आजदेखि (फेब्रुअरी ७, २०२६) भ्यालेन्टाइन सप्ताह (प्रणय दिवस) को पहिलो दिन रोज डे (गुलाफ दिवस) मनाइँदै छ। यो हप्ता प्रेम व्यक्त गर्ने विशेष समय हो, जसको सुरुवात गुलाफको फूल दिएर हुन्छ। मानिसहरूले आफ्ना प्रेमी, क्रश वा विशेष व्यक्तिलाई गुलाफ दिएर शब्द बिना नै भावना व्यक्त गर्छन्।
गुलाफलाई प्रेमको भाषा मानिन्छ। विभिन्न रंगले फरक अर्थ बोक्छन्, जुन निम्नानुसार छन्:
- रातो गुलाफ : गहिरो प्रेम र रोमान्सको प्रतीक
- गुलाबी गुलाफ : प्रशंसा र कोमलताको संकेत
- पहेँलो गुलाफ : मित्रता र खुशीको प्रतीक
- सेतो गुलाफ : शान्ति र साँचो सम्बन्धको चिन्ह
गुलाफले आजको दिनलाई विशेष बनाउँछ किनभने यसले एकैचोटि धेरै कुरा व्यक्त गर्न सकिन्छ। इतिहासमा भिक्टोरियन युगदेखि नै गुलाफ स्नेह साटासाट गर्ने माध्यम बनेको थियो। साहित्यमा पनि गुलाफ प्रेमको प्रतीक हो। शेक्सपियरको ‘रोमियो एण्ड जुलियट’ मा जुलियटले भन्छिन्, ‘नाममा के छ र? हामीले जुन नामले पनि गुलाफ भन्छौँ, त्यसको सुगन्ध त्यति नै मीठो हुन्छ।’
सप्ताह गुलाफ दिवस (फेब्रुअरी ७) हुँदै प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे र अन्तमा फेब्रुअरी १४ मा भ्यालेन्टाइन डेका रूपमा मनाइन्छ।
रोज डेमा मानिसहरू गुलाफ, साना उपहार वा कार्ड आदानप्रदान गर्छन्। सामाजिक सञ्जालमा पनि यस्ता सन्देश पोस्ट गर्ने र आदानप्रदान गर्ने चलन छ। यो दिन ठुला उपहारभन्दा बढी विशेष महसुस गराउने कुरामा जोड दिइन्छ। त्यसैले एउटा साधारण गुलाफले नै प्रेम, मित्रता वा सम्मान व्यक्त गर्न सकिन्छ। आफ्ना प्रियजनहरूसँग समय बिताएर, सँगै हाँसेर वा सरल कुराकानी गरेर पनि यो दिनलाई खास बनाउन सकिन्छ।
आज तपाईं आफ्नो विशेष व्यक्तिलाई गुलाफ दिएर यो रोमान्टिक हप्ताको सुरुवात गर्न सक्नु हुन्छ।
प्रकाशित: २४ माघ २०८२ ०९:०१ शनिबार





