नेकपा एमालेका उप-महासचिव योगेशकुमार भट्टराईले संसद पुनर्स्थापनासहितका संवैधानिक प्रकृयाका विषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताएका छन्।
संवैधानिक विषयको छिटो निरुपण नहुँदा थप संवैधानिक जटिलता उत्पन्न हुन सक्ने भन्दै उनले सर्वोच्च अदालतले संसद पुनर्स्थापनासहितका संवैधानिक प्रकृयाका विषयको निरुपणमा गरेको ढिलाइप्रति संशय व्यक्त गरे। एमाले उप-महासचिवमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला ताप्लेजुङ आएका उनले प्रेस चौतारी ताप्लेजुङले फुङलिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधान र लोकतन्त्र पुनर्स्थापित गर्न एमालेले संसद पुनर्स्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्ने बताए।
संविधानलाई जीवित राख्न, लोकतन्त्रलाई प्राण दिन र लोकतन्त्रको निरन्तरताका लागि प्रतिनिधिसभा अनिवार्य भएको बताउँदै उनले अदालतले संसद पुनर्स्थापना सम्बन्धमा परेको मुद्दाको शीघ्र निरुपण गर्न जरुरी रहेकोमा जोड दिए। संसद पुनर्स्थापना नभए मुलुक फागुन २१ को निर्वाचनमा केन्द्रित हुने उनको भनाइ थियो।
प्रतिनिधि सभाको विघठन संवैधानिक नभएकाले त्यसको संवैधानिक परीक्षण– अदालतबाट होस् भन्ने एमालेसहितका लोकतान्त्रिक शक्तिहरूको मान्यता रहेको भट्टराईको भनाइ थियो। सुरक्षाको उचित पूर्व तयारी नहुँदा भदौ २३ गतेको अप्रिय घटना भएको र उक्त घटना राज्यको कमजोरीको रूपमा रहने बताउँदै भट्टराईले आन्दोलनलाई भड्काउने मानिसहरूका कारण आवश्यकताभन्दा ज्यादा बल प्रयोग हुन पुगेको बताए। उनले भदौ २४ गतेको घटनालाई क्रान्तिको रूपमा नभई विध्वंसको रूपमा बुझ्नुपर्ने बताए।
राज्यका संयन्त्रले भदौ २३ को घटनामा सुरक्षाको उचित र प्रभावकारी व्यवस्थापन गर्न सकेको भए भदौ २४ को अवस्था नआउने उनको तर्क थियो। हरेक संस्थागत संगठनमा लोकतन्त्रको अभ्यास हुँदा एकपक्ष जित्ने र अर्को पक्ष हार्ने भए पनि पार्टीमा हार्नेको भन्दा जित्नको दायित्व बढी हुने भएकाले पराजितहरूको आकाँक्षालाई समेट्दै पार्टी नेतृत्व अघि बढ्नुपर्ने उनको भनाइ छ।
भट्टराईले एमाले महाधिवेशनबाट पराजित भएकाहरू नेपाली कम्युनिष्ट पार्टीसहितका अन्य दलमा जान सक्छन् भन्ने आशंका नपाल्न आग्रह गर्दै भने, ‘तपाईँहरूको सपना मनको लड्डु घीउसँग खानु बराबर मात्र हुने छ।’ उनले एमालेले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक सूची अब पार्टीको आधिकारिक धारणा रहेकोमा प्रष्ट हुनुपर्ने बताए।
‘हामीले बैठकमा पटक–पटक यसअघि समानुपातिकको अवसर पाएकालाई नराखी अवसरबाट वञ्चितलाई समेटौं भन्यौं, बैठकमा आफ्ना सुझाव राख्यौं, अब पेस भएको सूची मान्नुपर्छ,’ भट्टराईले भने। उनले एमाले ताप्लेजुङबाट ५ जनाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भए पनि सर्वसम्मत रूपमा एक जना एमालेका उम्मेदवार हुने अरु कमाण्डर भई पार्टीलाई जिताउने बताए। पहिले पार्टी, दोस्रो चिह्न र तेस्रो मात्र व्यक्ति हुने उनको भनाइ थियो।
कार्यक्रममा संगै रहेका एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले भदौ २३ र २४ गतेको घटना बाहिरी शक्तिको प्रभावमा हाँकिएको अरोप लगाए। उनले बालेन शाहप्रति लक्षित सिंहदरवार जलाउँछौं भन्नेको अभिष्ट चाहना पूरा भए पनि नेपाली जनताले नेपाली आस्थाका धरोहरहरू सिंहदरवार, सर्वोच्च अदालत, संसद भवन जलाएर देश खरानी बनाएको नबिर्सने बताए। नवयुवाहरूका मुद्दा साझा मुद्दा भए पनि आन्दोलनलाई भड्काएर मुलुकलाई तहसनहस बनाउन लागि पर्नेहरू कहिल्यै जनताका भक्त हुन नसक्ने दाबी गरे।
भट्टराईले झैं थेबेले पनि एउटै मञ्चबाट पार्टीबाट सिफारिस भएका ५ मध्ये एकजना आउँदो निर्वाचनका लागि उम्मेदवार हुने अरु ४ जनाले चुनावी मोर्चाको नेतृत्व गरेर पार्टीलाई जिताउने दाबी गरे। एमाले ताप्लेजुङको शनिबार बसेको बैठकले उपमहासचिव भट्टराई, पार्टीका केन्द्रीय सदस्य थेबे, अर्का केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वो, निवर्तमान केन्द्रीय सदस्य टंक आङवुहाङ र एमाले जिल्ला कमिटी उपसचिव भीमादेवी ओझा गरी ५ जनालाई आउँदो निर्वाचनका लागि पार्टीबाट सिफारिस गर्ने निर्णय गरेको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)ले जानकारी दिए।
प्रकाशित: २० पुस २०८२ ११:१० आइतबार





