२४ मंसिर २०८२ बुधबार
image/svg+xml
समाज

भुइँ मान्छेको किसानी अभ्यास

कर्पोरेट कृषि कि दिगो कृषि भन्ने बहसले सबैलाई चिमोट्दा म पनि वातावरणीय न्याय, स्थानीय समुदायमा आधारित ज्ञान एवं किसान समुदायको सम्प्रभुताका साथै दीर्घकालीन पारिस्थितिक प्रणाली प्रवर्द्धनमा योगदानसहितको खेतीपातीको विस्तार गर्नुपर्छ भन्नेमा थिएँ। जुन कृषि उत्पादकत्वमा योगदान र अर्थतन्त्र गतिशील बनाउँछ भन्ने अवधारणामा आधारित छ।

विद्वान् डा. जेम्स एनको भनाइ पढेको थिएँ– ‘किसानसँग जानूस्, उनीहरूसँग बस्नुहोस्, उनीहरूबाट सिक्नुहोस्, उनीहरूसँग योजना बनाउनुहोस् र सँगै काम गर्नुहोस्। उनीहरूले के ज्ञान विकास गर्छन्, के सिकाउँछन्, के परीक्षण गर्छन्, त्यो प्रणाली विकासको आधार मात्र हैन,रूपान्तरणको अभ्यास हो। यसले उत्थानशील त बनाउँछ नै, त्यो प्रसारको अंग पनि हो। यसैलाई मनमा राख्दै मधेस प्रदेशको सिरहा र सप्तरीका किसानले गर्दै गरेका कृषक पाठशाला अभ्यास स्थलतर्फ लागेँ।

जे देखेँ

खेती कर्ममा परिपक्व किसानहरू आफ्नै खेतीपातीबाट अनुभव लिँदै अपनत्व बढाउँदै, निपूर्णता तिखार्दै गरेको महसुस गरेँ। सिकाइ गतिविधिलाई किसानहरू स्वयंले सँगसँगै अगुवाइ गर्दै गरेका देखियो।

किसान स्वयंसेवकको नेतृत्वले आवश्यक सूचना, प्रदर्शनी, सिकाइ प्रक्रियाबाट सहभागितामूलक सिकाइ विकासका लागि नयाँ परीक्षणतर्फ उन्मुख कृषि प्रसारको वास्तविक व्यावहारिक अभ्यास गराइरहेको अवस्था महसुस गर्न पाइयो। अगुवा किसान सहजकर्ताको भूमिकामा थिए। त्यो पनि एकीकृत सिकाइको सहजीकरण र सञ्चार दूतका रूपमा।

सप्तरीको अग्नि साइर कृष्णासवरन गाउँपालिकाकी किसान स्वयंसेवक शिवानी चौधरीका कुरा घत लाग्दो थियो– मेरो काम आफ्नो खेतीबारीमा नयाँ अन्वेषणमा सहभागी हँुदै प्रदर्शनीस्थल निर्माण गर्ने र त्यसैमा समूहका किसानलाई सहभागी गराइ एकीकृत सिकाइ विकास गर्ने हो।

त्यति मात्र हैन, समूह गतिशीलताका लागि समूह बचतलाई व्यवस्थित गर्ने, समूहका सदस्यहरूको सहभागितामा बिउ छनोटका साथै बजारीकरणको सवालमा पनि सहजीकरण गर्र्दैछु।

गल्तीबाट निरास होइन, सिकाइ प्राप्त गरौँ भन्ने सामूहिक भावना कृषक समूहमा निकै फस्टाएको रहेछ। हुन त सिकाइ परिवर्तनकारी प्रक्रिया पनि हो। खुला सञ्चार, स्वीकारोक्ति, आदरसहित गल्तीको सही उपचारले त्यो सम्भव छ पनि। उत्पादन र बजारीकरणको तौरतरिकामा हरेक व्यक्तिले नयाँ सिकाइ विकास गरेका छन्।

 व्यक्तिगत सिकाइलाई समुदायको अभ्यासमा रूपान्तरण गर्दैछन्। सिकाइबाटै सिकाइ र भविष्यको गन्तव्यका लागि सिकाइ, पर्यावरणीय अभ्यासमा आधारित सिकाइ, भावी सन्तति र दिगो खेतीपातीको सिकाइ, वर्तमान कृषि पद्धतिमा रहेको अन्योललाई दिशानिर्देश गर्ने सिकाइ आदि।

शून्य खनजोतको लसुन खेतीमा रमाइरहेकी सप्तरीको रूपनीकी किसान रनाकुमारी क्याप्छाकी मगरको कथा निकै रोचक रहेछ। ‘गँड्यौला मल बनाउँछौँ, झोल मल बनाउँछौँ, कम्पोस्ट मल बनाउँछौँ, गोठ सुधार गरेका छौँ, कोसेबाली लगाउँछौँ, छापो विधिलाई बढावा दिएका छौँ’– धेरै रहेछन् उनले गरेका काम। थप्दै थिइन्– यसबाहेक हामी बिनाखनजोत प्रविधि अपनाएर पनि खेती गर्छौ। यसले माटो बिग्रन दिँदैन। वातावरणमा प्रदूषण बढ्न पाउँदैन। उत्पादन राम्रो र बढी दिन्छ, श्रम पनि कम, लागत पनि कम, हामी त दंग छौँ।

एउटाले भनेको भए पनि नपत्याउन मिल्थ्यो। यहाँ त पूरै बस्ती लागेको रहेछ पर्यावरणीय कृषिको यस्तो अभियानमा। सिरहाको भगवानपुरस्थित रिगोल–२ मा छ लक्ष्मीनारायण महिला कृषक समूह।

यही समूहकी सदस्य रेफ्ली सिंहले परीक्षणका रूपमा  तीन धुर जग्गामा शून्य खनजोत प्रविधिअनुसार धानको बुटामा गरेको लसुन खेतीबाट ५१ केजी उत्पादन भएको हर्षविभोरसाथ सुनाइन्। यसरी खेती गर्दा कम लगानी लाग्ने र बजार मूल्य पनि धेरै पाइने भन्दै थिइन्।

किसानको आफ्नै विद्यालय

उनीहरूको छुट्टै विद्यालय रहेछ कृषि पढ्ने। जसलाई कृषक पाठशालाभन्दा रैछन्। त्यही पाठशालामा ३ किसिमको आलुको जातमा परीक्षण गरेछन्। यस क्रममा खुमाल रातो–२ ले धेरैको मन जित्यो रे। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाकी किसान राधाकुमारी चौधरी मुख मिठ्याउँदै भन्दै थिइन्– ‘स्वादचाहिँ जनकदेव आलुको मीठो।’

उनका अनुसार समूहका सबै सदस्यको उपस्थितिमा सहभागितामूलक स्वमूल्याङ्कन गरेर पाठशालामा गरिएको फरक–फरक परीक्षणको नतिजा विश्लेषण गरिन्छ। आलु लगाउनुपहिले ट्राइकोडर्माद्वारा उपचार गरिएको आलुमा डडुवा रोग कम लागेको सिकाइ पनि उनले सुनाइन्।

‘उत्पादनशील र उत्थानशील जातहरूको पहिचान र परीक्षण नै सामूहिक भएपछि सिकाइ त सबैलाई हुने नै भयो। त्यो भन्दा पनि हाम्रो प्रदर्शनी स्थल त चौतारो हो नि, जहाँ समूह बाहिरकालाई पनि सिक्न खुला छ’, सिरहाको भगवानपुर गाउँपालिकाकी किसान मञ्जुकुमारी यादवले थपिन्– उत्पादन भए पनि बजार नभएर हैरान थियोँै। अब त स्थानीय बिउ प्रणालीमार्फत स्थानीय सहकारीहरूले नै यो समस्या समाधान गरिदिएका छन्।

बिउबिउ मात्र नभएर किसानको भविष्य पनि हो। उनीहरूकै परीक्षण, उनीहरूकै ज्ञान र सिपमा उत्पादन भएपछि सबैलाई विश्वास पनि लाग्ने नै भइहाल्यो। त्यतिमात्र हैन, अब आफूहरू स्थानीय सरकारभित्र किसान सहयोग प्रणाली विकास गर्ने र अहिले गरिएका अभ्यासलाई प्रभावकारी तथा दिगोसमेत बनाउने अभियानमै लाग्ने उनीहरूको दृढ अठोटले भुइँ तहका किसानमा पर्यावरणीय कृषिप्रति आएको जागरुकता मापन गर्न सकिन्छ। जसले प्रकृति र मानवलाई न्याय गर्दै आर्जनउन्मुख खेती गर्न सफल हुने विश्वास दिलाएको छ।

असल अभिभावकत्वको परिणाम

अग्निसाइर कृष्णासवरन गाउँपालिकाका राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष रामानन्द चौधरी आफैँ पनि यस्तोखाले किसानीप्रति खुसी छन्। किसान समस्याबारे पालिकासँग नियमित सम्वादमा रहेकै कारण आफ्नो पालिकाले जग्गा भाडामा लिइ भूमिहीन किसानलाई खेतीका लागि दिने कार्यलाई संस्थागत गरेपछि उनले यसलाई थप उपलब्धिका रूपमा बुझेका छन्। महासंघकै सहजीकरणमा विगत नौ वर्षदेखि यो अभ्यास सञ्चालनमा रहेको पनि उनले जानकारी दिए।

पालिकाले जग्गाको भाडा तिरिदिन्छ। त्यस्तो जग्गामा भूमिहीन किसानले खेती गर्दै जीविकोपार्जन र आम्दानी बढाएका छन्। झोल मल र शून्य खनजोत विधिमा गरिने खेती पद्धतिले उनीहरूको श्रम र लागत न्यून तुल्याएको छ। उनीहरू जसरी खेतीपाती गरिरहेका छन्, त्यसका आधारमा ठोकुवा गर्न सकिन्छ कि यी किसान जलवायु उत्थानशीलतामा योगदान गर्दैछन्।

आखिर पर्यावरणीय खेतीपाती यही त हो। त्यति मात्र पनि हैन, आफ्नो सानोतिनो गर्जो टार्न आफैँ नियमित बचतसमेत गर्छन् उनीहरू। किसानको एकता र सबलताउन्मुख प्रयास महसुस हुन्छ त्यहाँ। समग्रमा भन्नुपर्दा समुदाय र स्थानीय तहमा प्रणाली परिवर्तनका लागि प्रयासरत छन् यी पर्यावरणमैत्री किसान।

कृषक पाठशाला अभ्यास, किसान शैली र सामुदायिक पहल जुन कृषि विकासको केवल प्रविधिको प्रयोग मात्र हैन, प्रविधिको विकास, प्रमाणीकरण र प्रसारमा अधिकारवाला (किसान) को सहभागितासहितको उपयुक्त विकल्पसमेत हो।

नीति वकालतमार्फत आफ्नो आवश्यकता पूरा गर्ने माध्यम साथै आमकिसानको जीविकालाई सकारात्मक सुधारका लागि गरिएको व्यावहारिक पहल फेला पर्छ त्यहाँ। कृषकहरूले सामूहिकरूपमा खेतबारीमै व्यावहारिक ज्ञान–सिप आर्जन गर्ने खोजपूर्ण सिकाइका तरिकाहरू अपनाएर पर्यावरणीय अभ्यासमा आधारित भई स्वस्थ एवं स्वच्छ बालीनाली र वस्तुभाउ उत्पादनबारे सिकेका छन्।

चिन्तनमनन् र समस्याकेन्द्रित पुनरावृत्त सिकाइ र अनुशरण विधि समुदायलाई नै सिकाएका छन्। समुदायमा आधारित, सहभागितामूलक सिकाइमार्फत साना किसानले उत्पादकता, लचिलोपना र बजार पहुँच सुधार गरेका छन्। संयुक्त कार्यमार्फत समूह, समूह–समूह गर्दै समाज सशक्तीकरणको अभ्यास मननीय संगम देखिएको छ।

निष्कर्ष

किसानहरूको प्रयास र सफलतामा सरकारी नीतिहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। यसर्थ स्थानीय तहमा तल्लीन किसानी अन्वेषण र व्यावहारिक अभ्यासले राज्य र नीति निर्मातालाई भन्दैछ– कृषक पाठशाला अभ्यासलाई नीतिमा मूलप्रवाहीकरण आवश्यक छ।

कृषि प्रसारको माध्यम समूह नै हुन्, यसलाई संस्थागत गरौँ। स्थानीय परिवेश, आवश्यकता र कृषि रूपान्तरणको संभावनाका आधारमा स्थानीय तहमा आवश्यक नीति, कार्यान्वयन ढाँचा र प्रक्रियाको संयन्त्र बनाउँ। त्यसैगरी प्रदेश तहमा प्रादेशिक संयोजनकारी नीति र संयन्त्र आवश्यक छ।

ढिलाइ नगरौँ। संघीय तहमा निर्दिष्ट नीति र संयन्त्र बनाउँ। सामुदाय, नागरिक समाज, निजी क्षेत्रसमेतको संलग्नतामा प्रकृतिसम्मत एकीकृत कृषि विकासको बाटो अवलम्बन गरौँ।  

प्रकाशित: ५ जेष्ठ २०८२ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App