२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

चितुवा समात्न डार्ट गनसहित प्राविधिक परिचालित

४० दिनभित्र चार जनामाथि आक्रमण, दुई बालिकाको ज्यान गयो

डार्ट गनसहित वन्यजन्तु प्राविधिक।

गुनपा ५ वालापुर बस्ने सात वर्षीया सायरा चौधरीको चितुवाको आक्रमणबाट बुधबार बिहान ज्यान गयो। हजुरबुवासँग खेल्दै गरेकी चौधरीलाई चितुवाले आँगनमाबाट टिपेर लगेको थियो। यसअघि ९ वर्षका सृजन थारुलाई बोकेर लैजाँदै गर्दा हजुरआमाले बचाएकी थिइन्। सृजन अहिले पनि उपचारका क्रममै छन्।

नाति बचाउने ति हजुरआमालाई साहसी महिलाको दर्जा दिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले भाइरल बनाए।

वैशाख १५ गते गुलरिया डपिङ साईड नजिकबाट ९ वर्षीया मेलिनाले पनि चितुवाको आक्रमणमा परी ज्यान गुमाइन्। गेरुवा गाउँपालिका घर भएकी बालिका मेलिना ब्रतबन्धको निम्तो मान्न गुलरिया आएको बेला चितुवाले आक्रमण गरेको खुलेको हो। बालापुरकै ६५ वर्षीय भिक्कुलाल थारु चितुवाको आक्रमणबाट घाइते भए। भिक्कु उपचारपछि सामान्य अवस्थामा घर फर्किएका छन्।  

शृङ्खलाबद्ध चितुवाको आक्रमणका घटना लामो समयको होइन। ४० दिनभित्रैमा दुई बालिकाको ज्यान जाने गरी चार जनालाई गुलरिया नगरपालिकाभित्र चितुवाले आक्रमण गरेको हो।  

यति बेला गुलरिया नगरपालिका वडा नं. ५ बालापुर गाउँकी बालिकाको मृत्युले बालापुर गाउँ शोकमग्न बनेको छ। मृतक सायराकी आमा अर्धचेत अवस्थामा छिन्। चितुवा आाक्रमणको त्रासमै रहेर गाउँमा बस्नु पर्ने बालापुरवासीको बाध्यता छ। चितुवाले लगातार आक्रमण गरिरहँदा बेवास्ता गरेको भन्दै स्थानीयहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए। घटना घटेलगत्तै चितुवा वरिपरि घुमे पनि वन प्रशासनले सक्रियता नदेखाएको पीडित परिवारको आरोप छ।  

प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले घटनास्थल पुगेर तत्काल चितुवालाई नियन्त्रणमा लिन निर्देशन दिएकी छिन्। निकुन्ज, एनटिएनसि र वनकर्मीको प्राविधिक टोलीले आक्रमणकारी चितुवाको खोजी सुरु गरिरहेको छ। लुम्बिनी प्रदेशमा अस्वाभाविक स्वभाव देखाउने वन्यजन्तु नियन्त्रण गर्न सिपालु जनशक्ति परिचालन गरिएको छ।

रामदास चौधरी, टिकाराम थारु, दिपप्रसाद चौधरी, खुसीराम चौधरी र भेटेनरी चिकित्सक विकल्प कार्की वन्यजन्तु नियन्त्रणमा सिपालु र दक्ष जनशक्तिका रूपमा चिनिन्छन्। पहिलो प्रयासमा चितुवालाई केजमा फसाउने तयारी छ। केजमा नफस्ने देखिए बन्दुकबाट बेहोस बनाएर चितुवालाई नियन्त्रणमा लिने प्रयास प्राविधिक टोलीले गर्ने प्रजिअ रुद्रादेवि शर्माले जानकारी दिइन्।

चितुवालाई नियन्त्रणमा लिन केज र डार्टबाट सम्भव नभए हात्तीले घेरेर समात्न पर्ने सिडिओ शर्माले प्राविधिक टोलीलाई विकल्प दिएकी छिन्।

प्रकाशित: १४ जेष्ठ २०८२ १७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App