धनुषाको पूर्व-पश्चिम राजमार्गमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
धनुषाधाम नगरपालिका–६ मालटोलस्थित राजमार्गमा तेल ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा इलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत असई देवानन्द फनैतको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बमका अनुसार बिहीबार साँझ करिब ६ः२० बजे इटहरीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३७१८ नम्बरको तेल ट्याङ्करले सोही दिशातर्फ गइरहेका दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा प्रदेश २-०३-००१ प ८७२० नम्बरको मोटरसाइकल चालक असई फनैत गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि लालगढस्थित मोडल अस्पताल पुर्याइएकोमा साँझ ७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
मकवानपुरको इलाका प्रहरी कार्यालय चित्लाङ दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय ढल्केवरमा लेखा प्रमुखका रूपमा कार्यरत फनैत सरकारी कामको सिलसिलामा इलाका प्रहरी कार्यालय भरतपुर पुगेर कार्यालय फर्कँदै गर्दा दुर्घटनामा परेका हुन्।
सोही ट्याङ्करको ठक्करबाट प्रदेश २-०१-००३ प ९९९३ नम्बरको मोटरसाइकलका चालक धनुषाधाम नगरपालिका–९ का ४५ वर्षीय रामकिशोर महतो गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि जनकपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय यज्ञभूमिबाट खटिएको प्रहरी टोलीले ट्याङ्कर चालक सुनसरीको उर्लाबारी नगरपालिका-१ का ३६ वर्षीय दुर्गा माझीलाई नियन्त्रणमा लिएको छ।
ठक्कर दिने ट्याङ्कर र दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रकाशित: २२ माघ २०८२ २२:०३ बिहीबार





