२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

दुई जनाको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रण, स्थानीय खुसी

गुलरिया नगरपालिका–५ को बालापुर सामुदायिक वनमा लुकेर बसेको नरभक्षी चितुवा अन्ततः केजमा फसेको छ। विगत चार महिनामा चार जनामाथि आक्रमण गरी दुई जनाको ज्यान लिने उक्त चितुवालाई वन्यजन्तु प्राविधिक टोलीले नियन्त्रणमा लिएको पुष्टि भएको छ।

गत बुधबार गुलरिया–५, बालापुरमा हजुरबुवासँग खेलिरहेकी ७ वर्षीया सायरा चौधरीमाथि चितुवाले आक्रमण गरी ज्यान लिएको थियो। त्यस्तै, खेतमा हजुरबुवा र आमासँगै रहेकी ९ वर्षीया सृजन थारुलाई पनि चितुवाले आक्रमण गरेको थियो, तर हजुरआमाले उनलाई चितुवाको मुखबाट खोसेर बचाएकी थिइन्।

यसैगरी, वैशाख १५ मा गुलरिया डम्पिङ साइट नजिकै ९ वर्षीया मेलिना चितुवाको आक्रमणमा परिन्। गेरुवा गाउँपालिकाकी मेलिना व्रतबन्धको निम्तो मान्न गुलरिया आएकी थिइन्। त्यस्तै, बालापुरकै ६५ वर्षीय भिक्कुलाल थारु चितुवाको आक्रमणबाट घाइते भएका थिए, तर उपचारपछि उनी सामान्य अवस्थामा घर फर्किएका छन्।

एक साताको अथक प्रयासपछि नियन्त्रणमा लिइएको उक्त चितुवालाई डिभिजन वन कार्यालय, बर्दियामा राखिएको छ। चितुवा नियन्त्रणका लागि एनटिएनसी, निकुञ्ज र वनका प्राविधिक टोलीले हात्ती र डार्ट गनको सहयोगमा खटिएका थिए। 

डिभिजन वन कार्यालयका अनुसार नियन्त्रणमा लिइएको चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जमा छोड्ने तयारी भइरहेको छ। यद्यपि, बालापुर र आसपासका वन क्षेत्रमा अझै तीनवटा चितुवा रहेको स्थानीयले आशंका व्यक्त गरेका छन्। 

प्रकाशित: २१ जेष्ठ २०८२ ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App