२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

अझै पनि सवारी नपुगेको चितवनको कान्दा, दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्‍याइयो

चितवनको दुर्गम कान्दामा अझै सवारी साधन पुगेको छैन। चेपाङ समुदायको बस्ती रहेको यो ठाउँमा सवारी पुग्ने ठाउँबाट दुई घण्टाभन्दा बढी पैदल हिँड्नुपर्छ। तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलो पटक हाते ट्रयाक्टर पुर्‍याएका छन्।

पहिलो पटक बारी जोत्ने ट्रयाक्टर पुग्दा स्थानीय उत्साहित छन्। मितेरी कृषक समूहका अध्यक्ष सीताबहादुर चेपाङले गाउँमा हाते ट्रयाक्टर आउँदा सबै खुसी भएको बताए। उनले भने, ‘युवाहरू काम गर्न बाहिर जाँदा गाउँमा वृद्ध र बालबालिका मात्र हुन्छन्, गोरु पाल्ने चलन पनि घट्दै गएकाले खेतबारी बाँझो हुने अवस्था थियो। अब हाते ट्रयाक्टरले जोत्न पाउँदा सहज हुन्छ।’

राप्ती नगरपालिका–१३ मा पर्ने कान्दा चितवनको सबैभन्दा दुर्गम ठाउँ हो। यहाँ अझै विद्युतीकरण भएको छैन। पूर्वपश्चिम राजमार्गको भण्डाराबाट चेपाङ मार्ग हुँदै दुई घण्टा गाडीमा भञ्ज्याङ पुगिन्छ। त्यहाँबाट करिब दुई घण्टा हिँडेपछि कान्दा पुगिन्छ। स्थानीयले शनिबार बोकेर हाते ट्रयाक्टर गाउँ पुर्‍याएका हुन्। ट्रयाक्टर बोक्न सबै गाउँले जुटेका थिए।

यो ठाउँमा १५ वर्षअघि जङ्गली च्याउ खाँदा एक परिवारका आठ जनाको मृत्यु भएको थियो। त्यसपछि यहाँ विभिन्न सङ्घसंस्थाको सहयोगमा परिवर्तनका काम भइरहेका छन्। जङ्गली कन्दमूल खाएर बाँच्ने चेपाङ समुदायले पछिल्लो समय आफैँ कृषि गरेर जीविकोपार्जन गरिरहेका छन्। हाते ट्रयाक्टरले कृषिलाई व्यावसायिक बनाउन ठूलो सहयोग पुग्ने अध्यक्ष सीताबहादुरको विश्वास छ।

स्थानीय किसान कृष्णबहादुर प्रजाले गाउँमा पहिलो पटक ट्रयाक्टर देख्दा नयाँ युगमा प्रवेश गरेको अनुभव भएको बताए। उनले कान्दालाई राज्यले ध्यान नदिएको गुनासो गरे।

कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र भरतपुरको सेन्ट्रल कलेजको ५० प्रतिशत सहयोगमा यो हाते ट्रयाक्टर कान्दा पुगेको हो। पैसठ्ठी घर भएको कान्दामा मितेरी कृषक समूहमार्फत किसानहरू एकजुट भएर कृषि गरिरहेका छन्। कान्देश्वरी आधारभूत विद्यालयको छात्रावासको जग्गामा पनि कृषि गरिन्छ। त्यहाँ उत्पादित तरकारी र अन्न छात्रावासमा बसेर पढ्ने चेपाङ बालबालिकालाई खुवाइन्छ। हाते ट्रयाक्टर कृषक समूह र छात्रावास दुवैका लागि प्रयोग गरिने विद्यालयका प्राधानाध्यापक बालकृष्ण थपलियाले बताए। उनले भने, ‘कृषि उत्पादनसँग यहाँ पढ्ने चेपाङ बालबालिकालाई जोड्छौँ, बालबालिकामार्फत अभिभावक पनि यसतर्फ आकर्षित छन्।’

सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले चेपाङ समुदायलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए। उनले राज्य र निजी क्षेत्रको सहकार्यले चेपाङ समुदायमा परिवर्तन ल्याउन सकिने बताए।

मितेरी फाउन्डेसनका अध्यक्ष तथा पत्रकार रमेशकुमार पौडेलले हाते ट्रयाक्टर पुर्‍याउन सहजीकरण गरेका थिए। उनले चेपाङ समुदायले परम्परागत कृषिबाट खेती गरिरहेकाले व्यावसायिक बनाउन हाते ट्रयाक्टर आवश्यक भएको बताए। ‘किसानले चाहेर पनि आर्थिक अवस्थाले भ्याउँदैनथ्यो, अनुदानको ट्रयाक्टरमा पनि ५० प्रतिशत रकम जुटाउन नसकेपछि सहयोगी खोजेका हौँ,’ उनले भने। कृषिमार्फत चेपाङ समुदायको जीवनस्तर सुधार्न सकिने भन्दै उनले राज्यले ध्यान दिनुपर्ने बताए। यहाँका किसानले मकै, कोदो, फापर र तरकारीखेती गर्छन्। चिसो हावापानी भएको यो ठाउँमा मौसमअनुसार फलफूलखेती पनि गर्न सकिन्छ। रासस

प्रकाशित: २८ वैशाख २०८२ ०६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App