रौतहट र सर्लाहीको बागमती नदीमा माफियाहरूले चरम दोहन गरिरहेका छन्। नियम कानुनलाई पन्छाउँदै स्थानीय सरकार र प्रहरी प्रशासनको मिलोमतोमा रौतहटको चन्द्रपुर, वृन्दावन र गढीमाई नगरपालिकामा बागमती नदीको चरम दोहन भइरहेको छ। सर्लाहीको बागमती र बरहथवा नगरपालिकातिरबाट पनि बागमती नदीमा मापदण्डविपरीत उत्खनन जारी छ।
चन्द्रपुर नगरपालिकाले नदीजन्य पदार्थ उठाउनको लागि आवश्यक मापदण्ड पूरा गरेको छैन। खोला उत्खननको लागि चन्द्रपुर नपाले इन्सियल इन्भारमेन्ट एक्जामिनेसन (आइइई) पनि गर्न सकेको छैन। नगरपालिकाले नदीजन्य पदार्थलाई उत्खननको ठेक्कासमेत नगरेको अवस्थामा खोलामै एक्स्काभेटर लगाएर दोहन भइरहेको छ। नगर प्रशासन र स्थानीय प्रशासनको मिलोमतोमा बागमती नदीबाट हरेक दिन सयौं टिपर र ट्याक्टरमा नदीजन्य पदार्थको उत्खनन भइरहेको छ।
रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले सम्बन्धित निकायमा खोला दोहन रोक्न आग्रह गरे पनि उदासीनता देखाएको आरोप लगाए। तिमल्सिना भन्छन्, ‘मैले पटकपटक प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर भनेको छु तर उनी उदासीन देखिन्छन्।’
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्कीले ठेक्कापट्टा नलगाई नगरपालिकाले राज्यको सम्पत्ति दोहन गरेको आरोप लगाए। कार्कीले अवैध र अनियन्त्रित खोलाको दोहन तत्काल रोक्नुपर्ने माग गरे। सम्बन्धित निकायको ध्यान तत्काल जानुपर्ने कार्की बताउँछन्।
गढीमाई नगरपालिका २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले नगरपालिकाले भविष्यको ख्याल नगरी आफ्नो वडातिरको नदीको गिट्टी र बालुवा बेचेको भन्दै विरोध जनाए। खेती, गाउँ र किसानको वास्ता नगरी नगरपालिकाले जथाभावी ठेक्का दिएकोमा श्रेष्ठले विरोध जनाए।
समनपुर–टोकर घाटमा बागमतीको मूल धारबाटै गिट्टी उत्खनन भइरहँदा सबै पक्ष मौन छन्। वृन्दावन र गढीमाई नगरपालिका र प्रहरी प्रशासनको मिलोमतोमा अवैध उत्खनन भइरहेको स्थानीयको आरोप छ।
रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किर्तिनिधि तिवारीले जिल्ला समन्वय समिति रौतहटमार्फत अनुगमनको तयारी भइरहेको बताए। अनुगमनको अधिकार जिससमा रहेको बताउँदै तिवारीले छिट्टै अनुगमन गरिने बताए।
अवैध तरिकाले महिनौंदेखि दोहन भइरहेकोतिर सम्बन्धित निकायको ध्यान नजानु दुर्भाग्य भएको स्थानीयको जिकिर छ।
सर्लाहीको माफियाहरूले खोला उत्खनन गरेर अवैध मोबाइल क्रसर र स्वामित्व नभएको अवैध क्रसर प्रहरी प्रशासनको मिलोमतोमा चलाइरहेका छन्।
प्रकाशित: २६ वैशाख २०८२ १८:४९ शुक्रबार





