२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

गुरुङ बस्तीको कथा बोकेर खुल्दै नयाँ पदमार्ग

तस्बिर: बिक्रान्त राज घले

लमजुङ, कास्की र मनाङका प्राचीन गुरुङ बस्तीहरूलाई जोड्दै ऐतिहासिक नुन बोक्ने र भेडीगोठका मार्गलाई पुनर्जीवित गरी नयाँ पर्यटकीय पदमार्ग ‘गुरुङ सम्पदा पदमार्ग’ को विकास गरिने भएको छ।

गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन), गण्डकीले सन् २०२६ सम्ममा पूर्ण सञ्चालनमा ल्याउने लक्ष्यसहित पदमार्गको तेस्रो चरणको खोज तथा अन्वेषण सुरु गरेको छ।

जिटिन गण्डकीका संस्थापक अध्यक्ष तथा पदमार्ग कार्यक्रम संयोजक बोबरजङ गुरुङका अनुसार यो पदमार्गले पहाडी तथा हिमाली भेगका कोरी, क्होलासोँथर, ठूलो लेक, थुर्जु, दूधपोखरीदेखि मनाङको तिमाङसम्मका भूभागलाई समेट्नेछ।

‘हाम्रो लक्ष्य लमजुङका प्राचीन गाउँहरूलाई समेट्दै तिनीहरूको मौलिकता र संस्कृतिलाई पदयात्रा पर्यटनमार्फत विश्वसामु प्रवर्द्धन गर्नु हो,’ उनले भने।

पदमार्ग विकासको तेस्रो चरणअन्तर्गत संघले नेपाल पर्यटन बोर्ड, क्होलासोँथर र मर्स्याङ्दी गाउँपालिकाको सहकार्यमा शुक्रबारदेखि खोज तथा अन्वेषण सुरु गरेको छ।

संघका अध्यक्ष किसम कुमारी गुरुङका अनुसार टोलीले पोखराबाट लम्जुङको सिङ्दी, पसगाउँ, भुजुङ, घनपोखरा हुँदै दूधपोखरी, गुरुङ देउराली, सिउरुङलगायतका स्थान हुँदै पुनः पोखरासम्मको अनुसन्धानात्मक पदयात्रा गर्नेछ।

यो पदमार्ग घोषणासँगै लमजुङको क्होलासोँथर-५ स्थित सिङ्दी सामुदायिक होमस्टे उत्साहित बनेको छ। होमस्टेका अध्यक्ष हुकुमबहादुर गुरुङले पदमार्गले गाउँको पर्यटनमा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे।

‘हामीले २०७६ देखि नै होमस्टे चलाए पनि औपचारिक दर्ता भर्खरै गरेका हौँ,’ उनले भने, ‘अब पदयात्रा पर्यटनसँग जोडिएर गाउँमा थप पर्यटक भित्र्याउनेछौँ।’ सिङ्दीका २३५ घरमध्ये २० घरमा होमस्टे सञ्चालनमा छन्, जहाँ दैनिक ३०० जनासम्म पर्यटकलाई राख्न सकिन्छ।

वडा नं. ५ का अध्यक्ष गीतबहादुर गुरुङले सिङ्दीमा कागुनोको भात, कोदो-मकैका परिकार जस्ता स्थानीय स्वाद र सोरठी, घाँटुजस्ता मौलिक संस्कृति पर्यटकका लागि मुख्य आकर्षण रहेको सुनाए।

गाउँबाट कर्पुडाँडा जोड्न १३ सय मिटर सिँढी निर्माण भइसकेको र पोखराबाट सिधा यातायात सञ्चालन भए पनि सडक स्तरोन्नति भने आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित: २४ जेष्ठ २०८२ १५:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App