१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

ज्ञानेन्द्र शाहीले लगाएको ‘हतियारसहित आक्रमण’ को आरोप स्थानीयद्वारा अस्वीकार

लिताकाेटका स्थानीयले गरेको पत्रकार सम्मेलन। तस्बिर : गाेल्डेन/नागरिक

जुम्लाको तातोपानी गाउँपालिका–३ लिताकोट गाउँमा बिहीबार साँझ भएको घटनालाई लिएर प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपाका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सामाजिक सञ्जालमार्फत लगाएको ‘हतियारसहित आक्रमण’ को आरोपलाई स्थानीयले अस्वीकार गरेका छन्।

बिहीबार साँझ करिब साढे ६ बजे लिताकोट गाउँमा विवाह समारोहका क्रममा नियमित चुनावी प्रचारप्रसारका लागि पुगेका शाहीलाई स्थानीयले परम्पराअनुसार सम्मानसमेत गरेका थिए। तर फर्कने क्रममा अघिल्लो निर्वाचनमा गरिएका प्रतिबद्धता पूरा नभएको विषय उठेपछि माहोल तातेको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार यही प्रश्नको राजनीतिक सामना गर्न नसकेपछि शाहीले सामाजिक सञ्जालमार्फत ‘हतियारसहित आक्रमण’ को कथा अघि सारेका हुन्। उनीहरूले उक्त आरोपलाई पूर्ण रूपमा आधारहीन र भ्रमपूर्ण बताएका छन्। स्थानीय पारस कार्कीले अघिल्लो निर्वाचनमा आफ्नो परिवारले शाहीलाई मत दिएको स्मरण गर्दै भावुक गुनासो पोखे। 

उनका अनुसार साउदी अरबमा कार्यरत उनका बुबा तिल कार्कीको २०७९ पुस २८ गते मृत्यु भएपछि शव नेपाल ल्याउन सहयोग माग्दा शाहीले फोन र म्यासेजको कुनै जवाफ नदिएको गुनासो छ। 'काठमाडौंस्थित पार्टी कार्यालयसम्म पुगेँ, तर भेट्न समय छैन भनियो,' कार्कीले भने, 'मेरो पीडामा उनले कुनै जवाफ दिनुभएन। आज प्रश्न राख्दा उल्टै ममाथि नै आरोप लगाइयो।' कार्कीका अनुसार अघिल्लो चुनावमा तातोपानीका धारामा स्विमिङ पूल बनाइदिने प्रतिबद्धता अहिलेसम्म पूरा नभएकाले स्थानीयले प्रश्न उठाएका थिए। तर ती प्रश्नको जवाफ नदिई आफूलाई पीडित देखाउने प्रयास गरिएको उनीहरूको भनाइ छ।

पारसका अनुसार शाही लिताकोटमा भोट माग्दै मृतकका हजुरबुवासँग आफूले पहल गरेर शव नेपाल ल्याएको दाबी गरिरहेका थिए। यस्तै, अर्का स्थानीय धर्मराज रावलले ज्ञानेन्द्र शाहीमाथि आफूले कुनै आक्रमण नगरेको दाबी गरे। विवाहका क्रममा एक व्यक्तिले मदिरा सेवन गरेर हल्ला गरेपछि आफूले सम्झाएर तानेर ल्याएको मात्र भएको उनको तर्क छ। 'हतियार (तरबार) लिएर आक्रमण गरेको भन्ने आरोप झुट र भ्रम हो,' रावलले भने, 'प्रहरी र स्थानीय सबै साक्षी छन्। म प्रमाण आए जुनसुकै कारबाही भोग्न तयार छु।'

उनले अगाडि भने, 'हतियार देखाएर आक्रमण गरेको भन्ने कुरा पूर्ण रूपमा झुट र राजनीतिक भ्रम हो। गाउँमा विवाह थियो, सबै नाचगानमा व्यस्त थियौं। मसँग मोबाइल बाहेक केही थिएन।' रावलले आफू अनावश्यक रूपमा राजनीतिक चरित्रहत्या गरिएको भन्दै कानुनी बाटो अपनाउने चेतावनी दिएका छन्।

लिताकोट गाउँका स्थानीयले शुक्रबार पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत फैलाएको हल्लाको खण्डन गरेका हुन्। उनीहरूले ‘आक्रमणको कथा’ लाई चुनावी सहानुभूति बटुल्ने रणनीति भएको आरोप लगाएका छन्।

यता, जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी सालिकराम खनालका अनुसार घटनाको जानकारी पाएपछि लिताकोटमै रहेको प्रहरी टोली गाउँ पुगेको थियो। 'त्यहाँ कुनै व्यक्तिले तरबार ल्याएको छैन,' उनले भने, 'यदि हतियार भएको भए प्रहरीले तत्काल नियन्त्रणमा लिइहाल्थ्यो। यो केवल हल्ला मात्र हो, सत्यता होइन।'

यसैबीच, राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले आफ्नो फेसबुकमार्फत 'नरेश दाइका ज्वाइँले हतियार लिएर आक्रमण गर्न आएका' दाबी गर्दै सहिष्णुता र लोकतान्त्रिक मूल्यको कुरा उल्लेख गरेका छन्। तर नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा उम्मेदवार नरेश भण्डारी शाहीले जनताका प्रश्नको जवाफ दिन नसकेपछि झुटो आरोप लगाएर भागेको बताए। 'यदि हतियार देखाइएको हो भने छानबिन समिति बनाऔं, कारबाही गरौं,' भण्डारीले भने, 'प्रमाणबिना यस्ता आरोप लगाउने सांसदले सार्वजनिक रूपमा माफी माग्नुपर्छ।' 

यस्तै लिताकोट गाउँका बुद्धिजीवी रामकृष्ण न्यौपानेका अनुसार चुनावको समयमा उम्मेदवार गाउँमा पुग्नु स्वाभाविक भए पनि जनताले प्रश्न राख्न पाउनु लोकतान्त्रिक अधिकार हो। तर, ज्ञानेन्द्र रातिको समयमा विवाह भएको ठाउँमा जानु राम्रो होइन, विवाहमा मदिरा सेवन गरेका मान्छे हुन्छन्। पपुलर बन्न खाेजे त्यो राम्रो होइन।

'यहाँ कुनै हतियार देखाइएको छैन,' उनले भने, 'यो केवल भ्रम र अफवाह हो। झुट र भ्रमको राजनीति धेरै टिक्दैन। हाम्रो गाउँलाई बदनाम गर्न खोजिएको मात्रै हो।'

प्रकाशित: २४ माघ २०८२ ०९:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App