्धित मन्त्रालयमा कुरा गरिहाल्ने वचनबद्धता पनि जनाए । डा. खड्काले आफु मन्त्री हुँदा या साँसद मात्र रहँदा पनि पुल बनाउन सँधै सरकारको ध्यानाकर्षण गराउँदै आएको बताउँदै अव छिट्टै पुल बन्नो बताए । त्रियुगाकै हडिया–देवधार जोड्ने गरी पक्की पुल आफ्नै पहलमा निर्माणाधीन रहेको बताउँदै ज्यामिरेमा पक्की पुल बन्नुअघि बिकल्पको रुपमा केही तल त्रियुगामै झोलुङ्गे पुल बनाउने काम भईरहेको पनि डा. खड्काले बताए ।
रौतामाई गाउँपालिका ६ रौतापोखरी शीर भएर ७ नं. वडा मुर्कुची हँुदै त्रियुगा नगरपालिका ७, ८, ९, ११, १२ र १३ भएर चौदण्डीगढी सीमा १०, ९, ५, ४, ३ र २ नं. वडालाई छुने त्रियुगा नदीले वर्षेनी स्थानीयलाई कटान र डुबानको समस्यामा पार्दै आएको छ । खासगरी ९, १० र ५ नं. वडाबासीलाई नदीले बढी प्रभावित पार्ने गरेको छ ।
स्थानीयतह पुनर्संरचनापछि नगरपालिका, प्रदेश र सङ्घीय सरकारलाई नगरप्रमुख, साँसद, मन्त्री हुँदै प्रधानमन्त्रीलाई पनि पटकपटक पुल माग गरे पनि अहिलेसम्म संभव नभएको स्थानीय गङ्गा श्रेष्ठले बताए । नेता मन्त्रीलाई सुनाउँदा सँधै आस मात्र देखाउने, तर पुल बनाउनेतर्फ भने कसैको चासो नगएकाले वर्षेनी डुङ्गा चढ्न बाध्य हुनुपरेको अर्का स्थानीय राजन दुलालले बताए ।
उता चौदण्डीगढी ५ शिवाईथित निर्माणाधीन पक्की पुल ३ वर्षअघि सम्पन्न हुनै लाग्दा् बाढीले २ वटा पिल्लर बङ्ग्याएपछि पुननिर्माण हुन सकेको छ न अर्को नयाँ निर्माणकै सुरसार । अहिलेसम्म अत्तोपत्तो छैन । त्यस्तै ज्यामिरेमा पुल नहुँदा हडिया र ज्यामिरेबासीलाई बेलटार पुग्न डुङ्गा तर्न बाध्य हुनुपरेको हो । १० नं. वडाध्यक्ष धर्मराज खड्काले पुल नहुादा हरेक वर्षायाममा त्रियुगामा आउने बाढी पार गरेर बेलटार आउजाउ गर्न डुङ्गाको जोहो गर्ने गरेको बताए । सोही अनुसार यसवर्ष पनि डुङ्गा सञ्चालनमा ल्याइएको उनी बताउँछन् ।
प्रकाशित: २५ जेष्ठ २०८२ १५:०९ आइतबार





